काठमाडौं– ‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) सम्मेलन २०२५’ राजधानी काठमाडौंमा सम्पन्न भएको छ। जेरियाट्रिक सोसाइटी अफ नेपाल र एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको संयुक्त आयोजनामा द मल्ल होटल, लेखनाथ मार्गमा एक दिने सम्मेलन भएको हो।
‘फ्रम ओसियन टु द हिमालयजः ट्रान्सफर्मिङ जेरियाट्रिक केयर टुगेदर’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित सम्मेलनमा डिमेन्सिया तथा कग्निसन, जेरियाट्रिक मेडिसिन, मूभमेन्ट डिसअर्डर्स, स्ट्रोक तथा शारीरिक गतिविधि, ज्येष्ठ नागरिक हेरचाह, समुदाय–आधारित जेरियाट्रिक्स, नर्सिङ, लड्ने जोखिम र दुर्बलता (फ्रेल्टी) जस्ता क्षेत्रका प्रस्तुतिकरणहरू समावेश थिए।
नेपालसहित २० भन्दा बढी देशका जेरियाट्रिक विशेषज्ञ, अनुसन्धानकर्ता तथा विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको सम्मेलनमा १५० भन्दा बढी प्रतिनिधिहरू उपस्थित थिए।
प्रधानमन्त्री शुशिला कार्कीले पठाएको शुभकामना सन्देशमा नेपालमा पहिलो पटक आयोजना भएको एपीजीएन सम्मेलनले स्वस्थ र सम्मानजनक बुढ्यौलीको लक्ष्यलाई अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको थियो। उनले ६२ अस्पतालमा जेरियाट्रिक सेवा विस्तार, मानव स्रोत विकास तथा नीतिगत सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरिन्।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले गरेकी थिइन्। उनले नेपालमा ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ्दै गएको बताउँदै जेरियाट्रिक सेवा विस्तार, ज्येष्ठ नागरिक–मैत्री स्वास्थ्य संरचना र समुदाय–आधारित हेरचाह प्रणालीलाई सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।
कार्यक्रमको स्वागत मन्तव्य डा. जगदीश कुमार क्षेत्रीले प्रस्तुत गरे। सो अवसरमा एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कका अध्यक्ष प्रो. लिओन फ्लिकरलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। उद्घाटन सत्र समापन गर्दै जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा. उमेश बोगटीले नेपालले स्वस्थ बुढ्यौलीलाई राष्ट्रिय प्राथमिकता बनाउने प्रतिबद्धता दोहोर्याए।
डिमेन्सिया तथा कग्निसन सत्रमा प्रा. फ्लिकरले डिमेन्सिया बढ्दै जाने संख्या, सेवा योजना र चुनौतीबारे प्रस्तुति दिए। यसै सत्रमा औषधिबिहीन उपचार, आईसीओपीई मोडेल तथा समुदाय–आधारित व्यवहारगत पक्षबारे जानकारी साटासाट गरियो।
जेरियाट्रिक मेडिसिन सत्रमा स्वास्थ्य सेवा विभागकी शाखा प्रमुख कविता अर्यालले नेपाल सरकारका जेरियाट्रिक सेवासम्बन्धी पहल प्रस्तुत गरिन्। अष्ट्रेलियाका प्रा. वासि नागानाथनले न्यून–आय मुलुकमा जेरियाट्रिक मेडिसिन विभाग सञ्चालनका अनुभव साझा गरे। यो सत्रमा अग्रिम हेरचाह योजना, ‘मेडिसिन ३.०’ र जीवनको अन्तिम अवस्थाको हेरचाहसम्बन्धी विषयहरू पनि उठाइएका थिए।
नसारोग सम्बन्धी सत्रमा प्रा. पियु चानले पार्किन्सन्स उपचारका नयाँ प्रविधि प्रस्तुत गरे। स्ट्रोक रिह्याबिलिटेसन, घरमै उपलब्ध जेरियाट्रिक सेवा तथा गोर्खा भूतपूर्व सैनिकमा गरिएको अध्ययनका नतिजासमेत यस सत्रमा समावेश थिए।
सामुदायिक जेरियाट्रिक्स तथा हेरचाह सत्रमा डा. अरविन्द माथुरले पारिवारिक हेरचाहकर्तालाई सहयोग पुर्याउने नवीन उपायबारे बोले। नेपालको सामुदायिक स्वस्थ बुढ्यौली कार्यक्रम, केयर–होम सञ्चालन अनुभव तथा ज्येष्ठमैत्री समुदाय मूल्याङ्कनसम्बन्धी प्रस्तुति पनि गरियो।
अन्तिम सत्र फ्रेल्टी रोकथाममा केन्द्रित थियो, जहाँ प्रा. माउ पिन टानले कम आय भएका मुलुकमा लागू गर्न सकिने उपायबारे प्रस्तुति दिए। आन्तरिक क्षमता, कमजोरी तथा स्वस्थ बुढ्यौलीका अन्य पक्षबारे पनि छलफल भयो।
सम्मेलनले नेपाललाई जेरियाट्रिक सेवा विकास र स्वस्थ बुढ्यौलीका क्षेत्रमा महत्वपूर्ण अग्रगति दिलाएको आयोजकहरूले बताएका छन्। समापन सत्रमा बोल्दै जीएसन अध्यक्ष डा. उमेश बोगटीले वृद्धहरूको सम्मानजनक, सुरक्षित र अर्थपूर्ण जीवनका लागि क्षेत्रीय सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै सम्मेलनले स्वस्थ बुढ्यौली प्रवर्द्धनमा नयाँ ऊर्जा भरेको बताए।