रोल्पा– गत वर्ष रोल्पा अस्पतालमा ३५४ जनाले प्रसूति सेवा लिए।तीमध्ये ५६ जना किशोरी थिए। त्यसमा पनि आठ जनाको अवस्था जटिल देखिएपछि शल्यक्रिया गर्नुपरेको थियो।
सोही अस्पतालमा सुरक्षित गर्भपतन गराएका १६७ मध्ये १७ जना किशोरी थिए।अनिच्छिद गर्भधारण भएकामध्ये धेरैजसो किशोरी गर्भपतनका लागि निजी क्लिनिक जाने स्वास्थ्यकर्मीहरु बताउँछन्।
बालविवाहकै कारण किशोरीहरुमा यौन तथा प्रजनन् स्वास्थ्य समस्या देखिने गरेको छ। किशोरीहरुमा गर्भपतन गराउने दरसमेत हरेक वर्ष बढ्न थालेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ।
अघिल्लो वर्ष रोल्पाका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराएका १४ हजार ८७० मध्ये एक हजार १२० जना किशोरी थिए। जिल्लाको एकमात्र सरकारी अस्पताल रोल्पा अस्पतालमा अघिल्लो वर्ष पहिलो गर्भ जाँच गर्न आएका २५० मध्ये ३५ जना किशोरी थिए।
अघिल्लो वर्ष रोल्पा प्रहरीले मौखिक उजुरीका आधारमा ४३ वटा बालविवाह रोकेको थियो। समुदाय तथा विद्यालयस्तरमा गठन भएका बालक्लबहरुले बालविवाह हुन थालेको थाहा पाएपछि प्रहरीलाई उजुरी दिने संयन्त्र बनाएका छन। त्यही संयन्त्रले दिएको सुराकका आधारमा प्रहरीले बालविवाह रोक्ने गरेको छ।
जिल्लामा बालविवाहविरुद्धको अभियान चलाएका सक्रिय बालक्लबको संख्या न्यून छ।त्यसैले यो अभियान जिल्लाभरि फैलिन सकेको छैन। जिल्लामा हुने विवाहमध्ये ३९ प्रतिशतमा १८ वर्ष मुनिका बालवालिकालाई बेहुला वा बेहुली बनाइन्छ।यसैगरी १५ वर्ष नपुग्दै गरिने विवाहको संख्या ६.८ प्रतिशत छ। यो सर्भेक्षण जिल्लाका साविकका केही गाविसमा गरिएको थियो।
फौजदारी संहिताअनुसार २० वर्ष नपुग्दै गरेको विवाह स्वतः बदर हुन्छ। त्यस्तो कसुर गर्ने गराउनेलाई कैद र जरिवानाको व्यवस्था छ। जिल्ला प्रहरी कार्यालय रोल्पामा अघिल्लो वर्ष बालविवाहको एउटा मुद्धा मात्रै परेको थियो।
सजातीय विवाह भएमा परिवारले सहजै स्वीकार्ने र अन्तरजातीय विवाह भए मात्रै प्रहरीमा उजुरी पर्ने गरेको दलित अधिकारकर्मी मानसिंह विकको भनाई छ। ‘अन्तरजातीय विवाहलाई स्वीकार नगर्ने परिवारमा मात्रै यस्तो विवाह वदर गर्न उजुरी पर्ने गर्दछ,’ विकले भने।
‘कन्यादान संस्कृति’ले बालविवाहलाई बढावा दिइरहेको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेलले बताए। उनका अनुसार बाल विवाहको असर शिक्षा र स्वास्थ्यका साथै अन्य क्षेत्रमा समेत देखिने गरेको छ।यही कारण जिल्लामा विद्यालय उमेरका १० प्रतिशत बालवालिका अझै विद्यालयबाहिरै रहेकोसयुक्त राष्ट्र संघीय जनसंख्या विकास कोषले गरेको सर्वेक्षणले देखाएको छ। विवाहपछि कमैले मात्रै पढाइलाई निरन्तरता दिने गरेका छन्। जस कारण जिल्लामा विद्यालय छोड्ने तथा कक्षा दोहोर्याउने संख्या समेत घट्न सकेको छैन।कक्षा ५ मा छात्राको टिकाउ दर ९७.४ प्रतिशत रहँदा कक्षा ८ मा यो दर ९४.९ प्रतिशतमा झरेको छ। कक्षा तथा उमेर बढ्दै जाँदा छात्राको टिकाउ दर घट्ने गरेको छ।
जलजला बहुमुखी क्याम्पस रोल्पाका जनसंख्या विषयका सहप्रध्यापक गोकर्ण पुनका अनुसार सामाजिक र सांस्कृतिक मूल्य मान्यताले बालविवाहलाई बढावा दिइरहेको छ। मौसमी बसाइँसराइ, गोठ बस्ने परम्परा, मेला जात्राले बालविवाहलाई प्रसय दिएको उनी बताउँछन्।
रोल्पा नगरपालिका र सुनिलस्मृती गाउँपालिकाले मात्रै बालविवाह रोकथामका लागी रणनैतिक योजना बनाएर अघि बढेका छन्। उनीहरुले पाँच वर्षभित्र आफ्नो स्थानीय तहलाई बालविवाहमुक्त बनाउने गरी योजना बनाए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ।
कार्ययोजना पारित गरिसकेको भए पनि गतिविधि शून्य रहेकाले प्रतिबद्धता अनुरुप उपलब्धि नहुने देखिएको अधिकारकर्मी खेम बुढामगरको भनाइ छ।‘कानुन, नीति–नियम निर्देशिका र योजना बनाउन हतारिने स्थानीय सरकारहरुको कार्यान्वयनमा भने निरिहता देखिने गरेको छ,’बुढाले भने।