स्वास्थ्य भनेको केवल रोग नलाग्नु मात्र होइन, जीवनको आधार हो। स्वस्थ नागरिक मात्र समाज र राष्ट्रको विकासको वास्तविक चालक बन्न सक्छन्। तर नेपाल जस्तो भौगोलिक रूपमा विविध, ग्रामीण र शहरी भेगमा सेवा असमान रहेको देशमा स्वास्थ्यको पहुँच अझै चुनौतीपूर्ण छ। यसैले नेपालले बनाउने स्वास्थ्य नीति केवल कागजमा सीमित हुनु हुँदैन; यो जनताको जीवनसँग प्रत्यक्ष जोडिएको, समावेशी र भविष्यदर्शी हुनुपर्छ।
नेपालमा धेरै मानिस अझै गाउँ-दराजमा बस्छन्, जहाँ स्वास्थ्य सेवा पहुँच पाउन कठिन छ। त्यहाँ गुणस्तरीय स्वास्थ्य चौकी, आधारभूत औषधि र प्रशिक्षित स्वास्थ्यकर्मीको कमी छ। स्वस्थ्य नीति यही वास्तविकतालाई ध्यानमा राखेर बनाइनुपर्छ। यसले मात्र ग्रामीण क्षेत्रमा जन्मिएका बच्चा, गर्भवती आमा र वृद्ध नागरिकलाई गुणस्तरीय सेवा पुर्याउन सकिन्छ। समुदाय स्तरमा स्वास्थ्य स्वयंसेवीलाई तालिम, प्रोत्साहन र आवश्यक संसाधन उपलब्ध गराएर उनीहरूको भूमिका बलियो बनाउनु पनि अत्यावश्यक छ।
सिर्फ उपचारमा केन्द्रित नीति पर्याप्त हुँदैन। डिजिटल स्वास्थ्य सेवा, टेलिमेडिसिन, इलेक्ट्रोनिक हेल्थ रेकर्ड जस्ता प्रविधिको प्रयोगले दूरदराजका बस्तीमा पनि गुणस्तरीय सेवा पुर्याउन सक्छ। यसले शहरी–ग्रामीण बीचको असमानता घटाउँछ र स्वास्थ्य प्रणालीलाई दिगो बनाउँछ।
स्वास्थ्य बीमा कार्यक्रम सुधारबिना पूर्ण स्वास्थ्य पहुँच सम्भव छैन। गरीब, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र शिशुका लागि बीमा प्रणाली प्रभावकारी, छिटो र पारदर्शी हुनुपर्छ। यसले परिवारलाई आर्थिक भारबाट बचाउँछ र उपचार सहज बनाउँछ।
रोकथाममुखी स्वास्थ्य नीति अझै महत्वपूर्ण छ। स्कूल र समुदायमा स्वास्थ्य शिक्षा, पोषण सुधार, सरसफाइ र रोग रोकथाम कार्यक्रमले दीर्घकालीन रूपमा रोगको बोझ कम गर्छ। कोभिड-१९ जस्ता महामारीले हामीलाई सिकायो कि तयारी र पूर्वाधार नभएको स्वास्थ्य प्रणाली संकटमा पर्छ। भविष्यको नीति महामारी र आपतकालीन स्वास्थ्य व्यवस्थापनमा सक्षम हुनुपर्छ।
मानसिक स्वास्थ्यलाई पनि अब प्राथमिकता दिनुपर्छ। आत्महत्या दर बढ्दै गएको, तनाव र डिप्रेशन जस्ता समस्या व्यापक रहेको नेपालको सन्दर्भमा प्रत्येक अस्पताल, विद्यालय र गाउँमा परामर्श सेवा र मानसिक स्वास्थ्य कार्यक्रम हुनु आवश्यक छ।
मानव संसाधन विकास, सुशासन, पारदर्शिता र जनसहभागिता बिना कुनै नीति सफल हुँदैन। स्वास्थ्यकर्मीलाई तालिम, ग्रामीण क्षेत्रमा प्रोत्साहन र प्रविधिमा दक्ष बनाउने व्यवस्था गर्नुपर्छ। भ्रष्टाचार र अनियमितता रोक्न डिजिटल प्रणाली, हेल्पलाइन र अनुगमन संरचना आवश्यक छन्। साथै सबै जाति, समुदाय, लिंग र सामाजिक वर्गलाई समान सेवा उपलब्ध गराउनु स्वास्थ्य नीतिको मूल उद्देश्य हुनुपर्छ।
अन्ततः, नेपालका लागि स्वास्थ्य नीति सरल, जनमैत्री, प्रविधिमैत्री, रोकथाममुखी र समावेशी हुनु आवश्यक छ। यसले मात्र स्वस्थ नागरिक, समृद्ध समाज र दिगो राष्ट्र सुनिश्चित गर्न सकिन्छ। स्वास्थ्यमा लगानी राष्ट्रको भविष्यमा गरिएको सबैभन्दा बुद्धिमानी र दीर्घकालीन लगानी हो।
(लेखक कमल कालाखेती हाल स्वास्थ्य कार्यालय इलाम मा बागमती सेबा समाज द्वारा संचालित राष्टिय क्षयरोग कार्यक्रमको जिल्ला कार्यक्रम संयोजक हुन् ।)