काठमाडौं- चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै विगत आमरण अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा डा. केसीको स्वास्थ्यलाई लिएर गहिरो चिन्ता व्यक्त गरिएको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा सुशासन कायम गर्न लामो समयदेखि आवाज उठाउँदै आएका डा. केसीको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनको शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै स्वासप्रश्वासमा समेत कठिनाई भएपछि अक्सिजन दिइएको र चिकित्सकहरूले थप सुविधासम्पन्न अस्पतालमा सार्न सुझाव दिएको विषयले संघलाई थप चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ।
संघले डा. केसीले उठाएका जायज मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ। समस्याको समाधान खोज्न उनीसँग अविलम्ब वार्ता गर्न, जीवन रक्षाका लागि आवश्यक पहल गर्न तथा स्वास्थ्य अवस्था थप जटिल हुन नदिन आवश्यक उपचार र सुरक्षाको प्रबन्ध मिलाई आमरण अनसन अन्त्य गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र सम्बन्धित पक्षलाई संघले हार्दिक आग्रह गरेको छ।