कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट यतिखेर विश्व आक्रान्त छ। नेपालमा भन्दा पहिल्यै फैलिएको कोरोना महामारीको पहिलो लहरमाथि काबु पाएका यूरोपका कैयौं देश दोस्रो लहरसँग जुध्न संघर्षरत छन्। कतिपय देश अहिले पनि लकडाउनमा छन्। संक्रमणको गति तीव्र तर, जनजीवन सामान्य अवस्थामा फर्किरहेको अहिलेको समय स्वास्थ्यका लागि सबैभन्दा चुनौतीपूर्ण समय हो।
महामारीबीचको यो त्यस्तो समय हो, जतिबेला सरकार र नागरिक दुवै लकडाउन वा त्यस्तो विशेष बन्देजको अवस्थामा भन्दा अझ बढी सजग बन्नुपर्ने खाँचो छ। कोरोना संक्रमण रोक्न संसारभर नै प्रभावकारी उपाय सावित भएको ‘एसएमएस’ (स्यानिटाइजर, मास्क र सामाजिक÷भौतिक दूरी) यस्तै बेला प्रभावकारी हुने हो। तर, यहीबेला हाम्रो अवस्था सबभन्दा नाजुक देखिएको छ। संक्रमणको जोखिम कम भइनसकेको यो समयमा नागरिकलाई सजग र सचेत गराउनुपर्ने सरकार आफैं बेफिक्री देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओली स्वयं हजारौं कार्यकर्तालाई भेला गरेर भाषण दिइरहेका छन्, जहाँ उनी नागरिकको स्वास्थ्य सुरक्षाका कुरा गर्न समेत छुटाउँदैनन्। भाषणमा उनी संक्रमणबाट जोगिन भौतिक दूरी कायम गर्नुपर्ने कुरा गर्छन् तर, आफ्नै अगाडि हजारौं कार्यकर्ता ठेलमठेल गरेर बसिरहेको दृश्यमाथि नजरअन्दाज गर्छन्।
प्रतिपक्षी दल होस् या प्रधानमन्त्री ओलीकै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उनीइतर पक्ष, जनस्वास्थ्यमाथि अकल्पनीय रुपमा महंगो पर्न सक्ने यस्तो खेलवाड गर्न सरकारसँगै प्रतिस्पर्धा गरिरहेका छन्। संक्रमणबाट जोगिने स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघनको यो प्रतिस्पर्धामा कसैले जित्ने छैन, बरु महामारीसामु सबैले हार्ने अवस्था आउनेछ। कोरोना संक्रमणको अन्यत्र अवश्यंभावी जस्तै देखिएको दोस्रो लहरले छोप्नेबित्तिकै आम जनजीवन फेरि केही महिनाअघि भोगेकै त्रासदीमा फर्किनुपर्ने हुन सक्छ। बिडम्बना, अहिलेको हाम्रो अवस्था कोरोना संक्रमणको दोस्रो लहर रोक्न होइन, निम्त्याउनेतिर उद्यत भइरहेको देखिन्छ। र, त्यसमा सरकार, दल र नागरिक सबैका क्रियाकलाप उत्तिकै जिम्मेवार देखिन्छन्।
चिकित्सकहरुले बारम्बार चेतावनी दिइरहेका छन्– संक्रमणको जोखिम कम भइसकेको होइन, यसले जुनसुकै बेला पनि लपेट्न सक्ने भएकाले लापरवाही नगरौं। तर, हाम्रा व्यवहार र आनीबानीले त्यस्तो देखाउँदैनन्। आमजनको ठूलो हिस्सा कोरोनामाथि विजय प्राप्त गरे झैं गरी निष्फिक्री बन्न थालेको छ। यसलाई सरकार र दलहरुका ‘लाखौंका सभा र हजारौंका जुलुस गर्ने’ होडबाजीले अझ बढाइदिएको छ।
कतिपयको तर्क छ– कोरोनालाई आवश्यकताभन्दा बढी त्रासका रुपमा चर्चा गरियो। कोरोना संक्रमणको महामारी कहिलेसम्म रहन्छ भन्ने टुंगो छैन। यो अनिश्चितताकै कारण महामारीकै बीच पनि जीवन चलाउनुपर्ने छ। त्यसका लागि दैनिकी सहज बनाउनुको विकल्प छैन। तर, यो अन्योल र अनिश्चयबीच भुल्न नहुने तथ्य के हो भने संक्रमणको जोखिम कम भइनसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पनि उसैगरी पालना गरिरहन जरुरी छ। त्यो नहुँदा संक्रमणको नयाँ चरण कुन विन्दुबाट शुरु हुन्छ र त्यो कुन रफ्तारमा अघि बढ्छ भन्ने आकलन गर्न सकिन्न।
संक्रमणविरुद्ध लड्ने हाम्रा संयन्त्रहरुको हविगत हामीले यसबीचमा देखिसकेका छौं। सिकिस्त बिरामीलाई उपचार गर्न अस्पतालमा ठाउँ अभाव, आइसीयू बेड र भेन्टिलेटरको हाहाकार अनि प्रयोगशालाको सीमितता हाम्रो निकट विगतका तीतो यथार्थ हुन्। संक्रमणको दोस्रो लहर शुरु भयो भने हाम्रो यो अवस्थामा रातारात कुनै चमत्कार हुने छैन। र, अहिले भइरहेको यो लापरवाही हामी आफ्नै र हाम्रा प्रियजनहरुको जीवनमा महंगो पर्न सक्छ।
कोरोना संक्रमणको पहिलो चरणको प्रभाव आकलन गरेर पनि हुनसक्छ, आम मानिसमा अहिले आत्मविश्वास बढेको छ। आत्मविश्वास बढ्नु आफैैंमा नराम्रो होइन, तर बुझ्नुपर्ने के हो भने यो भनेको हाम्रो रोग प्रतिरोधी क्षमता बढेको होइन। प्रतिरोधी क्षमता बढाउनेगरी कोरोनाविरुद्धको खोप अभियान भर्खरै मात्र शुरु भएको छ। जनसंख्याको ठूलो हिस्सामा खोप पुग्यो भने त्यसले संक्रमणको जोखिम कम गर्नेछ, तर त्यतिञ्जेलका लागि स्वास्थ्य मापदण्डको कडाइपूर्वक पालना नै यो महामारीविरुद्ध लड्ने एक मात्र अस्त्र हो। अहिले आमजनमा घटेको कोरोनाको त्रासले भने त्यस्तो देखाउँदैन। सबभन्दा डरलाग्दो अवस्था नै यही हो।
नेपालमा फागुन १९ गतेसम्मको तथ्यांक अनुसार २ लाख ७४ हजार जना कोरोना संक्रमित भए पनि मृत्यु हुनेको संख्या तीन हजार १० मात्र छ। यसलाई कतिपयले कोरोनाको न्यून प्रभाव र हाम्रो ठूलै सफलताका रुपमा समेत अथ्र्याउने गर्छन्। तर, कुल जनसंख्याका आधारमा निकालिने गणितीय आँकडाले देखाउने अनुपातले मात्र कोरोनाको प्रभाव कम देखिएको हो, यसको वियोगान्त पीडा व्यहोरेका व्यक्ति र परिवारमा त्यसको कुनै अर्थ रहन्न। किनभने जसलाई पर्छ, उसले शतप्रतिशत भोग्नुपर्छ। कोरोना भाइरसको पञ्जामा परेर जो मृत्युको मुखैबाट फर्केका छन्, उनीहरुले भोगेको त्रासदी र पीडा क्यालकुलेटरमा नाप्न मिल्दैन। कोरोना भाइरसले छोएपछि बस्नुपर्ने एकान्तवासको सकस र त्यसले निम्त्याएको मानसिक समस्या हाम्रो मानसपटलबाट ओझेल पर्न थाल्नु यसप्रति बढिरहेको लापरवाहीको अर्को कारण हो।
हाम्रो बुझाइमा यो नागरिक र सरकार दुवै बेफिक्री बन्ने होइन, झन् बढी सजगता अपनाएर सामान्य जीवनमा अघि बढ्ने बेला हो। त्यसकारण यो महामारीबाट हुने क्षतिको मापन प्रतिशतमा हेरेर आफूलाई बेपर्वाह बनाइरहेका हामी सबै यो बेला अझ बढी जिम्मेवार बन्नुपर्छ। नागरिकलाई जोगाउने अभिभारा आफूमा निहीत रहेको बताउने सरकार र दलहरुले झन् बढी मनन गर्नुपर्छ– यो बेला नागरिकलाई जोगाउने कि झन् ठूलो विनाश निम्त्याउने ?