काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा अवस्था अत्यन्तै नाजुक, गुणस्तरहीन रहेको पाइएको छ।
नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानमा पुगेर स्थलगत अध्ययन गरि तयार पारेको प्रतिवेदनले प्रतिष्ठानमा स्वास्थ्य सेवा अवस्था अत्यन्तै नाजुक, गुणस्तरहीन रहेकाले सेवाग्राहीहरुले दुःख पाइरहेको जनाएको छ।
व्यवस्थापनको कमजोरीका कारण अस्पतालको रेडियोलोजी तथा ल्याब सेवाको अवस्था निकै तल्लोस्तरमा पुगेको र अस्पतालको आफ्नै हाताभित्र फार्मेसी सेवा नभएकाले सेवाग्राहीलाई सकस भएको प्रतिवेदनमा उल्लेख छ।
सो प्रतिवेदनमा अस्पतालको आकस्मिक कक्षमा भिडभाड भएकाले स्वास्थ्य जनशक्ति भएपनि पर्याप्त सेवा दिन नसकेको उल्लेख छ।
यस्तै, अस्पतालमा आइसीयु शय्याको कमीले गर्दा आकस्मिक कक्षमा आएका नाजुक अवस्थाका बिरामीहरु अन्य अस्पतालमा रिफर हुने गरेको अवस्था रहेको पनि प्रतिवेदनमा उल्लेख छ।
अध्ययनका क्रममा प्रतिष्ठानले प्रतिदिन १५– २० जना बिरामी रिफर गर्ने गरेको फेला परेको छ।
यस्तै, विशेषज्ञहरुले बिरामी नहेर्ने र रेजिडेन्ट चिकित्सकहरुले मात्र बिरामी हेर्ने गरेको सेवाग्राहीको गुनासो समेत रहेको पाइएको छ।
स्वास्थ्य मन्त्रालयको पत्रानुसार काउन्सिल र चिकित्सा शिक्षा आयोगको टोलीले भदौ २ गतेदेखि ५ गतेसम्म प्रतिष्ठानमा निरीक्षण गरेको थियो। सो क्रममा निरीक्षण टोलीले प्रत्यक्ष रुपमा सम्बन्धित स्थानमा ओपिडी, वार्ड, ल्याब, इमजेन्सी सेवाको अवलोकन र अध्ययन, सरोकारवाला सेवाग्राहीहरुसँग छलफल र अन्तरक्रिया, सेवा प्रदान गरिरहेका स्वस्थ्यकर्मीहरुसँग छलफल र अन्तरक्रिया गरेको थियो।
सो क्रममा देखिएका समस्याबारे निरीक्षण टोलीले आकस्मिक स्वास्थ्य सेवाको अवस्था, ओपिडी सेवाको अवस्था, आइसीयु, इनप्यासेन्ट र ओटी सेवाको अवस्था, रेडियोलोजी सेवाको अवस्था, प्रयोगशाला सेवाको अवस्था तथा डेण्डल, फार्मेसी, अस्पतालजन्य फोहोरमैला व्यवस्थापन मेडिकल रेकर्ड लगायतका विषयमा निरीक्षण गरी त्यहा देखिएका समस्या बारे प्रतिवेदनमा उल्लेख गरिएको छ।
निरीक्षण टोलीले बिपी प्रतिष्ठानमा देखिएका समस्याहरुबारे उल्लेख गर्दै प्रतिष्ठान सुधारका लागि ४ बुंदे सुझाव समेत दिएको छ।