कोरोना महामारीको दोस्रो लहरबाट देश आक्रान्त छ। जुन गतिमा कोरोनाको दोस्रो कहर आयो कसैलाई हेक्कै भएन। लापरवाही तथा हाँसिमजाकमै मनिसमा कोरोनाको संक्रमण ह्वातै बढन थाल्यो। मानिसको ज्यान जान थाल्यो। अनि बिरामीले अस्पतालमा शय्या पाउन छाडे।
एक किसिमको चित्कार अनि पीडादायक क्षणमा समाज गयो। दैनिक हजारौंको संख्यामा मानिस संक्रमित हुन थाले। हाम्रो लापरवाही रोकिएन। हामी आफनो कर्ममा मस्त रहयौं। जात्रा मनाउन छोडेनौं। तीर्थाटन गर्न छोडेनौं। विवाह, पूजा, भोज गर्न छाडेनौं। बिना मास्क निर्वाद हिँड्न छोडेनौं।
आज परिणाम हाम्रो सामु छ। यातायात व्यवस्थीत भएनन्। पर्यटकलाई चेकजाँच भएन। यतिसम्मकी पिसिआरको परीक्षणनै नगरी नेगेटिभ रिपोट दियौं अनि समाजलाई कोरोनाको भंगालोमा हाल्दै गयौं।
सभा सम्मलेनमा व्यस्त रहयौं। विरोध सभा अनि शक्ति प्रदर्शन अनेकौं गर्यौं। हामीले सोच्यौं कोरोनालाई हामीले पराश्त गर्यौं। तर परिणाम आज हामीसामु छ। लापरवाहीको पराकाष्ठा नाघे पछि आजको अवस्था आउनुनै थियो। भारतको खुल्ला नाका व्यवस्थीत गराउन कसैको चासो गएन। विदेशको ट्रान्जीट नेपाल बनाउँदा कसैको ध्यान गएन। विदेशी खुलेआम नेपाल आउने, निर्वाद शहरको रमण गर्ने तर हामी नेपाली बिना मस्क हिँडने, सोच्ने हामीले कोरोनालाई जिती सक्यौं। राजनितीले सडक तात्यो , सदन तात्यो, सरकार गिराउने अनेकौं वितण्डा भए। गुठबन्दी भयो। घेराबन्दी भए। विकासका कार्य देखाउने समय यहि भयो तर राजनीतिको केन्द्रमा जनता भएनन मात्र सत्ता भयो।
कोरोना महामारीबाट जनतालाई कसरी बचाउने भन्ने त्यस बारेमा सर्वदलिय छलफल भएन। छलफल भए त केवल सत्ताका लागि अनि कसले प्रधानमन्त्री तथा मन्त्री पद पड्काउने अनि सरकार गिराउने। भारतबाट अनुदानमा खोप आयो। चीनबाट खोप आयो। केहि खरिद गरिए थप खोप ल्याउन सबै राज्य संयन्त्र, सबै पार्टी तथा संघ संस्था लाग्नुपर्नेमा तथा जनतालाई धेरैभन्दा धेरैले खोप लगाउन भन्ने कुरामा अभिमुखिकरण गर्ने प्रेरणा दिने हौसला दिने कार्य कुनै दलले गरेनन। केवल मात्र सत्ताको लालसामा खेल भयो, झेल भयो। कोरोनाको पहिलो कहर केही कम भए पश्चात के कति शय्य थपिए। कति भेन्टिलेटर थपियो। कति अक्सिजन पलान्ट थपिए वा यस कार्यमा कस–कसले पहल गरो यो महत्वपूर्ण कुरा हो। इतिहासले यो कालखण्डलाई दर्ज गरेको छ तथा राम्रोसँग मुल्यांकन गर्ला। जनता मरेको कसैलाई मतलब छैन। शश्या नपाएर जनता छटपटाएको कसैले आभाशसम्म गरेका छैनन। अहिले सघन कक्षको त परै जाओस बिरामीले साधारण वेड पाएका छैनन। हाहाकार छ। समाजमा प्रकिृयामा अल्झेर तथा सत्ताको खेलमा बस्ने समय यो पक्कै होइन। यो समय सरकार परिर्वतन गर्ने खेलमा लाग्ने समय पनि होइन , जनताको जीवन रक्षाका लागि सबै लाग्नुपर्ने होइन? सबैको उत्तिकै उत्तरदायित्व छैन? जनताले तिरेको कर खाएका नेता नै होइन सबै जना तर खै त नुनको सोझो गरेको नेताहरुले, जनता मर्दा टुलुटुलु मुखदर्शक हुन सुहाउँछ? यो गम्भीर प्रश्नको उत्तर चाहिएको छ।
जनताको जीवन बचाउने कर्तव्यबाट सत्ता पक्ष न त प्रतिपक्ष कोही पनि भाग्न मिल्दैन। सर्वदलिय संयन्त्र बनाएर काम गर्ने यो बेला होइन? भष्ट्राचार भयो भने खै त रोक्नलाई केही कदम लिएको प्रतिपक्षका दलहरुले? मानिसको जीवन रक्षा गर्ने कुरामा खेलवाड गर्ने छुट कसैलाई पनि छैन। यसता करतुत क्षम्य हुँदैनन। जनता मृत्युको शश्यामा छ खोप ल्याएको कमिशन चाहिने कति सम्मको निलज्र्जताको प्रदर्शन हो। बजारमा अक्सिजनको चरम अभाव छ उद्योगी सामान्य मानवीय व्यवहार भुलेर बस्छन। कलिको अन्त्य आएको त होइन। मानिसमा दया, क्षमा, माया, मानवता भन्ने गुण के भईरहेको छ। यति सम्म स्वार्थी बन्न मिल्छ? संकटको बेला एकले अर्कालाई बचाउन लाग्नुपर्ने होइन? यो बेला कोही विदेशी आउनेवाला छैनन सबै पिडित छन हामी आफै जुटने बेला हो यो।
सरकारले मास्क लगाउन कैयन आग्रह गर्यो। तर हामी विन्दास हिड्यौं। आज पीडामा स्वास्थ्यकर्मी छन। सबैलाई घरबाट बाहिर जान डर भएको अवस्था छ तर एउटा यसतो पेशाकर्मी छ जसलाई घर जान डर लागि रहेको छ। मेरो कारणले मेरो परिवारलाई केही हुने हो कि भन्ने पीडा मनको कुनामा लुकाएर मानव सेवामा अहोरात्र खटेको छ। आफनो ज्यानको ख्याल नगरी युद्ध मैदानमा भिडेको छ। न शश्या छ, न औजार छ तर पनि आँगनमा भुईमा सुताएर बिरामीको उपचार गरिरहेको छ। यी लडकालाई हौसला खै? सत्ताकै मोहमा डुब्ने, जनतालाई मर्न छोडी दिने भोली भोट हाल्ने निरिह जनता त यिनै हुन नेताहरुले बुझे गज्जव हुने थियो।
कोभिड महामारीमा प्राणवायु अक्सिजनको नियमन आवश्यक छ। उद्योगले प्रयोग गर्ने अक्सिजनलाई बन्द गरेर अस्पतालमा मात्र प्रयोग केन्द्रित गरिनु आजको माग हो। तर अस्पतालले अक्सिजन सिलिन्डर लिन सिफारिस लिनुपर्नेले झनझट थपेको छ। यो निर्णय अव्यवहारिक छ। अस्पतालले आवश्यक अक्सिजन सप्लार्यसलाई फोन गरेर मगाउथे। अब एक जना कर्मचारीलाई सिफारिस लिन पठाउने, लाइन बसेर सिफारिस लिने अनि त्यो सिफारिस लिएर अक्सिजन सप्लार्यसकोमा जाने अनि त्यहाबाट कहिले अक्सिजन आउने। यसले बिरामीको उपचार गर्ने अस्पतालले बिरामी भर्ना गर्न छोडछन। स्थिती झन भयावह हुन्छ। मान्छे मार्नु बाहेक बिकल्प रहनेछैन। बिरामीले बेड नपाएको अवस्था छ। प्रकिया झनझटिलो बनाएर बिरामीले उपचार सहज पाउँदैनन सबैले बुझौं। भटाभट बिरामी नलिने विज्ञप्ती निस्कन थालेको छ। स्थितीलाई जटिलता उन्मुख नबनाऔं। माग अनुसार सिफारिस नपाएको कुरा नि सुनिन्दैछ। बिना अक्सिजन अस्पतालले सेवा दिन सक्दैन। सरोकारवालाले नियमनको नाममा झन्झट थपेको छ।
अहिले कोभिड बिरामीको उपचारमा निजि तथा सरकारी सबै संस्था लागेका छन। केहीले कमाउ धन्दा अप्नाएका छन। केहीले नाफा कमाउने अवसर लिएका छन केहीले संस्था चलाउने यन्त्र बुझेका छन। जसले जसरी अनि जे उदेश्यले गरेता पनि कोरोना संक्रमितले उपचार पाएका थिए। अब अक्सिजनमा कसी लगाएर बिरामी बाटोमै मर्न छोडिदिने? अस्पतालमम शश्या हुनेछ तर बिरामी अस्पताल के गेटमा ज्यान गुमाउने छन अनि अस्पताल लाचार मात्र हुनेछ। सेनालाई हतियार दिने अनि गोलीमा अंकुश लगाउने यो तरिकाले अस्पताल तथा स्वास्थ्यकर्मीले कसरी काम गर्ने कसरी कोरोना विरुद्ध लडने ?
पाँच सात हजार पर्ने रेमडिसिभिरलाई लाखौंमा कारोबार गरिन्छ। मास्क,ग्लोभ्सको कालोबजारी गरिन्छ। ए नेपाली मनुवा हो मरेर लाने केही होइन। सबै जाने बाटो एउटै हो किन नबुझेको हो। कोरोनाले धनी , गरिव, पाको, तन्नेरी केही भनेको छैन। मानवता पनि त हेरौं यो संकटमा। हामी कति लाचार हुने रहेछौं अनि कति स्वार्थी रहेछौं अहिले देखिदैछ। जनताको पक्षमा न कोही बोल्ने रहेछन न कसैको आवाज बुलन्द हुने रहेछ। अनवरत लागि रहेछ केवल स्वास्थ्यकर्मी कोभिड महामारीबाट जनमानसलाई बचाउन प्रयत्नमा अहोरात्र अनि तिनै स्वास्थ्यकर्मीले भत्ता नपाएको समचार सुनिन्छ।
नियमनकारी निकाय पनि खटेको देखिन्छ तर परिणाममुखी नभएको प्रतित हुन्छ। यो संकटमा सबै सरकारी अस्पतालका अन्य सेवा बन्द गराएर कोभिडको उपचार दिने ततपश्चात शिक्षण अस्पतालका सबै शश्या कोभिडको लागि प्रयोगमा ल्याएर बिरामी बचाउनुपर्ने होइन? शय्या नपाएर बिरामी मर्दैछ, अक्सिजन नपाएर बिरामी छटपटाइरहेको छ। यो संकटमा आवश्यक निर्णय लिन किन कन्जुस्याई हो। यो बेला स्वास्थ्य संकटकाल लगाएर अन्य रोगभन्दा महत्वपूर्ण कोभिडबाट जनता बचाउनु आवश्यक छ।
जनतामा त्रासको संचार भएको छ। कोभिड हुन असम्भव अस्पताललाई अन्य रोगको सेवा गर्न अग्रसर गराएर शिक्षण अस्पतालको सबै शश्या नभएमा ठूला निजी अस्पतालका सबै शश्या सरकारले नियन्त्रणमा लिएर बिरामीको उपचार आजको आवश्यकता हो।
अक्सिजन नियत्रणमा लिएर स्थिती झन भयावह बन्ने छ। सरकारले अस्पतालको बेड नियन्त्रणमा लियोस्। आफना नागरिकको ज्यान जोगाउनका लागि अनि उपचार दियोस। यही कक्षुवा गति मा कार्य गर्ने हो भने दिनमा २५००० भन्दा बढि संक्रमित तथा ५०० भन्दा बढि मानिसको मृत्यु हुनसक्छ। कोरोना खरायो गतिमा छ अनि हाम्रा नियन्त्रणका प्रयास कछुवा गतिमा बढेको छ।
यस समस्यासंग जुध्न सरकार तथा स्थानिय प्रशासन आफनो सक्दो प्रयासमा होमिएको छ। तर सरकारको एकल प्रयासबाट यो समस्याको समाधान सम्भव छैन। यसमा हामी सबैको समुहिक सहभागिता तथा उतरदायित्व जरुरी छ। सामाजिक दुरनै यो समस्यासंग जुध्ने एक मात्र संजिवनी बुटिको रुपमा अहिले देखिएको छ।
सकभर बाहिर ननिस्कने, अतिआवश्यक कामले निस्कनु परेमा माक्सको प्रयोग गर्ने तथा समय समयमा हात धुने, सेनिटाइजर प्रयोग गर्ने साथै हातले मुख, नाक तथा आँखा नछुने तरिका नै यो रोगसंग लडने उपायको रुपमा लिइएको छ। विदेशबाट आएका मानिससंग सम्पर्कमा नजाने, संक्रमण शंका भएकाको सम्पर्कमा गइएमा अति नै सावधानी अप्नाउने तथा आइशोलनमा बस्ने तथा उपचार गर्नतर्फ अग्रसर हुनु जरुरी छ।
नेपालमा अहिले अधिकांश अस्पतालले स्वस्थ्यजन्य फोहोरको व्यवस्थापनलाई कम प्रथमिकतामा राखेको पाइन्छ। निजी अस्पताल तथा अधिकांश सरकारी अस्पतालको फोहोर बिना कुनै प्रशोधन स्थानिय फोहोर संकलनकर्ता मार्फत फोहोर विर्सजन गर्ने गरिएको छ। अस्पतालबाट उत्पादन हुने फोहोर हानिकारक प्रकृतिका हुन्छन। रोगीको सम्पर्कबाट उत्पादन हुने फोहोरलाई बिना कुनै प्रशोधन जथाभावी फालिनुले यसले समुदायमा रोग फैलाउने कुरालाई गम्भीरताका साथ लिइएको पाइन्दैन।
स्वस्थ्यसंस्था उपचार गर्ने स्रोत भएता पनि यसबाट निस्कने फोहोरले समुदायमा पुनः फोहोर उत्पादन गर्ने गरेको छ। उपचारको चक्रिय सिदान्त कायम भएझै फोहोरको जथाभावी व्यवस्थापनले मानव बिरामी पर्नु, अस्पतालमा गएर उपचार गर्नु अनि फेरी फोहोर उत्पादन हुनु त्यो फोहोरले पुनः मानिसलाई बिरामी बनाउने चक्र चलिरहेको छ। नेपाल सरकारले ऐन तथा निर्देशिका मा फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने तवर तरिका स्पष्ट निर्दिष्ट गरेको छ साथै दण्ड जरिवानाको समेत व्यवस्था गरेको छ तर यसको प्रभावकारी कार्यन्वयन भएको छैन।
केन्द्रका केही अस्पताल तथा प्रदेशका केही औलाले गन्न मिल्ने अस्पतालबाहेकका अस्पतालले अस्पतालका अतिजोखिमयुक्त मानव शाल नाल अंग आफनो भवनको छत वा कुनै कुनामा जलाउने गरेका छन वा स्थानीय संकलनकर्तालाई दिने गरेको पाईएको छ। स्वस्थ्यजन्य फोहोरलाई जलाउदा त्यसबाट हानिकारक ग्याँस उत्पादन हुने कुरा विश्व स्वस्थ्य संगठनले व्याख्या गरेको छ।
फोहोरको सही पृथकीकरण गरी वैज्ञानिक तवरले ढुवानी गरेर प्रशोधन पश्चात अधिकांश फोहोर विक्रीबाट अस्पतालले मोहोर कमाउन सक्छ। हानिकारक फोहोर निर्मलीकरण यन्त्रमा १२१ डि.सेल्सेस वा १५ पि.यस.आईमा ३० देखि ४५ मिनेट सम्म पकाए पछि सो फोहोर साधारण फोहोर जस्तो हुनेछ। ती फोहोरलाई छुटाएर भण्डारण गरी विक्री गर्न सकिन्छ। फोहोर व्यवस्थापनमा न त सरकारी अस्पतालको ध्यान गएको छ न त निजि अस्पतालको छ।
सस्तोमा नगरपालिकाको फोहोर संकलकले सबै फोहोर संकलन गरे पश्चात किन अस्पताल स्वयंले यस विषयमा टाउको दुखाउने भन्ने सोच अधिकांश अस्पतालमा रहेको पाइन्छ। केही अस्पतालले अनुगमन आउँदाको निम्ती देखाउनका निम्ती केही कार्य तथा औजार राखेको पाइन्छ तर मापदण्डले निर्देशित कार्य नगरी नगरपालिकाकै फोहोर संकलकका सहयोगमा विर्सजन गरेको देखिन्छ।
अहिले कोरोनाको उपचार संगै कोरोना अनुमान गरिएका वा पुष्टि भएका व्यक्तिको उपचार गरिने अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन अतिआवश्यक तथा अति नै संवेदनशील छ। कोरोना संक्रमितको उपचारबाट निस्कन सबै कुरा अतिनै हानिकारक हुन्छन। स्वस्थ्यजन्य फोहोर व्यवस्थापनमा अस्पतालको कुनै चासो तथा प्राथमिक्ता पाइन्न। निजी अस्पताल झन लाचार छन। तर कोरोनाका बिरामीको उपचार हुने अस्पतालबाट निस्कन फोहोर मैलालाई हल्का रुपमा लिनुहँदैन।
सो फोहोरको माध्ययमबाट कैयनलाई कोरोना संक्रमण हुन सक्ने यथार्थलाई सबैै पक्षले मनन गर्नु साथै सोही अनुसारको सावधानी अप्नाउनु जरुरी छ। करोना बिरामी उपचार हुने अस्पतालका सरसफाईमा काम गर्ने कर्मचारीले समेत सुरक्षा पहिरन पाउनुपर्छ। साथै त्याहाँबाट उत्पादन भएको फोहोरलाई सही तवरले पृथकीकरण गरेर मापदण्ड अनुसार निर्मलीकरण विधिबाट प्रशोधन हुनु जरुरी छ।
बिरामीको टेष्टको लागी लिइएको स्वावलाई १ प्रतिशत सोडियम हाइप्रोकोलोराइडमा डुबाएर मात्र विसर्जन हुनु जरुरी छ। कागज , प्लाष्टिक जसता फोहोरलाई ७२ घण्टासम्म यतिकै राखेर न्याचुरल डाइ अफ प्रसेसबाट कोरोना जीवाणु मरे पश्चात अन्तिम विसर्जन गर्नु आवश्यक छ।
स्वस्थ्यजन्य फोहोरलाई हल्का रुपमा लिँदै जाने हो भने कोरोनाभन्दा मानव सभ्यताको लागी अर्को खतरा भाइरस नआउला भन्न सकिन्न। नियमनकारी निकाय, अस्पतालका संचालक, चिकित्सक तथा कार्यरत सम्पूर्ण कर्मचारी यस प्रति सचेत एवं गम्भीर हुन अतिआवश्यक छ। कोरोना उपचारबाट निस्कने सबै फोहोर हानिकारिक मानेर प्रशोधन नगरी नगरपालिका विर्सजन गरेमा यसबाट समुदायमा कोरोना सहजै फैलन सहयोग पुर्याउनेछ।
अन्तमा: कोरोना महामारी संग लडन नागरिक स्तरमा यसमा सहयोग तथा चनाखो हुनु आवश्यक छ। यस बेला कुनै किसिमको सामाजिक कार्यलाई स्थगन गरी व्यक्तीगत स्वस्थ्य, परिवारको स्वस्थ्य तथा पुरा समाज तथा राष्ट्रको स्वस्थ्यको बारेमा सोच्नु आवश्यक छ। यो लडाई सरकार एक्लैले जित्न सक्दैन।
यो लडाईका सेना स्वस्थ्यकर्मी तथा हामी नागरिक हवौं। भीडभाडमा जाँदा को व्यक्तिलाई कोराना भएको हुन्छ थाहा हुँदैन। त्यस करण हाटबजार तथा अन्य स्थानमा यदि जानुपर्ने हुँदा स्वयं सावधानी अपनाउनु जरुरी छ। आम जनमानिसलाई सुचित गराउने तथा जगरुक गराउने कार्यमा सबै पक्ष अहोरात्र खटिनुपर्छ।
हात धुने तरिका सिकाउने , धेरै भीडभाड हुन नदिन प्रशासन मात्र होइन स्थानिय नेता, कार्यकर्ता सबै लागी पर्नु आवश्यक छ। यो लडाई हाम्रो पक्षमा ल्याउन सबैको समुहिक सहभागिताको जरुरी छ। धनी गरिव, कालोगोरो, हिन्दुमुश्लिम, विकसित अविकसित केही नहेर्ने यो रोगबाट सबैले व्यक्तगत दुरी कायम गरेर, समय समयमा हात धोएर वा सेनिटाइजर लगाएर आफु आफनो परिवार , समाज अनि राष्ट्र सबैलाई बचाऊँ।