काठमाडौं- मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा नसा करिब ९० प्रतिशत साँघुरिएर मस्तिष्कघातको जोखिममा रहेकी रुपन्देहीकी एक महिलाको काठमाडौं मेडिकल कलेज (केएमसी) मा बिना ठूलो चिरफार सफल उपचार गरिएको छ।
रुपन्देहीको सैनामैना नगरपालिका–७ की हेमकुमारी थापाको मस्तिष्कको साँघुरिएको रक्तनलीमा बेलुन एन्जियोप्लास्टी र स्टेन्ट प्रत्यारोपण गरी रक्तप्रवाह सहज बनाइएको हो। उपचारपछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उनलाई दुई दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
दुई महिनाअघि मस्तिष्कघात भएपछि हेमकुमारीको स्वास्थ्य अवस्था कमजोर बनेको थियो। उनको हातले राम्ररी काम गर्न छाडेको थियो भने हात झमझमाउने, लुलो हुने, शरीर असहज हुने र बोली लरबरिने समस्या देखिएको थियो। दैनिक कामकाजसमेत गर्न कठिन भएपछि परिवार उपचारको खोजीमा जुटेको थियो।
उपचारका लागि परिवार उनलाई भारतसमेत लिएर गएको थियो। त्यहाँ उपचारमा चार लाख भारतीय रुपैयाँ खर्च लाग्ने बताएपछि परिवार थप चिन्तित बनेको थियो। आफन्तको सल्लाहमा उनीहरू काठमाडौंस्थित केएमसी पुगेका थिए।
केएमसीमा न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेल नेतृत्वको टोलीले उनको उपचार गरेको हो। चिकित्सकीय परीक्षणका क्रममा सीटी स्क्यान र सेरेब्रल एन्जियोग्राफी गर्दा मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा नसा करिब ९० प्रतिशत साँघुरिएको पाइएको डा. पौडेलले बताए।
उनका अनुसार रक्तनली साँघुरिएका कारण मस्तिष्कमा पर्याप्त रक्तप्रवाह हुन सकेको थिएन। समयमै उपचार नभएको भए रक्तनली पूर्ण रूपमा बन्द भई गम्भीर पक्षघात हुने जोखिम थियो।
‘हामीले क्याथल्याबमा खुट्टाको धमनीबाट मसिनो तार र क्याथेटर प्रवेश गराएर मस्तिष्कको प्रभावित नसासम्म पुर्यायौँ। त्यसपछि साँघुरिएको भागमा बेलुन एन्जियोप्लास्टी गरी नसा फराकिलो बनायौँ र स्टेन्ट राखेर रक्तप्रवाह सहज बनायौँ,’ डा. पौडेलले भने।
उनका अनुसार उपचार प्रक्रिया सफल भएपछि हेमकुमारीको स्वास्थ्यमा छिट्टै सुधार देखिएको थियो। उपचार सम्पन्न भएको करिब एक घण्टामै सकारात्मक परिवर्तन देखिएको र दुई दिनको अस्पताल बसाइपछि घर पठाइएको उनले बताए।
यस उपचारमा ठूलो चिरफार नगरी रक्तनलीमार्फत मसिनो उपकरण मस्तिष्कको प्रभावित भागसम्म पुर्याएर उपचार गरिएको हो। बेलुन एन्जियोप्लास्टी र स्टेन्ट प्रत्यारोपणबाट साँघुरिएको रक्तनली खुला बनाइएको चिकित्सकको भनाइ छ।
उपचारपछि हातको समस्या र झमझमाउने लक्षणमा सुधार आएपछि हेमकुमारी खुसी हुँदै घर फर्किएकी छन्।
‘मेरो रोग निको पार्न मिहिनेत गर्ने डाक्टर, नर्सलगायत सबैलाई धेरै–धेरै धन्यवाद। उहाँहरूले राम्रो उपचार र माया दिनुभयो। म निकै खुसी छु,’ उनले भनिन्।
आमाको उपचार सफल भएपछि छोरी बबिना थापाले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरिन्। ठूलो शल्यक्रियाबिना आधुनिक प्रविधिबाट आमाको उपचार सम्भव भएको भन्दै उनले खुसी व्यक्त गरिन्।
मस्तिष्कघातमा समयमै रोग पहिचान र उपचार महत्वपूर्ण मानिन्छ। मस्तिष्कमा रक्तप्रवाह अवरुद्ध हुँदा वा रक्तनली फुट्दा मस्तिष्कका कोषिकामा क्षति पुग्न सक्छ। त्यसैले हातखुट्टा कमजोर हुने, अनुहार बाङ्गिने, बोली लरबरिने वा अचानक दृष्टि तथा सन्तुलनमा समस्या देखिए तत्काल अस्पताल पुग्न चिकित्सकको सुझाव छ।