नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरस विरुद्द खोप कार्यक्रम संचालनमा आएको छ। चार हजार चार सय २२ स्थानबाट लक्षित बर्गलाई खोप वितरण गरिएको छ। त्यसमध्ये एक हजार चार सय ३३ खोप केन्द्र हालै मात्र थप गरिएको हो। कोभिड-१९ महामारीले आक्रान्त पारेको बेला खोप उपलब्धताले आशा पलाएको छ। साथै खोप केन्द्रहरु व्यवस्थित नहुँदा यसबाट पनि रोग फैलने हो कि भन्ने आम जनमानसको चासो बनेको छ। खोप वितरणमा चुस्तदुस्त र संक्रमण रहित बनाउनको लागि तपसिलका उपायहरु प्रयोग गर्न सकिन्छ।
१. खोप केन्द्रको विस्तार :
खोप केन्द्रहरु कम भएको हुँदा एकै ठाउँबाट धेरैलाई सेवा प्रधान गर्दा भिड-भाड देखिएको छ। यसलाई उचित स्रोत साधन र जनशक्तिका साथ विस्तार गर्दा भिड-भाड कम हुनुका साथै राम्रो सेवा दिन सकिन्छ।
२. स्थानीय निकाएको उचित प्रयोग
देश संघीयतामा गएदेखि स्थानीय निकाए टोल विकास समिति, वार्ड तह र पालिका गरि विभिन्न जनप्रतिनिधिको माध्यमबाट जनतामा सूचना प्रवाह गर्न सकिन्छ। जसमा:
• खोपको उपलब्धता
• खोप लगाउने समय
• खोप लगाउने वर्ग
• खोप लगाउने स्थान लगायत अन्य अत्यावस्यक सूचनाहरु
(यसको लागि हामीसंग भएको भोटर लिस्ट, पालिकाका सर्वेक्षण, स्कुलको डाटा, स्वास्थ्य स्वयंसेविकासंग भएका सूचना र विधिन्न बिधिबाट सूचना प्राप्त गरि टेलिफोन तथा लोकल मेडियाको माध्यमबाट जानकारी गराउन सकिन्छ)
३. माग र आपूर्ति आंकलन
खोप केन्द्र उचित व्यवस्थापन र वितरणका लागि हामीले खोप वितरण योजना बनाउनु पर्ने हुन्छ। जसमा यदि कुनै ठाउँको लागि एक हजार डोज खोप उपलब्धता छ भने हामीले त्यही अनुसार योजना बनाएर जानु पर्ने हुन्छ। एकमुस्ट रुपमा सम्पूर्णलाई जानकारी दिनु भन्दा त्यहाँको तथ्यांक हेरेर सूचना प्रवाह गर्नुपर्ने हुन्छ। जस्तै एउटा वार्डमा तीन हजार जनतालाई खोपको आवश्यकता छ र हामीसँग मात्र एक हजार डोज छ भने वार्डलाई विभिन्न क्लस्टरमा विभाजन गरि (क, ख, ग .... इत्यादी) एक हजारलाई फोन अथवा स्थानीय निकाएको उचित प्रयोग गरि उनीहरुलाई जानकारी दिनु पर्ने हुन्छ। त्यसमा विभिन्न क्लस्टरलाई फरक फरक उपसमुह गराई सम्भावित समय सिमा दिनुपर्छ र सोहि टिममा टिम लिडर तोकी चरण बढ्द रुपमा बोलाउनु पर्दछ र क्लस्टर भित्रपनि टोकन प्रणाली लागू गरी भिड -भाड कम गर्नुपर्दछ।
जस्तै :
क्लस्टर | जम्मा | लगाउने समय र मिति | कैफियत |
“क” | १०० | ६:०० देखि ८:०० बजे बिहान | पिपलटोलका बासिन्दा |
क -१ | २५ | ६:०० देखि ६:३० | टिम लिडर तोकी खोप व्यवस्थापकले निरन्तर सम्पर्क गर्ने |
क -२ | २५ | ६:३० देखि ७:०० | टिम लिडर तोकी खोप व्यवस्थापकले निरन्तर सम्पर्क गर्ने |
क -३ | २५ | ७:०० देखि ७:३० | टिम लिडर तोकी खोप व्यवस्थापकले निरन्तर सम्पर्क गर्ने |
क -४ | २५ | ७ :३० देखि ८:०० | टिम लिडर तोकी खोप व्यवस्थापकले निरन्तर सम्पर्क गर्ने |
ख ,ग ,घ ... इत्यादी | ९०० | मिति /समय/स्थान | टिम लिडर तोकी खोप व्यवस्थापकले निरन्तर सम्पर्क गर्ने |
“सबै क्लस्टरको संख्या खोप उपलब्धता ,खोप बुथ ,खोप लगाउने जनशक्तिको आधारमा बिभाजन गर्नु प्रदछ र नजिकको क्लस्टर लाई बिहानको समय र टाढाको लागि आउन लाग्ने समय जोडी अलि पछिको समय सिमा तोक्दिनु पर्दछ।”
४. खोप वितरण गर्ने स्थान
खोप लगाउने स्थान फराकिलो र धेरैलाई पायक पर्ने हुनुपर्ने।
खोप लगाउने समय, स्थान र खोपको प्रकार बारे सूचना लक्षित बर्गमा पुगेको हुनु पर्ने।
खोप स्थलमा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र भौतिक दुरी कायम हुनुपर्ने।
खोप लगाउन व्यक्तिलाई छिटो, छरितो कार्ड वितरण र दर्ता प्रणाली चुस्त भएको हुनुपर्ने।
स्थानीय तहसँग समन्वय गरि कम झन्झटिलो र सरल पहिचानयुक्त प्रणाली लागू गर्नु पर्ने हुन्छ जसले गर्दा व्यक्तिले कम भन्दा कम समय खर्च गरि सेवा पाउन सकुन्।
खोप लगाएको व्यक्ति सुरक्षित रुपमा सजिलै घर फर्काउन यातायात अथवा अरु साधनको व्यवस्था गराउन क्लस्टरको टिम लिडरलाई जिम्मा दिनु पर्दछ जसले गर्दा त्यहाँ भिड भाड हुनु हुँदैन।
५. संघिय, प्रादेशिक र स्थानीय निकायबीच समन्वय
हामीसँग कुन खोप कति उपलब्ध छ, खोपको प्रकार, लक्षित वर्गको पहिचान र कति खोप पाइपलाइनमा छन् भन्ने सूचना प्रवाह चुस्त रुपमा सम्पूर्ण निकाएमा गर्न सकियो भने हामीले पूर्व योजना बनाई जिल्ला तह, पालिका तहमा म्यापिंग गर्न सक्छौं। जसले गर्दा जनतालाई खोप आउदै छ भनेर सुनिश्चित गर्न सकेको खण्डमा संयम भइ आफ्नो पालो कुरी खोप केन्द्रमा भन-सुन, भिडभाड र हतार गर्ने प्रवृतिबाट छुटकारा पाउन सकिन्छ।
६. जनशक्ति व्यवस्थापन र तीव्र वितरण
हामी सबै अहिले महामारीबाट गुज्रिरहेको बेला जति सक्दो छिटो धेरै मानिसमा खोप वितरण गर्न सक्यौं भने उति नै चाँडो यसबाट जोगिने सम्भावना बढेर जान्छ। पहिलेको जस्तो रुटिन खोप नभएर महामारीबाट जोगिनको लागि भएको हुनाले हालको समय जुन १० देखि ३ (स्थान अनुसार फरक) अथवा बिदाको दिन खोप संचालन नहुने हुँदा हामी जति मानिसमा पुग्ने क्षमता छ त्यहाँ पुग्न सकेको छैनौं। र स्मरण रहोस हामी खोप स्टोर गर्न भन्दा खोप लगाउन कम खर्चिलो र धेरै फाइदा जनक हुन्छ र त्यसको लागि:
विभिन्न समय सिफ्ट गरि धेरै भन्दा धेरै लाई खोप प्रदान गर्ने
थप जनशक्ति संचालन गरि सेवा चुस्त दुरुस्त गर्ने
योजनवद्ध रुपमा जाने
७. स्वयंसेवक, प्रहरी लगायत विभिन्न स्थानीय क्लबको परिचालन
भिड नियन्त्रण, भिड व्यवस्थापन, मास्कको प्रयोग, स्यानिटाइजर र भौतिक दुरी कायम गराई अनुशासित रुपमा कार्यक्रम संचालन गर्न स्वयं सेवक, प्रहरी लगायत विभिन्न स्थानीय क्लबको परिचालन गरि सेवा छिटो छरितो र सरल बनाउनु पर्दछ।
“आफ्नो आफ्नो स्तरबाट खोप कार्यक्रम पूर्ण रुपमा सफल पार्न सहयोग गरि सभ्य नागरीकको पहिचान दिऊ।”
-(भुसाल जनस्वास्थकर्मी हुन्)