आज विश्व मुख स्वास्थ्य दिवस। प्रत्येक वर्ष मार्च २० मा संसारभर मुख स्वास्थ्य दिवस मनाइने गरिएको छ। नेपाल डेन्टल एसोसिएसनको अगुवाइमा नेपालमा पनि यो दिवस मनाउन थालिएको छ।
मुख स्वास्थ्य सेवामा आवद्ध जनशक्ति, व्यवसायी र विधार्थीको संलग्नताबाहेक यो दिवस (मुख स्वास्थ्यको विषयसमेत) न त सरकारको प्राथामिकता छ, न आममानिसको चासो नै। वर्तमान परिस्थितिमा मुख स्वास्थ्यसँग सम्बन्धित प्रश्नले भने कसैलाई अछुतो छाडेको छैन।
सामान्य नागरिकमा मुख स्वास्थ्यसम्बन्धी ज्ञान, सूचना, उपचार सेवाको आवश्कता र त्यसको उपलब्धतामा आकाश-जमिनको खाडल छ। मुखलाई कसरी सफा, स्वस्थ र मजबुत राख्ने भन्ने ज्ञान र चेतनाको अभाव, मुख स्वास्थ्यमा आउने समस्याका पूर्वसंकेतबारे जानकारीको कमी र यसको यथाशीघ्र निवारणको उपायबारे अन्योलले सर्वसाधारणलाई सधैँ पिरोलिरहेको छ।
देशका केही मुख्य सहरबाहेक अन्य ठाउँमा सरकारले दन्त उपचारको सामान्य प्रबन्धसमेत गर्न सकेको छैन। निजी स्तरबाट सञ्चालित मुख स्वास्थ्य सेवा पनि सहरकेन्दित छ। त्यसैले देशको जनसंख्याको मुख्य हिस्साको दन्त स्वस्थ्य स्थिति नाजुक अवस्थामा छ।
मुख स्वास्थ्यको विषय प्राथमिकतामा नपर्दा धेरै मानिसका सामान्य दन्त समस्या कलिलो उमेरमा नै निकै जटिल भइसकेका छन्। उमेर छँदै सबै/धेरै दाँत झरिसकेका (फुकालिसकिएका) हुन्छन्। सामान्य भरेर ठिक हुने दाँत जरैदेखि भर्नुपर्ने तथा निकालेर फाल्नुपर्ने अवस्थामा पुगिसकेको हुन्छ। सामान्य घाउखटिरा आदि जटिल अवस्था र कहिलेकाहीँ क्यान्सरमै पनि परिणत भइसकेको हुन्छ। मुखको संक्रमण फैलिएर नाक, घाँटी, मस्तिक, मुटु, पेटलगायत शरीरका विभिन्न भागमा पुग्ने भएकाले अस्पताल भर्ना हुनुपर्ने, शल्यक्रिया गर्नुपर्ने र ज्यान नै जानेसम्मका जटिलता पनि सामना गर्नुपरिरहेको छ।
यी समस्या प्रतिनिधिमूलक मात्र हुन्। मुख स्वास्थ्यसम्बन्धी सबै समस्याहरुको लेखाजोखा गरिसाध्य छैन। नेपालमा प्रत्येक ५ जनामा ३ जना दाँत दुखाइ, दाँत-मुखको संक्रमण र दाँत नै गुमाउनुपर्ने समस्याबाट ग्रसित छन् भन्ने अनुमान छ। तर नेपालमा यस विषयमा हालसम्म पनि भरपर्दो अध्ययन भएको छैन।
जीवनभर दाँत दुखाइको पीडा सहनुपर्ने बाध्यता नेपालका थुप्रै मानिसलाई छ। 'यसको समाधान छैन, यो दुखाइ सहनैपर्छ' भनेर नियति सम्झने आमाबुवा गाउँ-गाउँमा कति छन् कति। यस्ता समस्यालाई विस्तारै कमी गर्दै नियन्त्रण गर्न नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले नै अग्रसरता लिनुपर्दछ।
आधुनिक खानपान र जीवनशैलीले मुख स्वास्थ्य समस्या राष्ट्रको स्वास्थ्य चुनौतीको बनेको कुरालाई सरकारले आत्मासत गर्नुपर्दछ। मुख स्वास्थ्यको पहुँच र गुणस्तरमा सुधार ल्याउन विद्यालयस्तरको पाठ्यपुस्तकमै सो सम्बन्धी आधारभूत ज्ञानहरु समावेश गरिनुपर्दछ। नागरिकलाई चाहिने दन्त/मुख स्वास्थ्यसम्बन्धी शिक्षा समावेश गर्दा जीवनोपयोगी शिक्षा पनि हुन्छ। विद्यालय तहमा नै यो विषय समावेश गरियो भने दुखाइ खप्नैपर्ने बाध्यता मात्र होइन, दाँतको आयु पनि लामो राख्न मद्दत गर्छ। खप्नै नसक्ने गरी दुख्दा मात्र समस्याका रूपमा मात्र लिने नभएर दाँतको भाग कालो-कालो देखिनु पनि दाँत किराले खानु हो भन्ने बुझ्न र दाँत सफा राख्ने विधि सिक्नका साथै सामान्य समस्यामा पनि दन्त चिकित्सककैमा पुग्नुपर्ने आवश्यकता रहँदैन। सानो उमेरमै बालबालिकालाई दन्त स्वास्थ्यसम्बन्धी ज्ञान भर्नाले उनीहरूको व्यवहारसमेत परिष्कृत भई आफ्नो दन्त सरसफाइमा ध्यान दिने, खानपानमा परिवर्तन गर्ने र नियमित दन्त परीक्षण गराउने आदतको विकास गर्दछ। यसले समग्र जनसंख्याकै मुख स्वास्थ्य स्थितिलाई माथि उठाउँदछ।
सरकारीस्तरबाट दन्त सेवालाई विस्तार गरी सर्वसाधारणको पहुँच विस्तार गर्नु पनि अर्को महत्वपूर्ण हो। अहिलेको परिस्थितिमा नागरिकले दन्त उपचार सेवा आफ्नै जिल्लाबाट पाउने अवस्था छैन। मुख्य सहर वा राजधानी नै धाउनुपर्ने बाध्यता हट्न अझै कति समय कुर्नुपर्ने यकिन छैन। विपन्न नागरिकलाई आर्थिक अभावका कारण यसरी सेवा उपभोग गर्न नसक्दा पीडा भोगेर बच्नुको विकल्प छैन। त्यसैले प्रत्येक जिल्लामा कम्तीमा २ जना स्थायी दन्त चिकत्सक, आवश्यक दन्त सहायकको दरबन्दी सिर्जना गरी सम्पूर्ण भौतिक र प्राविधिक व्यवस्थापन गर्नसमेत विलम्ब गरिनु हुँदैन। विपन्न नागरिकका लागि बिमामार्फत् समेत दन्त सेवालाई उपलब्ध गराउने सुनिश्चितता गरिनु पर्दछ।
समस्या सेवाग्राही नागरिकको मात्र हैन, वर्षौं खटेर दन्त चिकित्सा अध्ययन गरेका नेपालका दक्ष जनशक्तिमा पनि छ। दन्त स्वास्थ्यका जनशक्तिको आवश्यकता र व्यवस्थापनको प्रष्ट प्रक्षेपण र खाका बिना नै व्यापारिक अभिप्रायले मात्र वार्षिक सयौँ दन्त चिकित्सक र दन्त सहायक उत्पादन भइरहेका छन्। उनीहरुको व्यवस्थापन नभएकाले कतिपय बेरोजगार छन् भने कतिपय न्यून तलबमा काम गर्न बाध्य छन्।
सरकारीस्तरमा दरबन्दी सिर्जना गरी स्थानीय तहमा दन्त चिकित्सक पठाउने व्यवस्था नहुँदा धेरै जनशक्ति सहरकेन्द्रित छ। यसले रोजगारीको समस्या पनि सिर्जना गरेको मात्र छैन, नागरिकहरूको स्वास्थ्य सेवा पाउने हकसमेत खुम्चिएको छ।
मन नै खिन्न पारेर भन्नुपर्ने हुन्छ, उत्पादन भैरहेका जनशक्तिलाई पनि आवश्यक दक्षता, ज्ञान र सिपले पूर्ण गर्न सकिएको छैन। पढाउने गुरुहरूलाई यो विषयले झन् कति मन पोल्दो हो? आवश्यक पूर्वाधारको अभावमा आफूले जानेको सबै कुरा आफ्ना शिष्यलाई बाड्न नपाउने अवस्था पनि छ। विधार्थीले आफै बिरामी खोजेर ल्याएर सिक्नुपर्ने शिक्षा प्रणाली हामीले बसालेका छौँ, त्यो व्यवस्था समग्र दन्त स्वास्थ्य प्रणालीकै लागि घातक सावित हुन सक्छ। मेडिकल कलेज संचालन गरेर पैसा असुल गर्ने व्यवसायीलाई भने यो अवस्थाले खुशी दिएकै होला कि!
अन्तिममा निकै महत्वपूर्ण विषय भनेको नियामक निकायमार्फत दन्त सेवा प्रदायकको नियन्त्रण र व्यवथापनको अभाव हो। जनस्वास्थ्य कार्यालय र सम्बन्धित मन्त्रालयसँग मिलोमतोमा र राजनीतिक पहुँचका आधारमा चिया पसलझैँ मापदण्ड नपुर्याई र दक्ष जनशक्तिको अभावमै दन्त क्लिनिक खुल्नु र संचालन हुनुले दन्त जनस्वास्थ्यमा भएको खेलबाडलाई नजरअन्दाज गर्न मिल्दैन।
यही चैत्र महिनामा नेपाल डेन्टल एसोसिएसन केन्द्रीय कमिटीको निर्वाचनसमेत हुन गइरहेको छ। नयाँ आउने कार्यसमितिको नेतृत्व, राज्य र जनस्तरबाट माथि चित्रित समस्याहरुलाई न्यायपूर्ण हिसाबले सम्बोधन गर्नुहुनेछ र नेपालको दन्त शिक्षा र स्वास्थ्य सेवा नयाँ उचाइमा पुग्नेछ भन्ने आशा राख्दै विश्व मुख स्वास्थ्य दिवसको शुभकामना।
(डा नेपाली धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्।)