काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई इलामबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। इलाममा २५औँ आमरण अनसनरत डा. केसीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ।
अनशनको ५ दिन बित्दासम्म स्वास्थ्यमा लगातार जटिलता देखिनुका साथै श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार रातिदेखि नै अक्सिजन दिएर उपचार सुरु गरिएको थियो। उनको स्वास्थ्य स्थिति जोखिमपूर्ण बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए।
इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरका अनुसार संघीय र प्रदेश स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनलाई काठमाडौं प्रेषण गरिएको हो। सोमबार बिहान प्राप्त विवरणअनुसार डा. केसीको रक्तचाप १००/६० र पल्स ९० देखि १०० रहेको छ।
गेटामा पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वमाथि निष्पक्ष छानबिन हुनुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने तथा यसअघि सरकारसँग भएका सहमतिहरू कार्यान्वयन हुनुपर्ने लगायतका ६ बुँदे माग राख्दै उनी अनसनमा बसेका छन्।