उपेन्द्रराज ढकाल
स्वास्थ्य र स्वास्थ्य भित्रका हाँगाहरू
विश्व स्वास्थ्य सङ्गठन १९४६ का अनुसार 'स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो।'
यस भनाइलाई अपूर्ण मान्दै स्वास्थ्य रहनु भनेको आफैँमा पूर्ण अवस्था होइन, बरु यो दाँजिने कुरा हो भनिएको छ। स्वस्थ्य भनिएको मानिसभन्दा बढी स्वस्थ्य अर्को मानिस पनि हुनसक्छ र यस अवस्थामा पहिलो मानिस अस्वस्थ्य मानिन सक्छ। अस्वस्थ भनिएको मानिसभन्दा पनि अस्वस्थ अर्को मानिस हुनसक्छ र यस्तो अवस्थामा अस्वस्थ मानिस पनि स्वस्थ हुनसक्छ।
स्वास्थ्यको जुनसुकै क्षेत्रमा काम गर्नको लागि लाइसेन्स लिनुपर्ने हुन्छ र एउटा किसिमको लाइसेन्स पाएको स्वास्थ्यकर्मीले स्वास्थ्यको अर्को क्षेत्रमा काम गर्न मिल्दैन/पाउँदैन। जसरी जनपद प्रहरीले अपराध हेर्छ र मिलेमतोमा हुने केसलाई अदालत पठाउँदैन, त्यसरी नै स्वास्थ्यका विभिन्न क्षेत्रका मानिसले पनि स्वास्थ्यको अन्य क्षेत्रमा सामान्य हेरचाह गर्न सक्छ भने पूर्ण रूपमा काम गर्नको लागि सम्बन्धित परिषद्बाट लाइसेन्स लिएको हुनुपर्छ।
छोटकरीमा स्वास्थ्यका विभिन्न क्षेत्र, लाइसेन्स दिने परिषद्/निकाय र मुख्य कार्यक्षेत्र
यसरी हेर्दा स्वास्थ्यका विभिन्न आयामहरूबारे बुझ्न सकिन्छ भने स्वास्थ्यकर्मी भनेको जनस्वास्थ्यकर्मी, नर्सिङ स्वास्थ्यकर्मी, प्रयोगशाला स्वास्थ्यकर्मी, रेडियो स्वास्थ्यकर्मी चिकित्सा स्वास्थ्यकर्मी सबै पर्छन् भन्ने कुरा बुझ्नु जरुरी छ। आम बुझाइमा चिकित्सकमात्र स्वास्थ्यकर्मी हुन् भन्ने धेरैको बुझाइ छ, तर चिकित्सकको संख्याभन्दा धेरै ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मी पनि रहेका छन्।
नाम अनुसार चिकित्सा शिक्षा आयोगले चिकित्सा बाहेक स्वास्थ्यका अन्य क्षेत्रहरूमा काम गर्न दिँदैन। तसर्थ यसलाई चिकित्सा सेवा आयोगको साटो स्वास्थ्य शिक्षा आयोग भनेर चिकित्सा बाहेकका क्षेत्रहरू पनि समावेश गर्दा राम्रो हुने देखिन्छ। र, यसरी स्वास्थ्य र चिकित्सालाई समावेश गर्दा स्वास्थ्य शिक्षकलाई पनि समावेश गर्नुपर्ने हुन्छ।
आफ्नो कार्य विवरणभन्दा बाहिर गएर काम गर्नु भनेको दण्डनीय हो। जसरी मोटरसाइकलको लाइसेन्सले ठूलो गाडी चलाउन पाइन्न, त्यसरी नै नर्सिङले चिकित्सकीय सेवा दिन पाउँदैन, फार्मेसीले सिँगान-खकार जाँच्न पाउँदैन। रेडियोले औषधि सिफारिस गर्न पाउँदैन, जनस्वास्थ्यकर्मीले उपचार गर्न पाउँदैन। मेडिकल अफिसरले डेलिभरिलिन, फार्मेसीको सिफारिसबिना कडाखाले औषधि चलाउन पाउँदैन। कानुनी हिसाबले एसबिए (अथवा एएसबिए) तालिम नलिएका मेडिकल अफिसरले प्रसूति गराउँदा मृत्यु भएमा अन्य सरहकै कानुन लाग्छ।
कार्य विवरणको हिसाबले (र, कोरोना प्रकोपको समयमा) हेर्नुपर्दा कुन परिषदमा दर्ता भएका कुन स्वास्थ्यकर्मीले के गर्नुपर्ने र के गरिरहेका छन्?
माथि देखाइएका स्वास्थ्य क्षेत्रका वर्तमान अवस्था हो भने यो भन्दा पनि डरलाग्दो त स्वास्थ्य क्षेत्रमा कुनै पनि हिसाबले सम्बन्ध नभएका मानिसहरू स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका प्रशस्त उदाहरण पाउन सकिन्छ। व्यक्तिगत चिनजान र प्रभावमा दरबन्दी नै नभएको ठाउँमा समेत उच्च पदमा गैरस्वास्थ्यकर्मीको संख्या प्रचुर मात्रामा देख्न पाइन्छ भने विकासका साझेदारहरुमा पनि स्वास्थ्यको कुनै क्षेत्रमा काम गर्ने लाइसेन्स नपाएका/नभएका गैर-स्वास्थ्यकर्मीलाई स्वास्थ्यको उच्च पदमा लामो समयदेखि काम गराइरहेको पाइन्छ।
उदाहरणको लागि कुनै एक डुंगामा १०० जना समुद्रको यात्रामा छन् र दुर्भाग्यको कुरा, डुंगामा मुसाले प्वाल पार्यो। डुंगा डुब्ने अवस्था आयो र कुनै एकलाई समुद्रमा नफाली ९९ जनाको ज्यान जोगाउन नसकिने भयो। यस्तो अवस्थामा कसलाई फाल्ने, जेष्ठ नागरिक, महिला, गर्भवती, बच्चा, अपाङ्ग, मोटो, दुब्लो, रोगीमध्ये कुनै एक वा कसैलाई पनि नफाल्ने? यस्तो अवस्थामा जनस्वास्थ्यकर्मीको र चिकित्साकर्मीको निर्णय बाझिन सक्छ र अहिलेको अवस्थामा भेन्टिलेटर र आइसियुको व्यवस्थापनमा यही चुनौती देखिएको छ। भेन्टिलेटरको संरचना खडा गर्दा लाग्ने करोडौँ रुपैयाँको व्यवस्थापन कसरी हुन्छ र सम्पूर्ण पैसा भेन्टिलेटरमा खर्च गरेपछि र भोलिका दिनमा त्यसको उपयोगिता के-कति रहन्छ भन्ने कुरा बुझेर निर्णय गरिनु पर्छ।
कोरोना के हो?
श्रीपेचलाई अंग्रेजीमा क्राउन भनिन्छ र यो भाइरस श्रीपेच लगाए जस्तो देखिने भएकोले यसलाई कोरोना भनिएको हो। कोरोना धेरै किसिमका हुन्छन्। कोरोना मानिसमा मात्र नभई अन्य जनावरमा पनि लाग्छ भने मानिसमा लाग्ने कोरोनालाई अल्फा बिटा, गामा र डेल्टा गरी चार भागमा विभाजन गरिएको छ। मानवमा लाग्ने कोरोना भाइरस पहिलोचोटि १९६० मा पत्ता लगाइएको थियो, जसमा ६ प्रकारका कोरोना भाइरस देखिएको थियो। हाल भन्ने गरिएको कोरोना यसै कोरोनाको नयाँ रूप हो, जसलाई सार्स कोभ-२ अथवा नोबेल कोरोना भाइरस पनि भन्ने गरिन्छ। प्रायजसो महामारीको रूप लिएका रोगहरू जनावर र चराबाट मानिसमा सरेको पाइएको छ।
कोरोना यति चाँडै समक्रमण हुन्छ कि हामीले चाल समेत पाउँदैनौ। चाँडो संक्रमण हुने भएको कारणले कमजोर स्वास्थ्य भएकाहरु (दीर्घ रोगी, गर्भवती/सुत्केरी बच्चा र जेष्ठ नागरिक) यसबाट हुने असरको बढी जोखिममा हुन्छन् भने व्यक्तिगत सरसफाइमा कम ध्यान दिनेहरु पनि यसको बढी जोखिममा रहने गर्छन्। विश्वको तथ्यांक हेर्दा मृत्यु हुनेको संख्या सबैभन्दा बढी व्यक्तिगत सरसफाइमा लापर्बाही गर्नेहरु नै बढी देखिन्छन्।
हामीले बारम्बार सुन्ने गरेको दुई नमिल्ने कुरा केके हुन् भने कोरोना अति डरलाग्दो रोग हो या कोरोना सामान्य रोग हो। हामीले यी दुवै भनाइलाई यसरी बुझ्नु जरुरी छ कि जस्तोसुकै सामान्य रोग पनि लापर्बाही गर्ने हो भने प्राणघातक हुनसक्छ। हालसम्म जति पनि कोरोनाले मृत्यु भएको भनिएको छ, प्रायजसोमा कोरोनाको कारणले शरीर कमजोर भएर सेकेन्डरी इन्फेक्सन (विशेष गरी निमोनिया भई अक्सिजनको लेबल घट्ने) भई मृत्यु भएको देखिन्छ। यसरी कोरोनाले प्रत्यक्ष रूपमा मृत्यु गराएको निकै कम अवस्था रहेको छ भने कोरोनाले अप्रत्यक्ष मृत्यु गराएको चाहिँ अधिकांश अवस्था रहेको छ। मृत्युदर कम भए पनि संक्रमणदर बढी भएकोले नै जोखिम समूहमा पर्ने मानिसको मृत्यु बढी भएको पाइन्छ।
विश्वले कहिले पनि महामारीको तयारी गर्न सक्दैन र महामारी सुरु भइसकेको अवस्थामा यसको असरको न्यूनीकरण गर्नको लागि मानसिक तयारी महत्वपूर्ण हुन्छ। कुन र कस्तो रोग महामारीको रूप लिन्छ पहिले नै थाहा पाउन नसकिए पनि हालसम्मको अवस्था हेर्दा पहिलेका महामारीहरू जीवाणु (ब्याक्टेरिया) को संक्रमणले गराउँथे भने हाल आएर एन्टिबायोटिक्सको विकासले जिवाणुले महामारीको रूप लिन पाउँदैन भने विषाणु (भाइरस) को उपचार हालको दिनसम्म विकास भइनसकेको अवस्थामा विषाणुले समयसमयमा महामारीको रूप लिन पुग्छ। यसको उदाहरण स्वाइन फ्लु, वर्ड फ्लु, सार्स, मार्स, इबोला आदि हुन्।
महामारीको कर्भ हेर्दा यस ५ वटा चरण हुन्छन् जुन ग्राफमा देखाइएको छ:
नेपालको हकमा हामी फेज ५–६ मा छौं (अर्थात् कोरोनाको पिकमा छौं) भने, अबको केही महिनाभित्रैबाट यो रोगले ब्रेक पाउने सम्भावना रहेको छ। अर्थात् कोरोना ओरालो लाग्ने सम्भावना देखिन्छ। जाडोको समयमा थुकका छिटाहरु सुक्न समय लाग्ने भएकोले यो रोगको कर्भ ढिलो ओरालो लाग्न सक्छ। त्यसपछिको अवस्थामा र नेपालमा भइरहेको कोरोना रोकथामको प्रयासहरू हेर्दा यसको दोस्रो वेभ आउने निश्चितप्राय: छ। पहिलो वेभ नियन्त्रणमा देखिएको कमजोरी हटाउने र गैरजनस्वास्थ्यकर्मीलाई जनस्वास्थ्यको बारेमा थोरैमात्र जानकारी हुने हुँदा आफू विज्ञ नभएको जनस्वास्थ्यको समस्या जनस्वास्थ्यकर्मीलाई नै समाधान गर्ने जिम्मा लगाउने र आ-आफ्नो विज्ञता भएको स्वास्थ्य क्षेत्रमा मात्र इमान्दार रहेर काम गर्ने हो भने हामीले सहजै यस परिस्थितिको सामना गर्न सक्छौं।
कोरोनाको महामारीबाट बच्नको लागि एक मानिसको थुक र छिटाहरु अर्को मानिसमा प्रवेश गर्नबाट रोक्नु प्रमुख हो भने लागिसकेकाहरुलाई उपर्युक्त सपोर्ट गर्नु हो। यसको लागि मास्कको प्रयोग, बारम्बार हात धुने र स्यानेटाइज गर्ने, दाँत माझ्ने ब्रस एकै ठाउँमा नराख्ने, मास्क धोएर प्रयोग नगर्ने, दूरी कायम राख्ने, भीडभाड नगर्ने, कोरोनाको शंका हुनासाथ तुरुन्त परीक्षण गर्ने र चिकित्सकीय सेवा लिने आदि पर्दछन्।
के कोरोना जँचाउन जाने सबै पेसेन्ट नै हुन त?
पेसेन्ट शब्दलाई शारीरिक अथवा मानसिक समस्याको लागि परामर्श सेवा लिन आउँदैमा प्रयोग गर्न मिल्दैन। नेपालीमा पेसेन्टलाई बिरामी भन्ने गरिन्छ, जुन पूर्ण रूपमा प्रयोग गर्न मिल्दैन। पेसेन्ट शब्द तब मात्र प्रयोग गर्नुपर्छ जब चिकित्सकीय परामर्श पछाडि अन्य सीमित चिकित्सकीय सेवा प्रदान गरिन्छ। उदाहरणको लागि, प्रसूति गराउन आउने महिलालाई बिरामी भन्ने गरिन्छ, जुन इथिकल्ली भन्न मिल्दैन। गर्भवती हुनु भनेको बिरामी हुनु होइन। त्यसरी नै कोरोना जाँच गर्न जाँदैमा कोही पनि बिरामी हुँदैन। कोरोना पोजेटिभ आएको अवस्थामा चिकित्सकीय सेवा लिनेहरुलाई मात्र कसैलाई पेसेन्ट भन्नुपर्छ भने पेसेन्ट हुँदैमा कोही बिरामी नै हुन्छ भन्ने पनि हुँदैन। कोरोना पोजेटिभ देखिए पनि मानिसमा बिरामीको लक्षण नदेखिन सक्छ।
हाल कोरोनाको ल्याब रिपोर्टमा सबैलाई पेसेन्ट भन्ने गरिएको छ, जसलाई सच्याउनु पर्ने जरुरी देखिन्छ।
हामी कहाँकहाँ र कसरी चुक्यौं?
जुनकुनै समयमा कुन रोगले महामारीको रूप लिन सक्छ पहिले नै अनुमान गर्न नसकिए पनि सबैखाले महामारीमा अपनाउनुपर्ने जनस्वास्थ्यका केही मापदण्ड छन्।
सर्वप्रथम, आवश्यक तथ्याङ्क संकलन गर्नुपर्छ, जसमा महामारीको रूप लिइसकेको रोगको आकलन, श्रोत-साधनको पहिचान, आवश्यक कार्यक्रमहरूको निर्माण, श्रोत-साधनको उपर्युक्त परिचालन, सुपरिवेक्षण र अन्त्यमा समापन गरिन्छ।
जब देशमा अस्थिर समय आउँछ, यही चुनौतीलाई पैसा कमाउने अवसरको रूपमा लिने दलालहरूको कमी हुँदैन, जुन कुरा हामीले महाभूकम्पको समयमा, नाकाबन्दीको समयमा र हालको कोरोनाको समयमा देख्न पायौं। र, यो समस्या अब आउन सक्ने चुनौतीहरूमा पनि लागू हुन्छ। तसर्थ जनतालाई दु:ख दिने मनसायले उत्पन्न हुने जुनसुकै स्वास्थ्य समस्याको सुरुवात हुनै नदिनु र सुरुवात भएमा तत्काल समाधान गर्नु पनि जनस्वास्थ्यको सिद्धान्तभित्र पर्छ।
विभिन्न स्वास्थ्य र गैरस्वास्थ्यका क्षेत्रमा सिन्डिकेट जमाएर बसेका र गैर-कानुनी फाइदा लिन पल्किएका मानिसलाई आफ्नो कार्यक्षेत्र बोध गराएर आफ्नोआफ्नो क्षेत्रमा मात्र सीमित गर्न सक्नु नै कोरोना नियन्त्रणको पहिलो चरण हुनसक्छ।
अत्यावश्यक सामग्रीको स्वदेशमै उत्पादन र उत्पादन हुन नसक्ने सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाएर मात्र जनतालाई राहतको अनुभूति दिन सकिन्छ। यसरी नै राहत सामग्रीको वितरणमा भएका अनियमिततालाई हटाउनको लागि आवश्यक तथ्यांक उपलब्ध हुनुपर्छ भने सप्लाई चेन म्यानेज्मेन्ट पनि उपर्युक्त किसिमले गर्न सक्नुपर्छ। किचेन, रोजगारी, संचित रकम, इत्यादिका तथ्यांक यसमा प्रयोग हुन सक्छन्।
विभिन्न व्यापारिक घराना र व्यापारहरूसँगको उपर्युक्त सहकार्यबाट दैनिक सेवा प्रवाहमा सहजीकरण गर्न सकिन्छ भने यहाँ चलखेल हुने सम्भावना रहेकोले चलखेल हुन नदिन सरकारले उपर्युक्त तयारी गर्नुपर्ने हुन्छ।
स्वास्थ्यमा लिड गरिरहेका गैर/स्वास्थ्यकर्मीको फाजिल, करार सेवालाई रद्द अथवा व्यवस्थापन गरी आ-आफ्नै क्षेत्रमा काम गर्नको लागि फिर्ता पठाउनुपर्छ भने दरबन्दी अनुसार जनस्वास्थ्यका विज्ञलाई उक्त ठाउँमा लिड गर्ने जिम्मा दिनुपर्छ। यो किन पनि जरुरी छ भने समाजमा विभिन्न समयमा गएका गलत सन्देशहरूको कारणले स्यानिटाइजिङ टनेल, डिसइन्फेक्न्ट स्प्रे, डबल मास्कको प्रयोग, सामूहिक भोज आदि जस्ता अनावश्यक कार्यहरूमा पैसा र समयको लगानी भएका थिए र जनस्वास्थ्यकर्मीको अभावमा यस्ता गलत निर्णयहरू बारम्बार दोहोरिने सम्भावना रहन्छ।
सही ठाउँमा र सही समयमा भएका गलत मानिस नै अहिलेको समस्या रहेको कुरा स्पष्टसँग बुझ्नु जरुरी छ।
गैरजनस्वास्थ्यकर्मीलाई जनस्वास्थ्यमा काम गर्ने अधिकार कसले कसरी दियो?
नेपाल सरकार अन्तर्गत रहेको परिषदले दिएको लाइसेन्स अनुसार कुनै पनि स्वास्थ्य कर्मीले कम्तीमा ब्याच्लर्स इन कम्युनिटी मेडिसिन या ब्याच्लर्स इन पब्लिक हेल्थ नपढी र नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता नभई जनस्वास्थ्यमा काम गर्न पाईंदैन।
जनस्वास्थ्यको समस्या जनस्वास्थ्यकर्मीले अन्य स्वास्थयकर्मीको सहयोगमा गर्ने हो। जनस्वास्थ्य विषयमा स्नातक गरेका र नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएका स्वास्थ्यकर्मी बाहेकका अन्य स्वास्थ्यकर्मी जस्तै मेडिकल अधिकृत या विशेषज्ञ, नर्स, ल्याब, रेडियो इत्यादि जनसवास्थ्यकर्मी होइनन् र जनसवास्थ्यकर्मी बाहेक अन्य कसैलाई पनि नेपाल सरकारले कोरोना व्यवस्थापन गर्ने अधिकार कानुनत: दिएको छैन।
यो अवस्थामा अदालतले कुनै एक सरकारी निकायलाई हराउन सक्छ भने आफ्नो कार्यक्षेत्रमा काम नगर्ने र अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने जुनकुनै स्वास्थ्यकर्मी, मन्त्रालय या परिषदलाई कार्यबोध गराउन सक्छ।
आम जनताको बुझाइमा स्वास्थ्यको क्षेत्रमा मेडिकल अधिकृत सबैभन्दा जान्ने हुन भन्ने छ तर वास्तवमा स्वास्थ्यका आफ्नाआफ्नै र अलग्गै विज्ञ हुन्छन्। मेडिकल डाक्टर रोगको निदान गर्नमा सिपालु हुन्छन् भने मेडिकल डाक्टरको लागि रोग पत्ता लगाइदिने काम ल्याब, रेडियोले गर्छन्। औषधिले काम गर्ने नगर्ने ल्यबले पत्ता लगाइदिन्छन् भने फार्मेसीले उक्त औषधि सिफारिस गर्न मिल्ने/नमिल्ने निर्णय गर्छन्। बिरामीको उपयुक्त रेखदेख कसरी गर्ने भन्ने चाहिँ नर्सिङले गर्छ।
स्वास्थ्यका सबै क्षेत्रले एकआपसका विषयहरू थोरै मात्रामा पढेका हुन्छन्। जस्तै: नर्सिङले थोरै उपचारको, थोरै फार्मेसीको, थोरै ल्याबको, थोरै रेडियोको, थोरै जनस्वास्थ्यको कुरा पढेको हुन्छ धेरै नर्सिङ केयरको बारेमा पढेको हुन्छ। यसरी नै एमबिबिएसले थोरै नर्सिङ, थोरै फर्मेसी, थोरै ल्याब, थोरै रेडियो, थोरै जनस्वास्थ्य पढेको हुन्छ र धेरै विभिन्न स्वास्थ्य रिपोर्टको आधारमा रोग पत्ता लगाउनेबारे पढेको हुन्छ।
हिन्दु दर्शनमा ३ वटा अलग भगवान ब्रह्माले सृष्टि, विष्णुले पालन र महेश्वरले संहार गरेको पत्याउने बुद्धिजीवीले मेडिकल डाक्टरबाहेक अन्य स्वास्थ्यकर्मीलाई नमान्ने र नगन्ने तथा आम मानिसको यही कमजोरीको फाइदा उठाएर स्वास्थ्य क्षेत्रमा आफू स्वास्थ्यको सबै क्षेत्रको विज्ञ जसरी काम गर्न रुचाउने निश्चित मेडिकल अधिकृत र निश्चित विशेषज्ञ डाक्टरको कार्यले पनि कोरोना व्यवस्थापनमा समस्या निम्त्याइरहेको छ। भलै राम्रो आचरण भएका र स्वास्थ्यको अन्य क्षेत्रमा अनावश्यक हस्तक्षेप नगर्ने मेडिकल डाक्टर नभएका होइनन्। हाल भइरहेको कोरोना र डरको राजनीति र उनीहरूको संरक्षण गर्ने नेताहरूको देनलेनले गैरजन-स्वास्थ्यकर्मीलाई जनस्वास्थ्यको खोल ओढाएको स्पष्ट बुझ्न सकिन्छ।
स्वास्थ्यकर्मी (गैरजन-स्वास्थ्यकर्मी) ले आफैं जनस्वास्थ्यकर्मी हुँ भन्नु भनेको जनपद प्रहरीले म नै वकिल हुँ भन्नु सरह हो। जति बेला मानव श्रोत-साधनको कमी थियो, त्यति बेला विभिन्न किसिमका स्वास्थ्यकर्मी उत्पादन गरिन्थ्यो र कार्य विवरण पनि फराकिलो थियो। हिजोको दिनमा ग्रासका र मासिका थिए र अझै अगाडि ३ दिने तालिम पाएका औषधि पसले, कम्पाउन्डर र ड्रेसर थिए। यो प्रचलन विश्वका धेरै देशमा पाइन्थ्यो भने चीनमा यस्तै किसिमका बेर फुटेड डाक्टरहरू थिए।
जनस्वास्थ्यको क्षेत्रमा चिकित्सकको प्रवेश कसरी भयो भन्ने कुरा केलाउँदा नेपालमा जति बेला मानव श्रोत-साधनको कमी थियो, त्यति बेला सरकारले थोरै अनुमति दिएको थियो भने हाल आएर सबै क्षेत्रका विशेषज्ञ उत्पादन भइसकेको अवस्थामा यस्ता कर्मचारी हटाइसकेको छ। यसको हालसालैको उदाहरण अब सर्टिफिकेट लेबलका स्वास्थ्यकर्मीको पढाइ नगर्ने सरकारी निर्णयबाट स्पष्ट हुन्छ। पब्लिक सेन्टिमेन्ट यसरी विकास हुन पुग्यो कि मेडिकल डाक्टर आफैंमा पूर्ण हुन्छन्, उनीहरूलाई अन्य स्वास्थ्यकर्मीकोखासै खाँचो पर्दैन र एमबिबिएसको पढाइ पनि हुनेखानेको पहुँचमा मात्र पुग्यो र नियन्त्रण पनि उनीहरूकै संगठनबाट हुन पुग्यो। यो अवस्थामा पुग्नको पछाडि दोस्रो विश्व युद्द पछाडि विकास भएको हेल्थ इज अ कमोडिटी भन्ने सिद्धान्तको असर पनि हो, जसले स्वास्थ्य भनेको बेसिक हकअधिकार भन्दा पनि बढी सामान खरिद गरे जस्तो हो भनेको छ। जो सँग बढी पैसा छ, उसले धेरै सामान खरिद गर्न सक्छ र जो सँग थोरै पैसा छ उसले थोरै सामान खरिद गर्छ। यही सिद्धान्तको असरको कारणले स्वास्थ्यमा निजीकरण सुरु भयो भने यसको असरलाई न्यूनीकरण गर्नको लागि आल्मा आटा सम्मेलन भयो जसबाट जनस्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने सोचको विकास भयो। तर प्राथमिक स्वास्थ्य सेवाको घोषणा गरेको २ वर्ष पछाडिबाट नै प्राथमिक स्वास्थ्य सेवामाथि आक्रमण सुरु भयो र विश्व क्युरेटिभ मेडिसिनमा बढी ध्यान दिन थाल्यो। यसरी नै हाल आएर जनस्वास्थ्यको क्षेत्रमा मेडिकल डाक्टरहरूको प्रवेश भएको मान्न सकिन्छ, जुन कुरा नेपाल सरकारको परिषदको नियम विपरीत रहेको छ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंले आफ्नो नियमको उल्लंघन गरिरहेको देख्न सकिन्छ।
संसार किन क्युरेटिभ मेडिसिन/एलोपेथीमा बढी जोड दिइरहेको छ?
एलोपेथी मेडिसिन निकै ढिलो तर द्रुत गतिमा विकास भएको क्षेत्र हो भने आयुर्वेद सबैभन्दा पुरानो र कम विकसित क्षेत्र हो। एलोपेथ र आयुर्वेदको बीचमा विभिन्न मेडिसिनका क्षेत्रहरूको विकास भएका छन्। यसरी विकास हुने क्षेत्रहरू होमियोपेथी, युनानी, आम्ची इत्यादि छन्। पुरानो भए पनि आयुर्वेद विशेषगरी सर्जरीमा विकास हुन नसक्नु, यसमा प्रयोग हुने जरा र बुटा (जडीबुटी) हुन्, जसले आफ्नो इफेक्ट देखाउन समय लिने गर्दछ किनभने जडीबुटीमा भएका औषधि तत्वहरू प्राकृतिक अवस्थामा नै प्रयोग हुने गर्दछन्।
यसरी नै एलोपेथलाई आधुनिक चिकित्सा प्रणाली मानिन्छ र यसमा प्रयोग हुने औषधिहरूले तुरुन्तै असर/प्रभाव देखाउने हुन्छ र यही कारणले पनि एलोपेथमा सर्जरीको द्रुत विकास भएको मानिन्छ। एलोपेथमा प्रयोग हुने औषधिको एउटा श्रोत जडिबुटी नै हो, जहाँ जडीबुटीबाट आवश्यक रसायनहरू मात्र निकालिन्छ र औषधिको रूपमा प्रयोग गरिन्छ। यसरी हेर्दा के कुरा स्पष्ट हुनु जरुरी छ भने आयुर्वेदमा प्रयोग हुने औषधिको इफेक्ट पनि ढिला र यही कारणले साइड इफेक्ट पनि ढिला हुने गर्दछ। यो कुरा सरासर गलत हो कि आयुर्वेद औषधिको साइड इफेक्ट हुँदैन। साइड इफेक्ट नहुँदो हो त आयुर्वेद औषधि सेवन गर्दा खाने कुरा लगायत विभिन्न कुराहरू बार्ने जरुरत नपर्नु पर्ने हो। जडीबुटीको नियमित प्रयोगले शरीरमा इम्युन सिस्टम बढाउने मात्र नभई गलत प्रयोगले इम्युन सिस्टम कमजोर पार्ने काम समेत गर्छ।
हालको विश्व हरेक सेकेन्ड बढी व्यस्त हुँदै गइरहेको अवस्थामा मानिसलाई चाँडो नतिजा चाहिन्छ। यस्तो अवस्थामा आयुर्वेदमा भर परेर लामो समय प्रतीक्षा गर्ने धैर्यता मानिसमा छैन।
आम मानिसमा रोग लागिसकेपछि आफूलाई नै संसारको सबैभन्दा ठूलो रोग लागेको र सामान्य औषधिले ठिक नहुने, कडा खाले नै औषधि आवश्यक पर्ने, ट्याबलेटबाट उपचार नहुने, सुई नै लगाउनु पर्ने जस्ता धारणा रहेको पाइन्छ। आम मानिसको यही सेन्टिमेन्टको आधारमा विश्वका ठूला औषधि उत्पादक कम्पनीहरूले विश्व अर्थतन्त्रलाई केही हदसम्म नियन्त्रणमा राखेका छन् र यही कारणले रोगको रोकथाममा भन्दा बढी रोग लागिसकेपछि उपचारमा बढी लगानी भइरहेको छ। व्यापारिक हिसाबले पनि क्युरेटिभ मेडिसिनको पढाइ महँगो र सर्भिस पनि महँगो भइरहेको छ। यही कारणले विश्वको ध्यान रोगको रोकथाममा भन्दा बढी उपचारमा गइरहेको छ।
पिसिआर र आरडिटी भनेको के हो? पोजेटिभ देखिएमा के गर्ने?
पिसिआर भनेको सिधै विषाणुलाई नै माइक्रोस्कोपबाट हेर्ने प्रक्रिया हो भने आरडिटी भनेको विषाणुको कारणले शरीरमा आउने जैविक–रासायनिक परिवर्तन हेर्ने प्रक्रिया हो।
पिसिआर पोलिमेरेज चेन रियाक्सनको छोटो रूप हो। पोलिमेरेज भनेको इन्जाइम हो, अर्थात् साधारण किसिमको प्रोटिन हो। एमिनो एसिडको चेनमा आउने परिवर्तन, त्यो पनि चिसो र तातोको चेन बनाएर नै गरिने भएकोले यसलाई पोलिमेरेज चेन रियाक्सन भन्ने गरिन्छ। यो जाँच भाइरसको डिएनएको परीक्षण गर्न प्रयोग गरिन्छ भने यसबाट ब्याक्टेरिया आदिको जाँच समेत गरिन्छ।
सामान्यतया कोभिड बाहेक HIV, TB, Viral DNA, Whooping Cough हरुको पिसिआर जाँच गरिन्छ। यसलाई १९८४ मा अमेरिकी बायोकेमिस्ट क्यारी लिसले पत्ता लगाएका हुन्। यो टेस्टले पुराना डिएनएको नमुना परीक्षण गर्न प्रयोग गरिन्छ जसबाट रोग लगाउने विषाणुको बारेमा पत्ता लगाइन्छ। यो परीक्षणमा नमुनालाई बारम्बार तातो र चिसो तापक्रमबाट पास गराइन्छ र यसमा आउने परिवर्तनको अध्ययन गरिन्छ।
कोरोनाको परीक्षण गर्दा यसको भाइरल लोड शरीरमा कति छ बनेर हेर्ने गरिन्छ र त्यही भाइरल लोडको आधारमा पोजेटिभ या नेगेटिभ पत्ता लगाइन्छ। पिसिआरबाट पत्ता लगाउने न्युक्लिक एसिड र यसको गुणात्मक संख्याको आधारमात्र गणना गर्दा पिसिआरमा मात्र आधारित भएर कोरोनाको बारेमा निर्णय गर्दा कहिलेकाहीँ गलत निर्णय पनि हुनसक्छ।
पिसिआरको नतिजा आउने बेलासम्म परीक्षणका विभिन्न चरण पार गर्नुपर्ने हुन्छ, जसमा कस्तो मान्छेले कसको नमुना कसरी संकलन गरेको छ, उक्त नमुनालाई कसरी स्लाइडमा उतारेको छ र कसरी ल्याबसम्म पुर्याएको छ, ल्याबमा कस्तो गुणस्तरको माइक्रोस्कोपबाट कस्तो केमिकल र रिएजेन्टको प्रयोग गरेर परीक्षण गरिन्छ। परीक्षण गर्ने मानिस कस्तो खालको हो, परीक्षण लगातार गर्दा हुने शारीरिक तथा मानसिक थकाई, रिपोर्टकसले पेपरमा उतार्छ आदि/इत्यादि कुराहरू समेत पर्छ। यस्ता धेरै कामहरूको कारणले पनि पिसिआरको प्रभावकारिता ७० प्रतिशतसम्म मान्न सकिन्छ। अर्थात्, यसले ३० प्रतिशत गलत रिजल्ट दिन सक्छ।
त्यस्तै, पिसिआर को रिपोर्टमा हालसालै सिटी अंक लेख्ने गरिएको छ। सिटीको अर्थ साइकल थ्रेसहोल्ड हो। यो सामान्य अर्थमा कति साइकल परीक्षण (एम्प्लिफाई) गरेपछि कोरोना देखिन्छ भन्ने हुन्छ। यसरी परीक्षण गर्दा बन्ने 'एस' कर्भ हेरिन्छ र यो कर्भ ३५ बाट माथि लागेपछि कोरोना नेगेटिभ भन्न सकिन्छ। तर सिटी भ्यालु कोरोना लागेको सुरुवाती अवस्थामा पनि माथि नै देखिने, उमेर, लिंग, शरीरको इम्युन अवस्था रेस र जाति, अन्य औषधिको प्रयोग, फोक्सोको अवस्था, अन्य रोगको उपस्थिति, वातावरणीय प्रभावले समेत असर गर्ने भएकोले यसलाई पनि पूर्ण विश्वसनीय मान्न सकिँदैन।
आरडिटी भनेको र्यापिड डाइग्नोस्टिक टेस्ट हो। यो प्रक्रिया अत्यन्त छोटो समयमा रोगको बारेमा केही तथ्यांक संकलन गर्नु परेमा प्रयोगमा ल्याइन्छ। आरडिटीको उपयोगिता पिसिआरको भन्दा बढी भए पनि यसले गलत रिपोर्ट पनि दिने भएकोले यसको प्रभावकारिता चाहँ पिसिआरको भन्दा कम नै हुन्छ। आरडिटीकै आधारमा रोग लागेको र नलागेको निर्क्योल गर्न मिल्दैन। सुगर मापन गर्ने किट, गर्भ जाँच गर्ने किट यसको उदाहरण हुन्। जसरी गर्भ पतन भइसकेपछि पनि गर्भ जाँच गर्ने एचसिजी (आरडिटी) किटले गर्भ रहेको देखाउँछ। कोरोना निको भइसकेको शरीरमा पनि कोरोनाको आरडिटी गरिएमा निश्चित समयसम्म पोजेटिभ नै देखाउँछ।
यो रोग पनि अन्य भाइरल रोग (भाइरल रुघा-खोकी) जस्तै उपचार नभएको रोग हो। जो कसैले यो औषधिले रोग निको पार्छ भन्यो भने त्यो सरासर गलत हुन्छ। कुनै पनि औषधि परीक्षण र उत्पादन गर्न कम्तीमा २.५ वर्ष लाग्छ। बुबालाई हतार भयो भन्दैमा आमाले ३ महिनामै बच्चा जन्माउन सक्दिनन्। त्यसरी नै औषधिको प्रभावकारिता पूर्ण रूपमा अध्ययन नभई यसलाई बजारमा उतारिँदैन। यसरी औषधिको परीक्षण गर्दा सिंगल ब्लाइन्ड, डबल ब्लाइन्ड र त्रिपल ब्लाइन्ड गरेर पनि परीक्षण गरिन्छ जसमा औषधि प्रयोग गरिरहेका मानिसलाई के प्रयोजनको लागि औषधि दिइराखेको छ, थाहा नदिन पनि सकिन्छ।
हिटलरको कन्सन्ट्रेसन क्याम्पभित्र मानिसमाथि जबरजस्ती विभिन्न किसिमका औषधिका परीक्षण हुन्थे र हालको समयमा पनि गलत मनसायले कोरोनाको बहानामा विभिन्न औषधिको परीक्षण नभएका होलान् भन्न सकिने अवस्था छैन। उपचार सम्भव नभएको कारणले बिरामीलाई सजिलो बनाउन सहयोग गर्ने बाहेकको यसको अन्य विशेष उपचार केही नभएकाले आफ्नो प्रतिरोध क्षमतालाई बढाउने बाहेक अन्य उपचार छैन। प्रतिरोध क्षमता बढाउने तरिका भनेको सन्तुलित भोजन र व्यायाम नै हो।
सिरियस अवस्थाका बिरामीलाई मेडिकल डाक्टरले उचित सपोर्ट र डाइट्रिसियनले उचित भोजनको चार्ट उपलब्ध गराउन सक्छ। बजारमा धेरैथरी क्याप्सुल र औषधि प्रतिरोध क्षमता बढाउने भन्दै बिक्री-वितरण हुनसक्छ जसलाई पोषण विशेषज्ञ र मेडिकल डाक्टरको परामर्श बिना आफूखुसी प्रयोग गर्नु झनै घातक हुनसक्छ। तसर्थ रोकथामको लागि जनस्वास्थ्यकर्मी, उचित भोजनको लागि पोषणकर्मी, अन्य केयरको लागि नर्स, औषधि प्रयोगको लागि फार्मेसी र चिकित्सकीय सेवाको लागि चिकित्सकको परामर्श लिनु जरुरी हुन्छ।
समस्या हुनासाथ चिकित्सक नै खोज्ने र अन्य स्वास्थ्यकर्मीको परामर्श लिन र दिन नमान्ने कारण पनि जनसमाजमा कोरोनाले महामारीको रूप लिन पुगेको यथार्थलाई चित्रण गर्दै सम्पूर्ण स्वास्थ्यकर्मीले आफू विज्ञ नभएको स्वास्थ्य क्षेत्रको कुराहरूको जानकारी लिन सम्बन्धित स्वास्थ्यकर्मी समक्ष प्रेषण गर्नुपर्ने हुन्छ। यसरी प्रेषण हुँदा स्वास्थ्यको अवस्था हेरेर कोरोनाको शंका भएमा चिकित्सकले आवश्यक परामर्श र अन्य स्वास्थ्यकर्मी (ल्याब, डाइट्रिसियन आदि) को सहयोगमा निर्णय लिनुपर्ने हुन्छ। समुदाय स्तरमा फैलन नदिनको लागि जनस्वास्थ्यकर्मीले अन्य प्यारामेडिक्स, डाइट्रिसियन र पब्लिक हेल्थ नर्सको सहयोगमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ र शंकास्पद व्यक्तिलाई चिकित्सकीय सेवा या परामर्शको लागि चिकित्सकसम्म प्रेषण गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ।
मृत्युदर, संक्रमण दर र हर्ड इम्युनिटी
जुनकुनै रोगले तबमात्र महामारीको रूप लिन्छ जब त्यसको संक्रमण दर बढी हुन्छ। हालसम्म मृत्युदर बढी भएका महामारीहरू भएका भए हामी जीवित रहने थिएनौं र मृत्युदर बढी भएकै कारणले हाम्रा पिता पूर्खाहरु नै लोप भइसकेका हुने थिए। यसो भन्दैमा मृत्युदर कम छ भनेर ढुक्क भएर बस्न सकिँदैन किनभने पहिला मृत्युदर बढी भएका महामारीले मानिस जस्तै उच्च बौद्धिक क्षमता भएका जनावरलाई लोप गराएको छैन भनेर विज्ञानले ठोष सबुद दिन सक्दैन।
यस रोगको संक्रमण दर करिब ३०:१०० रहेको र मृत्युदर नेपालमा करिब ०.५:१०० र धेरै मानिस मरेका देशहरूमा करिब १२:१०० रहेको छ। यसरी जति छिटो यो रोग सर्छ, रोकथाम गर्न नसकेको अवस्थामा त्यति नै चाँडो हामी हर्ड इम्युनिटीमा जाने सम्भावना हुने गर्छ। यो रोग लागेर निको भइसकेपछि फेरि लाग्छ या लाग्दैन भन्ने कुरा स्पष्ट भइसकेको छैन। दोहोरिएर कोरोना लागेकाहरु पिसिआरको ३० प्रतिशत गलत परीक्षणभित्र परेका हुन सक्छन्।
हर्ड इम्युनिटी तब मात्र हुने गर्छ जब धेरैजसो जनसंख्यामा कोरोना प्रतिरोधी एन्टिबडीको विकास भएको हुन्छ। एन्टिबडीको विकास हुनको लागि खोपको प्रयोग या रोग लागेर निको भइसकेको अवस्था हुनसक्छ। जब हर्ड इम्युनिटी हुन्छ, इम्युनिटी नभएका मानिसबाट रोग फैलने सम्भावना कम हुने गर्छ र रोग नियन्त्रणमा आउँछ। हर्ड इम्युनिटीको लागि यति नै जनसंख्या इम्युन भएको हुनुपर्छ भन्ने छैन तर धेरैजसो भनेर व्याख्या गरिएको छ।
यदि रगतबाट यो रोग सर्दैन भने प्लाज्मा थेरापी कसरी उपयोगी हुनसक्छ
यो रोग श्वासप्रश्वास प्रणालीमा लाग्ने भएकोले श्वासप्रश्वासको क्रममा उत्पादन हुने सिँगान थुक र आँसुबाट सर्नेगर्छ। यसो भन्दैमा यो रोग रगत ट्रान्सप्लान्ट गर्दा सर्दैन भन्ने छैन। हालसम्मको अध्ययनबाट रगतबाट सर्ने सम्भावना निकै कम भएको देखिन्छ। रगतबाट सिधै रोग सर्ने सम्भावना कम भए पनि प्लाज्मा थेरापीबाट रोगको उपचार गर्नु सम्भव देखिन्छ।
प्लाज्मा भनेको रगतमा भएको पानी जस्तो पातलो झोल हो। जब कसैको शरीरबाट कोरोना निको भइसकेको हुन्छ। शरीरमा भएको इम्युन सिस्टमले कोरोनाको विरुद्ध लड्नको लागि एन्टिबडी निर्माण गरेको हुन्छ जुन निश्चित समयसम्म प्लाज्मा रहिरहन्छ। प्लाज्मा थेरापीमा रगतको प्लाज्त्रलाई अर्को बिरामीको शरीरमा प्रवेश गराइन्छ र उक्त प्लाज्मामा भएको एन्टिबडीले श्वासप्रश्वास प्रणालीलाई असर गरिरहेको कोरोनालाई मार्ने काम गर्छ। यसबाट बिरामीले प्यासिभ इम्युनिटी विकास गर्छ। प्लाज्मा थेरापीबाट केही हदसम्म उपचार सम्भव देखिए पनि यसलाई पूर्ण रूपमा उपचारको विधि भनेर मानिएको छैन। कोरोनाले म्युटेसन गरेर आफ्नो स्वरूप परिवर्तन गर्ने हुनाले प्लाज्मा थेरापीको प्रभावकारिता कम भएको हुनसक्छ, जसलाई अझै अध्ययनको खाँचो छ।
कन्ट्याक्ट ट्रेसिङ भनेको के हो र हामी किन फेल भयौं?
कन्ट्याक्ट ट्रेसिङ भनेको शंकास्पद कोरोना लागेको मानिसको सम्पर्कमा आएको मानिसको बारेमा पत्ता लगाउने हो। रोग फैलन सुरु गरेको अवस्थामा राम्रोसँग कन्ट्याक्ट ट्रेसिङ गर्न सकेको अवस्थामा जुनकुनै महामारीलाई समुदायमा फैलनबाट रोक्न सकिन्छ। कुनै पनि प्रविधि १०० प्रतिशत सफल हुँदैनन्।
जसरी पिसिआर १०० प्रतिशत छैन, त्यसरी नै कन्ट्याक्ट ट्रेसिङ पनि १०० प्रतिशत हुन सक्दैन। महामारीको समयमा कन्ट्याक्ट ट्रेसिङको लागि घरघर जाने सम्भावना कम रहन्छ र यसमा प्रविधिको प्रयोग गर्न नजान्नू नचाहनू र चाहनेलाई उचित किसिमको प्रोत्साहन नहुनु समुदायमा रोग फैलिएको एउटा कारण मान्न सकिन्छ। हातहातमा मोबाईल बोक्नेहरुलाई मोबाइलको माध्यमबाट कन्ट्याक्ट ट्रेसिङ गर्न सकिन्थ्यो भने यो प्रविधि फेल हुनुको एउटै कारण देखाइएको छ कि सबैले मोबाइल बोकेर हिँड्दैनन्। केही हदसम्म यो कुरा सही हो, तर मोबाइलको सेन्सरको प्रयोगबाट मोबाइलमा हलचल नआएको अवस्थामा मोबाइलमा घन्टी बज्ने र मानिसलाई मोबाइल बोकेर मात्र यात्रा गर्न प्रोत्साहन गर्न सकिन्थ्यो। मोबाइल नबोक्नेहरुको लागि सरकारले रेडियो सेन्सरको माध्यमबाट ट्रेस गर्न सक्थ्यो जुन प्रविधि हङकङ, सिंगापुर, चीन र कोरियामा सफल भइसकेका छन्।
आम समुदायले सरकारी आदेशको अवज्ञा गर्नको कारण सरकारले उपर्युक्त किसिमले जनस्वास्थ्यको काम गैरजनस्वास्थ्यकर्मीबाट गराउन खोज्नु पनि हो। यसरी नै ठाउँठाउँमा थर्मोग्राफिक क्यामेरा (क्यामेराबाट व्यक्तिको तापक्रम नाप्ने प्रविधि) लगाएर पनि ट्रेसिङ गर्न सकिन्थ्यो। यसरी प्रविधिको प्रयोग गरेर विभिन्न किसिमको पासहरू उपलब्ध गराएर मानिसहरूलाई सुविधा दिन सकिन्थ्यो। शंकास्पद बिरामीलाई टाढाबाट पहिचान गर्नको लागि आर्टिफिसियल इन्टिलेजेन्स प्रयोग गरेका रोबोटहरु प्रयोग गर्न सकिन्थ्यो। रोबोटले खाना सर्भ गर्न सक्छ भने त्यस्तै किसिमको रोबोटले रोगको स्क्रिनिङ पनि गर्न सक्छ।
यो समयमा यस्ता धेरै प्रविधि विकास भए र एउटा प्रविधिले अर्को प्रविधिलाई सहयोग गर्नुको साटो आफ्नो प्रविधि नै सबैभन्दा राम्रो हो र अरूको चाहिँ काम नलाग्ने हो भन्नु, कर्मचारीप्रविधि मैत्री नहुनु र सर्वसाधारण सरकारी कर्यप्रति विश्वस्त हुन नसक्नु नै प्रविधि फेल हुने कारण हो। यदि निश्चित संख्यामा (मानिलिउँ ६० प्रतिशत) कन्ट्याक्ट ट्रेसिङको काम प्रविधिको माध्यमबाट गर्न सकेको भए बाँकी संख्या (४० प्रतिशत) कर्मचारी र भोल्युन्टियरको सहयोगमा गर्न सकिन्थ्यो। जसबाट समय र पैसा दुवैको बचत हुन्थ्यो। प्रविधि १०० प्रतिशत सफल हुनुपर्छ भन्ने बुझाइ र कुनै पनि प्रविधि १०० प्रतिशत नहुने यथार्थ बीचको खाडल यस प्रविधि फेल हुनुको कारण हो।
हामी कता जाँदैछौं?
हामी बारम्बार कोरोनाले पछारिन्छौं, नाकाबन्दीले थुनिन्छौं र भूकम्पले हल्लाइन्छौं। तर पनि केही समयपछि सबै भुल्छौं र पुरानै परम्परामा फर्कन्छौं। कुनै पनि घटना या दुर्घटनाले हामीलाई पाठ पढाउन सक्दैन। हालको अवस्थामा हामी हर्ड इम्युनिटितर्फ प्रवेश गर्दैछौं भने यस चुनौतीलाई अवसरको रूपमा प्रयोग गर्न चुक्दैछौं।
अब सरकारको र सरोकारवालाको अवसर भनेको फिजिकल्ली उपस्थिति नजनाई गर्न मिल्ने कामहरूलाई डिजिटल्ली गर्नको लागि प्रोत्साहन गर्ने हो भने बीचमा रहेर काम गर्न पल्किएकाहरुले जरुर यस अवसरलाई फेरि चुनौती दिनेछन् र पुरानै ढर्रामा फर्काउने कोसिस गर्नेछन्। किनभने पुरानो शैलीमा चलखेल गर्ने धेरै ठाउँहरू हुन्छन्। कोरोनाको दोस्रो वेभ आउनुभन्दा अगाडिबाटै अहिले देखिएका समस्याहरूलाई ध्यान दिएर योजना बनाउने हो भने हामीले दोस्रो वेभलाई ढोकैबाट रोक्न सक्नेछौं।
डरलाग्दो कुरा के हो भने यही समयमा विभिन्न बहानामा विभिन्न किसिमका औषधिको परीक्षण हुने सम्भावना रहन्छ, जुन टेस्टको लागि या हतियारको रूपमा प्रयोग भइरहेको सरकार र सर्वसाधारणले थाहा नपाउन पनि सक्छन्। तसर्थ, आफ्नो शरीरमाथि अनावश्यक प्रयोग हुन दिनबाट रोक्नु पनि अहिलेको जनस्वास्थ्यको आवश्यकता हुनसक्छ।
पछि पनि यस्तै समस्याहरूबाट बच्नको लागि आजैबाट प्रविधिमैत्री जनशक्तिको उत्पादन गर्नतिर लाग्नुपर्छ भने विभिन्न बहानामा सिन्डिकेट जमाएर बसेकाहरुबाट सिन्डिकेट खोसिनु पर्छ। सानै उमेरबाट विद्यार्थीहरूले यस्तो जटिल समयमा कसरी पार पाउन सकिन्छ भनेर करिकुलममा नै केही परिमार्जन गर्न सक्यौं भने भोलिको पुस्ता यस्ता समस्यासँग जुध्नको लागि तयार हुनेछ। दुर्घटना पनि बिनाकारण हुँदैन र कारण पत्ता लागेको अवस्थामा पनि दुर्घटना रोक्न नसक्नु मानव सभ्यताकै लागि महाभुल हुनसक्छ।
स्वास्थ्यमा नै किन यति धेरै राजनीति हुन्छ?
स्वास्थ्य यति संवेदनशील क्षेत्र हो कि स्वास्थ्यको बारेमा मानिसहरू धेरैभन्दा धेरै छलफल गर्छन् तर आफूले पाइरहेको स्वास्थ्य सेवाको गुणस्तरको बारेमा बोल्न सक्दैनन्। यही बोल्न नसक्नेहरुको कारणले विश्वमा धेरै स्वास्थ्य राजनीति भइरहेका छन्, जुन कुरा विभिन्न सम्मेलनहरूबाट बुझ्न सकिन्छ। विकसित देशहरूले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर पनि सहयोग नगर्नुको एउटै कारण भनेको जनस्वास्थ्यबाट भन्दा बढी चिकित्सकिय स्वास्थ्यबाट आर्थिक लाभ हुनु हो, जसको कारणले सन २०८० बाट नै प्राथमिक स्वास्थ्य सेवामा असहयोग सुरु भयो भने सन् २००० मा त प्राथमिक स्वास्थ्य सेवाको मृत्यु नै घोषणा गरियो।
संयुक्त राष्ट्रको सहयोगमा सहश्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य आए पनि संयुक्त राष्ट्रलाई सहयोग गर्ने राष्ट्रहरूको राजनीतिक ध्रुवीकरणले धेरैजसो विकासोन्मुख र अल्पविकसित राष्ट्रहरूले पूर्ण रूपमा सहयोग पाइरहेका छैनन् भने केही विकासोन्मुख र अल्पविकसित राष्ट्रहरूले नमुनाको रूपमा जनस्वास्थ्यको सफल प्रयोग पनि गरिरहेका छन्।
जब मुख्य सिस्टमको प्यरेलल भएर अर्को सिस्टम बन्छ, त्यसलाई सिस्टम डी भनिन्छ र आजको दिनमा सारा विश्व सिस्टम डीलाई नै मुख्य सिस्टम मानेर झुक्किइरहेको छ। स्वास्थ्यमा भइरहेको विश्व राजनीतिदेखि स्थानीय राजनीतिसम्म यही सिस्टम डीको वरिपरि घुमिरहेको छ।
कोरोनाको दोस्रो वेभको रोकथाममा दिगो उपाय के हुनसक्छ?
एकचोटि कोरोनाको कर्भ ओरालो लागिसकेपछि फेरि उकालो लाग्न सुरु भएमा दोस्रो वेभ सुरु भएको मान्न सकिन्छ भने प्रायजसो पहिलो भन्दा दोस्रो र दोस्रो भन्दा तेस्रो वेभ कमजोर हुने गर्छ। समय क्रमसँगै विषाणु म्युटेसन हुँदै जाने र म्युटेसन हुँदै जाँदा कमजोर हुँदै जाने भएकोले सुरुवाती अवस्थामा यसलाई नियन्त्रण गर्न सक्नु भनेको दोस्रो वेभ आउन नदिनु वा ढिलो गर्नु भनेर बुझ्न सकिन्छ। यसरी म्युटेसन भएर स्वरूप परिवर्तन हुने भएकोले बजारमा आएको औषधिले फेरि त्यही रोगलाई काम नगर्ने पनि हुनसक्छ। तसर्थ औषधि बन्यो, अब औषधि खाएर जोगिन्छु भनेर ढुक्क हुनुभन्दा जनस्वास्थ्यका नियमहरू पालना गरेर रोग लाग्न नै नदिनु बढी बुद्धिमानी हुनसक्छ।
सर्व प्रथम कोरोनाको नाउँमा विश्वमा सुरु भएको राजनीति र अन्तर्राष्ट्रिय राजनीतिले उघारेको राष्ट्रिय राजनीति, क्षेत्रीय राजनीति र टोले राजनीतिको बारेमा बुझ्नु जरुरी छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भइरहेको डरको राजनीतिको बारेमा बुझ्नु जरुरी छ।
कोभिड मात्र नभई कुनै पनि भाइरल रोगको उपचार आफैंमा छैन, तर यसले गराउन सक्ने सेकेन्डरी इन्फेक्सनबाट जोगाउन प्रोफाइल्याक्सिस ट्रिटमेन्टहरु छन्, जसलाई अपनाउन राज्यले अलग्गै उपचार गाइडलाइन बनाउनु पर्छ। प्राइमेरी इन्फेक्सन (भाइरसको) उपचार नभए पनि सेकेन्डरी इन्फेक्सन (ब्याक्टेरियल) नहोस् भन्नको लागि एन्टिबायोटिक्सको प्रोफाइल्याकसिस प्रयोग गर्न सकिन्छ। तर एन्टिबायोटिक्सको रेसिस्टेन्स फैलने सम्भावना भएको कारणले सरकारले कोरोना पोजेटिभलाई विशेष रूपमा लाग्न सक्ने सेकेन्डरी इन्फेक्सन रोक्नको लागि कल्चर र सेन्सेटिभिटी टेस्ट गर्न ल्याबलाई सहजीकरण गर्न सक्नुपर्छ भने आम मानिसलाई सहज हुनेगरी र रेसिस्टेन्स डेभलप नहुने गरी चिकित्सक, एचए र अहेबलाई एन्टिबायोटिक्स प्रयोग गराउनको लागि उपयुक्त गाइडलाइन सरकारले तयार गर्नुपर्छ।
जनस्वास्थ्यको दृष्टिकोणबाट कम पैसामा कोरोना नियन्त्रण गर्ने यो एक विधि हुनसक्छ भने प्रविधिको प्रयोग जस्तै रियल टाइम कन्ट्याक्ट ट्रेसिङ एण्ड ट्रयाकिङ (रेडियो डिभाइसको प्रयोग गरेर), थर्मोग्राफिक क्यामेराको प्रयोग, शंकास्पद बिरामी जाँच्नको लागि रोबोटिक्सको प्रयोग, फिजिकल नभई गर्न सकिने कामहरू जस्तै लाइसेन्स तथा बिलबुकरिन्यु, मालपोत तथा नापीको काम, फारम भर्ने काम, सरकारी कार्यालयको काम इत्यादिलाई सम्पूर्ण रूपमा अनलाइनबाटै सम्पन्न गर्न सक्नुपर्छ। अर्थात्, डिजिटलाइजेसन इन अल।
समग्रमा भन्नु पर्दा यी कुराहरू ध्यान दिन सक्यौं भने कोरोना जस्तोसुकै डरलाग्दो रोग भए पनि हामीले सहजै नियन्त्रण गर्न सक्छौं।
१. चिकित्सकलाई चिकित्सकीय काममा मात्र लगाउने।
२. जनस्वास्थ्यलाई समुदायस्तरमा कोरोनाको रोकथाममा लगाउने र कोरोनासँग सम्बन्धित अध्ययनमा लगाउने।
३. प्रशासन चलाउन निजामती कर्मचारीको प्रयोग गर्ने। विशेषज्ञ डाक्टरलाई आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा दिन प्रोत्साहन गर्ने।
४. जनस्वास्थ्यको समस्या भएकोले प्रमुख रूपमा कोरोना नियन्त्रणको सल्लाहकार समूहमा अधिक मात्रामा जनस्वास्थ्यकर्मीलाई राख्ने।
५. प्रविधिको अधिकतम प्रयोग गर्ने।
६. राज्य संयन्त्रका स्वास्थ्यका प्रमुख ठाउँहरू ओगटेर बसेका गैरस्वास्थ्यकर्मीलाई हटाउने र जनस्वास्थ्यकर्मीको नेतृत्वमा अन्य स्वास्थ्यकर्मी राख्ने।
७. प्रोफाइल्याकसिस ट्रिटमेन्टको लागि अस्थाई गाइडलाइन बनाएर तुरुन्त प्रयोगमा ल्याउने।
८. स्वास्थ्यमा भइरहेका दलाली तत्काल पहिचान गरी आवश्यक कारबाही गर्ने।
९. झुटो सूचना र हल्ला फैलाउनेलाई तत्काल कारबाही गर्ने।
१०. कन्ट्रोल्ड लकडाउनको मोडेल अवलम्बन गर्ने र अर्थतन्त्रलाई सुचारु राख्ने।
११. कोरोना नियन्त्रणको लागि फोरम खुला राख्ने र आवश्यक पृष्ठपोषण र सम्बन्धित विज्ञको सल्लाहको आधारमा मात्र निर्णय गर्ने।
१२. नेतृत्व टोली असम्बन्धित आसेपासेबाट टाढा बस्ने।
(ढकाल जनस्वास्थ्यकर्मी हुन्।)