काठमाडौं- वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्त यस वर्षको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’बाट सम्मानित भएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले फङ्सनल न्युरोसर्जरी, आधुनिक स्नायु–चिकित्सा तथा नवप्रवर्तनशील उपचार प्रविधिको विकासमा डा. पन्तले गरेको उल्लेखनीय योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरेको हो।
डा. पन्त माइतीघरस्थित अन्नपूर्ण न्युरोलोजिकल एलायन्स साइन्सेजमा कार्यरत छन्। उनीलाई प्रदान गरिएको पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ।
शनिबार आयोजित समारोहमा पुरस्कार ग्रहण गरेपछि उनले प्राप्त रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा पनि गरेका छन्।
उनीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सम्मानित गरेका थिए। पुरस्कार हस्तान्तरण प्रतिष्ठानको ४३औँ वार्षिकोत्सव समारोहकै अवसर पारेर गरिएको हो।
उक्त अवसरमा प्रतिष्ठानले अन्य व्यक्तित्व तथा संस्थाहरूसमेतलाई विभिन्न विधामा सम्मानित गरेको थियो।
चिकित्सा विज्ञानतर्फ प्रा.डा. सुनिल प्रधान पुरस्कृत भए भने विज्ञान तथा प्रविधि पुरस्कार प्रा.डा. सुवोध शर्मालाई प्रदान गरियो।
विज्ञान पुरस्कार डा. रमेशराज पन्तले हासिल गरे।
यस्तै, काठमाडौँ विश्वविद्यालयका प्रा.डा. सुधन झाले प्रविधि पुरस्कार प्राप्त गरे।
समग्रमा, प्रतिष्ठानले यस वर्ष १३ विधामा २८ जना व्यक्ति तथा संस्थालाई पुरस्कार, सम्मान तथा कदरपत्र प्रदान गरेको जनाएको छ।