काठमाडौं- ‘शून्य औलोको लक्ष्यमा पुग्दैछौं’ भन्ने नाराका साथ आज विश्व औलो दिवस मनाइदै छ।
औलो रोग एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट एक मानिसबाट अर्को मानिसमा सर्ने सरुवा रोग हो। एनोफिलिज जातको दुषित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा लामखुट्टेको र्यालसँगै औलोका परजीवीहरु मानिसको रगतमा जान्छन् र मानिसलाइ औलो रोग सर्दछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले शुभकामना सन्देश जारी गर्दै सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउन सफल भएको बताएका छन्। उनले विगत दुईवर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफलता प्राप्त भएको उल्लेख गरेका छन्।
स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना महामारीसँग जधिरहेको अवस्थामा औलो जस्ता रोगहरुको नियन्त्रणमा समेत सरकारले उत्तिकै गम्भीरतापूर्वक काम गनुपर्ने आवश्यकता रहेको बताएका छन्।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० मा औलो रोगलाई अन्त्य गर्नुपर्ने लक्ष्य रहेपनि नेपालले सन् २०२५ मा नै औलो रोगलाई निवारण गर्नेगरी नीतिगत,संस्थागत र कार्यक्रमगत प्रयासहरु गरिरहेको मन्त्री त्रिपाठीको भनाइ छ।
उनले कोरोना महामारीले जनसमुदायको स्वास्थ्य तथा जनजीवनमा नकारात्मक प्रभाव पारिरहेको र औलाको जोखिममा रहेका समूहहरुलाई झनै प्रभाव पारेको बताए।
राज्यले कोरोना विरुद्धको लडाईमा राज्यको शक्ति तथा साधनस्रोत उपयोग गर्नुपर्ने अनिवार्यता भएको भन्दै मन्त्री त्रिपाठीले औलो निवारणका लक्षित उपलब्धि हासिल गर्न चुनौती खडा भएको समेत बताएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा औलोका बिरामी ६१९ जना थिए। ती मध्ये ५१७ जना आयातित बिरामी थिए।
यस्तै प्लाजमोडियम भाइभेक्स बिरामीको संख्या ५६३ थियो। यस्तै प्लाजमोडियम फाल्सीफरम बिरामीको संख्या ५६ जना रहेको थियो ।
औलो रोग निवारणका लागि सरकारले स्वास्थ्यसंस्थाहरु मार्फत औलोका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको छ।
नेपालमा आयातित औलो बिरामीको संख्या तुलनात्मक रुपमा वृद्धि हुनु नेपालका लागि औलो रोग निवारणको चुनौतीपूर्ण अवस्था रहेको महाशाखाले जनाएको छ।
यस्तै कीटनाशकयुक्त झुल वितरण तथा विषादी छिड्काउ कार्यक्रम पर्याप्त मात्रामा नहुनु,जनसेचतनाको कमी, जलवायु परिवर्तनको प्रभाव लगायतका विभिन्न कारणले औलो रोग निवारणमा चुनौती रहेको जनाइएको छ ।