काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको भ्याक्सिन नेपालको जनसंखयाको २० प्रतिशत नागरिकलाई निशुल्क उपलब्ध गराउने भनेको कोभ्याक्स फ्यासिलिटीको खोप आउन ढिला हुने भएमा त्यो भन्दा पहिला २० प्रतिशत भ्याक्सिन आफैं खरिद गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन, गाभीलगायतको अलाइन्समा बनेको कोभ्याक्सबाट भ्याक्सिन आउने समय लाग्ने भएमा फ्रन्टलाइन र जोखिममा रहेका जनताका लागि भ्याक्सिन उपलब्ध गराउन पहिले नै खरिद गर्ने तयारी गरेको हो।
कोभिड भ्याक्सिन व्यवस्थापन सचिवालयका अनुसार कोभ्याक्सको भ्याक्सिन आउन समय लाग्ने देखिएकोले त्यो भन्दा पहिला नै जोखिममा रहेका नेपाली नागरिकलाई भ्याक्सिन उपलब्ध गराउन कोभ्याक्सको भ्याक्सिन कुरेर नबस्ने निर्णय भएको हो।
सचिवालयका एक सदस्यले भने, ‘कोभ्याक्सको भ्याक्सिन आउन ढिला हुन सक्छ। त्यसैले सरकारले पहिलो चरणमा २० प्रतिशत भ्याक्सिन खरीद गर्ने निर्णय गरेको छ। त्यसका लागि बजेटको पनि सुनिश्चिता गरिसकेको छ।’
सरकारले देशभरका १५ वर्ष माथिका ७२ प्रतिशत जनतालाई कोभिड भ्याक्सिन लगाउने योजना बनाएको छ। जसमा पहिलो चरणमा अति जोखिममा रहेका स्वास्थ्यकर्मी, सामाजिक दुरी कायम गरेर काम गर्न नसक्ने सोसियल वर्करहरु, दीर्घरोगीलाई भ्याक्सिन लगाउने योजना बनाएको छ।
‘हामीले पहिलो चरणमा अति जोखिममा भएका मानिसहरुलाई भ्याक्सिन लगाउन पायौँ भने धेरै जोखिम कम गर्न सकिन्छ। हामीले ३ प्रतिशत भएपनि सरकारले आफै खरीद गर्नेछ,’ ती सदस्यले भने।
सरकारको योजना अनुसार पहिलो चरणमा ३ प्रतिशत जनसख्ंया स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र फ्रन्टलाइटर वर्कर गरी ९ लाख ११ हजार ३४२ जनसंख्याले भ्याक्सिन पाउने छन्।
सरकारले ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउनका लागि ४८ अर्व रुपैयाँ बजेट सुनिश्चिता गरिसकेको छ।
दुई डोजका दरले ४८ लाख ३० हजार १४ भ्याक्सिन ल्याउने योजना बनाएको छ। जसमा १० प्रतिशत वेस्टेज भ्याक्सिन पनि जोडिएको छ।