काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको एजेण्डालाई नजिकबाट चिन्ने र अभियानको समर्थन गर्नेहरू नै क्याबिनेटमा हुँदा पनि ६ महिनामा डा. गोविन्द केसीले दुई पटक अनशन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी छिन्।
अघिल्लो सत्याग्रहका समयमा सरकारले गरेका सहमतिहरू अझै किन कार्यान्वयन भइरहेका छैनन् भन्दै उनले समाजिक सञ्जाल मार्फत पेचिलो प्रश्न उठाएकी छिन्। डा. केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको, रगतमा सुगरको मात्रा घटेको, रक्तचाप (बीपी) घटेको तथा मुटु र मांसपेशी दुख्ने जस्ता समस्या देखापरेको स्वास्थ्य अलर्टले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि उत्तिकै पीडा भएको होला भनेकी छिन्।
सरकारसँग तत्काल वार्ता गरी सहमति कार्यान्वयन गर्न जोड दिँदै सांसद कार्कीले सहमति गर्न आग्रह गरेकी छिन्। 'तत्काल वार्ता गरी सहमति गरियोस्। कार्यान्वयन गरियोस्। भावि दिनहरूमा समयमै स्थिति पहिचान गर्ने, छलफल गर्ने, आवश्यक समन्वय गर्ने गरियोस्,' उनले भनेकी छिन्।
साथै, सत्य र निष्ठाका धरोहर डा. केसीले यो इमानको राज्यमा समेत वृद्ध भइसकेको शरीरमार्फत पटक–पटक अग्निपरीक्षा दिनुपर्ने स्थिति नबनाउन उनले सरकारलाई गम्भीर आग्रह गरेकी छिन्।
हेरौं डा केसीले सामाजिक सञ्जालमा लेखेको विषय
डा. गोबिन्द के.सीको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको एजेण्डालाई नजिक बाट चिन्ने र अभियानको समर्थन गर्नेहरुनै क्याबिनेटमा हँदा पनि ६ महिनामा डा केसीले दुई पटक अनसन बस्नुपर्ने अवस्था आईसक्नु राम्रो सन्देश होईन।
यहि सरकारले अघिल्लो सत्याग्रहमा गरेका सहमति पनि कार्यन्वयन किन भईरहेको छैन भन्ने प्रश्न पेचिलो छ। स्वास्थ्य स्थिती गम्भिर हुँदैछ, रगतमा सुगरको मात्रा घट्यो, विपी घट्यो, मुटु दुख्ने, मांशपेसी दुख्ने स्थिती आईसक्यो भन्ने स्वास्थ्य अलर्ट आउँदा जति मलाई दुखिरहेको छ, सायद त्यति नै हाम्रो शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि दुखिरहेको होला। तत्काल वार्ता गरी समहमति गरियोस्। कार्यन्वयन गरियोस्। भावि दिनहरुमा समयमै स्थिती पहिचान गर्ने, छलफल गर्ने, आवश्यक समन्वय गर्ने गरियोस्। त्यो सत्य र निष्ठाको धरोहरले यो ईमानको राज्यमै पनि वृद्द भईसकेको शरीरमार्फत पटक पटक अग्नी परिक्षा दिनुपर्ने स्थिति नबनाईयोस्।