ह्याप्पिनेस इज हेल्दी ! यदि तपाईको मन प्रशन्न छ भने स्वास्थ्य पनि राम्रो छ। प्रशन्न मन वा चित्त हुनेहरुको शरिरको सबभन्दा सानो कोष स्वस्थ हुन्छ, शरिरका अंगहरु स्वस्थ हुन्छन। विभिन्न शारिरिक रोगहरुबाट जोगाउने रोग प्रतिरोधी क्षमता बलियो हुन्छ।
प्रशन्न चित्त हुनेहरु आफ्नो काम जोश र जाँगरले चाख लिएर गर्छन्, गरेको काम राम्रो हुन्छ। ध्यान दिएर गर्ने हुँदा गल्ती कम हुन्छ, र तोकिएको समयमै आफ्नो काम सम्पन्न गर्दछन्।
मानव विकासको क्रम हेर्ने हो भने जंगलमा वा गुफामा वस्ने, कन्दमूल र जनावरहरुको शिकार गरेर जीवन धान्ने र सधैं वन्यजन्तुवाट आक्रमण हुन्छ कि, कुनै अर्को समूहसँग लड्नु पर्छ कि भन्ने डर र त्रासमा वस्ने गर्दथे। त्यसवेलादेखि अहिलेसम्म पनि कसरी वाच्ने र कसरी सुरक्षित रहने भन्ने सोच मानवमा छ। मानिसमा मात्र नभएर सवै प्राणीमा सुखसँग वाँच्ने र अरुको आक्रमणबाट जोगिने चाहना हुन्छ। विकासको क्रममा जे जस्तो अनुभव मानिसहरुले गरे त्यसै अनुरुप मष्तिस्कको विकास हुँदै गएको देखिन्छ। त्यसैले भन्ने गरिन्छ, ‘हाम्रो दिमाग बाँच्न र जोगिन निर्माण गरिएको हो, शान्ति र खुशीका लागि होइन। आन्तरिक द्वन्द्व, युद्धहरु झगडा र कुटपिटहरु र अरु भन्दा आफू अगाडि बढ्न प्रयास गर्ने बानी सायद मष्तिस्कको विकास र आफू राम्रोसँग वाँच्ने प्रयाससँग सम्बन्धित छ।
आजको युगमा जंगलमा बस्ने वेलाको जस्तो असुरक्षा छैन, तर मानिस पूर्ण रुपमा सुरक्षित छ भन्ने अवस्था पनि छैन। चोरी, डकैती, गुण्डागर्दी, दमन, घरेलु हिंसा, यौन हिंसा, बलात्कार, जस्ता घटना एकातिर छन भने आतंकवादी गतिविधिहरु र आफू आफू नै लड्ने र एउटा समूहले अर्को समूहलाई खतम पार्न खोज्ने क्रम घटेको छैन। हातहतियार बनाउने र वेच्ने होडबाजी त छँदैछ। अर्थात् मानव जातिमा अहिले बाँच्ने र जोगिनेमा खासै फरक आएको छैन। सबभन्दा बढी डर पैदा गर्ने कारण पनि यी दुई हुन्। नकारात्मक सोचहरु बढी आउने कारण यस्तै विभिन्न डर, त्रास र असुरक्षा नै हो।
मानिस चाहन्छ खुशी, आनन्द, प्रशन्नता, सुरक्षा आदि। मष्तिष्कको प्रोग्रामिङमा बाँच्ने र जोगिने भएकाले यसलाई रि–प्रोग्रामिङ गरे मात्र खुशी र आनन्द प्राप्त गर्न सकिन्छ। मेरो मन खुशी भइरहोस् भन्ने कुरा चाहना गर्दैमा प्राप्त हुने होइन। यसको लागी नियमित अभ्यास र प्रयासको आवश्यकता छ।
जस्तो अनुभव मष्तिष्कले गर्छ त्यस्तै किसिमको परिवर्तन मष्तिष्कमा हुन्छ भन्ने विज्ञानले प्रमाणित गरिसकेको छ। त्यसो भए सकारात्मक सोचको लागि, खुशीको लागि, प्रशन्न चित्तको लागि के–कस्ता क्रियाकलापहरु गर्यो भने परिवर्तन ल्याउन सकिन्छ त ?
– आफ्नो असल मित्रहरुसँग मित्रता कायम राखिराख्ने।
– नयाँ– नयाँ कुराहरु सिक्ने, सानै भएपनि सिर्जनशील कार्यहरु गर्ने।
– दुःखमा परेको, अप्ठेरोमा परेको व्यक्तिलाई सहयोग गर्ने।
– अरुहरुको सधैं राम्रो होस् भन्ने चाहना राख्ने।
– जे छ जस्तो छ त्यसमा चित्त वुझाउने, रमाउन सिक्ने र खुशी हुने। सकभर सरल तरिकाले जीवन जीउने।
– आनन्दसँग रमाएका दिनहरुको बेला बेलामा सम्झना गर्ने, कल्पना गर्ने र खुसश भएको अनुभव गर्ने।
– राती सुत्ने बेलामा आज मैले के–के राम्रो काम गरें भन्ने सम्झने। मन पर्छ भने नोटवुकमा लेख्ने गरेपनि हुन्छ।
– बिहान उठेर आजको दिन राम्रोसँग विताउँछु, आज रिसाउदिन, रिस उठिहाले पनि नियन्त्रण गर्छु भन्ने प्रण गर्ने।
दलाइ लामा आफ्नो पुस्तक ‘एडभाइस अन डाइङ’मा दिमागले शान्त, आराम र खुशी महशुस गरेको छ भने मात्रै खान मीठो लाग्छ र लगाएको मन पर्छ भनेका छन्।
हुनपनि हो, हामीलाई डर छ, त्रास छ, मन दुखी छ, शंका छ भने हामीले खान, लाउन र खुसीसँग जीवन विताउन पनि सकिरहेका हुदैनौं। मन खुसी छ भने, प्रशन्न छ भने हामी जीवन रमाएर विताउन सक्छौं।
यहाँ सधै अरु प्रति राम्रो भाव राख्ने र अरुको सधै राम्रो होस् भन्ने भावना ल्याउन निकै कठिन छ। आफुलाई राम्रो गर्नेहरु प्रति आफुलाई माया गर्नेहरुप्रति त यो भावना प्राय आउछ नै। तर, आफूलाई नराम्रो गर्ने, आफ्नो कुभलो चिताउने सधैं कुरा काट्ने कसरी दुःख दिउँ भन्नेहरु प्रति पनि सदभाव राख्ने, उनीहरुको राम्रो चिताउने र बदलाको भावना मनमा आउन नदिने प्रयास निरन्तर गर्नुपर्छ।
रिस र घृणा गर्ने कारण नै चित्त प्रशन्न राख्नको लागि वाधक हुँदो रहेछ। रिस र घृणा गर्नेहरुको मश्तिस्क अझ बढी रिस र घृणा गर्न सक्ने हुँदो रहेछ भने अरुले जे जस्तो गरेपनि आफुले उनीहरुको राम्रो होस भन्ने प्रयास गरि राख्यो भने मश्तिस्कमा पनि त्यस्तो गर्न सक्ने क्षमता वढ्दो रहेछ।
शाक्य मुनि वुद्धले भन्नु भएको र अति नै महत्व पूर्ण मानिएको एउटा भनाई छ, ‘घुणाले संसारमा घृणाको अन्त्य गर्न सकिदैन। घृणाको अन्त्यका लागि प्रेम चाहिन्छ।’ यसलाई पालन गर्न सकियो भने मात्रै द्वेष र घृणाको चक्रवाट मुक्त हुन सकिन्छ। द्वेष र घृणा छैनन भने त मन प्रशन्न र शान्त हुन्छ। यहाँ मन खुशी हुने भनेको जति वेला पनि हाँस्न मन लाग्ने र विना कारण प्रशन्न भइरहने भन्न खोजेको भने होइन। मनमा चिन्ता, डर, दुःख जस्ता भावना हुँदैनन र मन शान्त हुन्छ र आनन्दको अनुभव हुन्छ भनेको हो। मन तनाव रहित र शान्त हुन्छ, आनन्दको अनुभव हुन्छ भने यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।