यो लेखको उद्देश्य डाक्टर बन्न हतोत्साही गर्ने होइन। तर, पढ्नुअघि वा डाक्टर बनेर हतोत्साही हुनुअघि आवश्यक जानकारी हो।
चिकित्सा शिक्षा आयोगद्वारा संचालित मेडिकल प्रवेश एकीकृत परीक्षाको हालै प्रकाशित परिणामअनुसार लगभग चार हजार ३०० जना एमबीबीएस र एक हजार ८०० जना बीडीएस उत्तीर्ण भएका छन्। यो तथ्यांकबाट हामीले सजिलै बुझ्नसक्छौँ कि विद्यार्थीहरु डाक्टर बन्ने कठिन प्रतिश्पर्धामा छन्। अभिभावक पनि आफ्ना सन्तानलाई डाक्टर नै बनाउने होडबाजीमा छन्।
तर, डाक्टर बन्न थोरैले मात्र छात्रवृत्ति पाउँछन्। धेरैले त पैसा खर्च गरेरै पढ्नुपर्छ। थोरै लगानीमा पढाइ पूरा हुँदैन। एक जनाको लागि कम्तीमा ५० लाख रुपैयाँ खर्च गर्नुपर्छ। त्यसपछि फेरि विशेषज्ञता हासिल गर्न एमडी पढ्नुपर्यो। एमडी पढ्न छात्रवृत्ति कोटा सीमित मात्र हुन्छ। छात्रवृत्ति नपाए कम्तीमा २५ लाख रुपैयाँ खर्च गर्नुपर्छ।
एमबीबीएसमा छात्रवृत्ति पाएकाहरुबाट पनि हुँदैनभएका अनेक शीर्षकमा मेडिकल कलेजहरुले पैसा असुल्छन्। त्यस्तो अनधिकृत पैसा नदिए परीक्षामा सामेल हुन दिइँदैन। यस्ता समाचार बेलाबेला सार्वजनिक भएकै छन्।
मेडिकल कलेज व्यवसायप्रति आकर्षित हुनेको सूचीले नै यसका व्यथितिको जानकारी दिन्छ। यसमा व्यापारी, राजनीतिकर्मीदेखि माफियाहरुको लगानी छ। तिनीहरुको ध्यान विद्यार्थीको पढाइमा हुँदैन। देशका लागि दक्ष डाक्टर उत्पादन उनीहरुको प्राथमिकता हुँदै होइन। न त बिरामीलाई सस्तोमा गुणस्तरीय उपचार दिनु नै उनीहरुको उद्देश्य हो। ती नाफामुखी मात्र हुँदा त्यसको मारमा विद्यार्थी र अभिभावकमा पर्ने गरेको छ।
यही कारण पीडित विद्यार्थीहरु बेलाबेला मेडिकल कलेज संचालकविरुद्ध आन्दोलनमा उत्रिने गरेका छन्। डा.गोविन्द केसी जस्ता अभियन्ताहरुले आन्दोलन गर्नुपरेको छ। तर, अझै चिकित्सा क्षेत्र सुध्रिएको छैन र सुध्रिनै छाँट पनि देखिएको छैन।
आफ्ना सन्तानलाई डाक्टर बनाउन चाहने कतिपय अभिभावकले त्यसका लागि गर्नुपर्ने खर्च र त्यहाँको बेथितिबारे विचार गरेकै हुँदैनन्। कतिपय परिवारसँग यो सबै खर्च गर्नसक्ने आर्थिक क्षमता हुँदैन। घर–घडेरी नै बेचेर वा चर्को व्याजमा ऋण खोजेर छोराछोरीलाई डाक्टर बनाउनु कति बुद्धिमता होला? के डाक्टर हुनु मात्र जिन्दगीको सफलता हो? यतातिर कमैले मात्र सोच्ने गरेका छन्।
अझ एमबीबीएस पढ्ने विद्यार्थीले बेहोर्नुपर्ने तनावबारे कोही अभिभावकले सोचेकै हुँदैन। पढाइ र पैसाको तनावमा विद्यार्थीको जवानी बित्छ। त्यसरी डाक्टर बनेपछि पाइने सरकारी जागिरबाट कति तलब हुन्छ? त्यतातिर सोच्ने झनै कम छन्।
सरकारले दिने तलब अपर्याप्त हुन्छ भने निजी अस्पतालले नयाँ चिकित्सकको श्रम शोषण गरिरहेका छन्। निजी अस्पतालको व्यवहारले ठूलो धनराशी खर्च गरेर तथा मिहिनेतपूर्वक डाक्टर बनेकाहरुलाई निराशा र तनाव मात्र दिन्छ।
नेपालको परिवेशमा अहिले चिकित्सक बनेर सन्तुष्ट, खुसी र सन्तुलित जीवन बिताउने सोच्नु मृगतृष्णा बराबर हो। आफ्ना सन्तानलाई तपाईं एमबीबीएस पढ्न पठाउँदै हुनुहुन्छ भने तपाईं ‘आधुनिक वनबास’का लागि बिदा गर्दै हुनुहुन्छ।
‘आधुनिक वनबास’ शब्द प्रयोग कतिपय अभिभावकलाई मन नपर्न सक्छ, चित्त दुख्न सक्छ। तर, वास्तविकता बुझ्नुभयो भने पक्कै सहमत हुनुहुन्छ। एउटा विशेषज्ञ चिकित्सक बन्न ‘भगवान राम’ वनबास बसेजति नै समय लाग्छ, अर्थात् कम्तीमा १२ वर्ष।
सबैभन्दा पहिला एमबीबीएस वा बीडीएस पूरा गर्न पाँचदेखि ६ वर्ष लाग्छ। त्यसपछि एक वर्षको कार्यानुभाव चाहिन्छ। एकदेखि दुई वर्ष एमडीको परीक्षा तयारी गर्नुपर्छ। एमडी पढ्न चाहनेका लागि सिट संख्या एकदमै थोरै छ। त्यसैले चाहनेबित्तिकै पढ्न पाइँदैन। अनि, भर्ना गरेपछि एमडीको पढाइ पूरा हुन कम्तीमा तीन वर्ष लाग्छ। अझ ‘सुपर स्पेसलाइजेसन’ गर्ने हो भने डीएम/एमसीएच गर्न थप समय लाग्छ। अनि त, जीवन ‘४० कटेसी रमाउँला’ भन्ने गीत जस्तै हुन्छ।
यही कारण चिकित्सकको सामाजिक जीवन पनि समस्यामा पर्छ। विवाहका लागि समय हुँदैन। विवाह गरे पनि व्यस्तताका कारण सँगै बस्ने, रमाउने वातावरण कम हुन्छ। आर्थिक बोझ थपिँदै जान्छ। यसैले पारिवारिक खटपट हुन्छ।
त्यस कारण डाक्टर हुनुको खुसीबाहेक जीवनमा न केही रमाइलो हुन्छ, न अन्य काम गर्न सकिन्छ। आर्थिक रुपमा पनि सुरक्षित हुइँदैन। त्यसमाथि बिरामी र उनीहरुका आफन्तले गर्ने दुर्व्यवहारका घटना भइरहन्छन्।
मेडिकल अध्ययन र अभ्यास चुनौतीपूर्ण क्षेत्र हो। यहाँ छिरिसकेपछि समय र पैसाको लगानी, पढाइको चाप, समाज र परिवारको आशा, आफ्नो उमेर बढ्दै जाँदा पारिवारिक जीवनको व्यवस्थापन जस्ता कारण कतिपय त विचलित अवस्थामा पुग्छन्। त्यति बेलासम्ममा आफूसँगै स्कुल पढेका साथी अर्को कुनै विषयमा पढाइ सकाएर काममा लागिसकेको हुन्छ। उसको जीवन व्यवस्थित भइसक्छ। यही कारण पनि मेडिकल विद्यार्थी निरास हुने र आत्मविश्वास कमजोर हुने अवस्थामा पुग्छन्।
वास्तवमा डाक्टर नै बन्नुपर्ने सामाजिक होडबाजीका कारण यो क्षेत्रमा आउन नचाहने कतिपयले आफ्नो जिन्दगी ‘खेर फालेका’ छन्। के डाक्टर मात्र इज्जतिलो पेसा हो? डाक्टर मात्र समाजका लागि आवश्यक हुन्छ? अभिभावकले बालबालिकालाई डाक्टर बन्न प्रेरित गर्नु वा दबाब दिनु कतिको जायज हो? यी प्रश्नको उत्तर सहज छन्। तर, हाम्रो समाजले जटिल बनाइरहेको छ।
यथार्थमा, मेडिकल क्षेत्रमा अवसर छ। चिकित्सकलाई दिइने सम्मान पनि छ। तर, यी दुवै कुरा अन्य पेसामा पनि छन्। मुलतः रुची, आर्थिक क्षमता र योग्यताका आधारमा आफू जाने क्षेत्र छनौट गर्नुपर्छ।
हाम्रो देशमा हजारौं बिरामीको अनुपातमा केही डाक्टरले काम गर्नुपर्ने अवस्था छ। त्यसैले देशलाई धेरै चिकित्सकहरुको आवश्यकता छ। तर, केन्द्रको अस्पतालमा मात्र बस्ने, गाउँ र विकट क्षेत्रमा सेवा दिन जान हिच्किचाउने प्रवृतिमा सुधार ल्याउनुपर्छ। अनि सरकारी जागिरमा दिइने तलब–सुबिधामा पनि पुनर्विचार हुनुपर्छ। निजी अस्पतालमा भइरहेको श्रम–शोषणको नियन्त्रण र नियमन हुन जरुरी छ। खुशी र सन्तुलित जीवन बाँच्नसक्ने राम्रो माहोल बन्न सके मेडिकल क्षेत्रमा लागेकाहरु निराश हुनुपर्ने अवस्था हुँदैन।
मुख्यतः अहिले एमबीबीएस वा बीडीएस पढ्ने तयारी गरिरहेका विद्यार्थी र उनीहरुका अभिभावकले यो क्षेत्रका चुनौती सुरुमै बुझ्न जरुरी छ। यहाँभित्रका विकृति मात्र होइन समस्या र चुनौतीहरु पनि बुझेर मात्र डाक्टर बन्ने सपना बोके भविष्यमा निराश बन्नुपर्दैन। सामाजिक होडबाजी र साथीभाइको लहैलहैमा लागेर मेडिकल पढ्न थाल्दा सफलता हात पर्दैन। यो विषय अभिभावक र विद्यार्थी दुवैले बुझ्नै पर्छ।
–लेखक बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सका एमडी रेसिडेन्ट हुन्।