कोरोना महामारीको पहिलो लहरबाट सिथिल रहेको हाम्रो देश र देशको अर्थतन्त्र तंग्रिन खोज्दै थियो। सरकारले महामारी नियन्तणका लागि गरेको लकडाउनबाट निसासिएको महसुस गरेका सर्वसाधारण खुला हावामा रमाउन थालिसकेका थिए। सर्वसाधारणहरु कोरोना भाइरस निर्मूल भएको जस्तो भान हुनेगरी आ–आफ्ना दिनचर्यामा अव्यस्त भइसकेका थिए। कोही कोहीले मात्र मास्क लगाएर हिँडेको देखिन्थ्यो। मान्छेले मास्क भन्ने चिज बिर्सिसकेको जस्तो लाग्थ्यो। नेपालगन्जमा त झन् मास्क लगाउने मान्छे देख्नै मुश्किल हुन्थ्यो।
उता भारतमा दोस्रो लहरको समाचार आउना थाल्यो। तर हाम्रो देशमा गम्भीरताको संकेत भने कसैमा देखिँदैनथ्यो। दिन प्रति दिन भारत कोरोना भाइरस संक्रमणको दोस्रो लहरले आक्रान्त बन्दै गएको थियो।
सधैं जसो भारतको स्वाथ्य प्रणाली सिथिल भएको, मानिसमा हाहाकार मचियो, अक्सिजनको चरम अभाब झेलिरहेको भन्ने समाचारहरु देख्न र सुन्न पाइन्थ्यो। नेपाल भारत सीमाबाट भारतमा काम गर्न गएका नेपालीको स्वदेश फर्कने लर्को बढ्न थालेको थियो। यता नेपालमा भने महामारीको पूर्व तयारी कछुवाको गतिमा घिर्सेको अनुभव हुन्थ्यो।
नेपाली नयाँवर्ष २०७८ भित्रिए सँगै अस्पतालका कोरोना वार्डमा सय्याहरु भरिन थाले। नभन्दै सरकारले र आम सर्वसाधारणले कल्पना नगरेको कोरोनाको दोस्रो लहरले लय समात्न थाल्यो।
सरोकारवालाहरुको अपरिपक्वता, अदुरदर्शिता, न्यून पूर्वतयारी, सिमानामा होल्डिङ सेन्टर नबनाइनु, छिमेकी मुलुकको बढ्दो संक्रमण र सर्वसाधारणको हेलचेक्र्याइँ तथा असावधानीले गर्दा कोरोना संक्रमणको दोस्रो लहरले नेपालगन्जबाट सुरु भएर देशभर उग्ररुप लिनपुग्यो।
भारतको सीमा नजिकै रहेको भेरि अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै जानथाल्यो। पहिलो लहरमा स्थापना गरिएका दुईओटा वार्डले नपुग्ने भएपछि अस्पतालले दुई ओटा वार्ड थप गर्ने निर्णय गर्यो। दिन प्रतिदिन बेडको संख्या बढाउँदै भेरि अस्पतालले हल ए, हल बी, हल सी र हल डि गरेर चार ओटा वार्डबाट सेवा प्रधान गर्न थाल्यो। हामी हरेक दिन आउने बिरामीलाई ट्रायज गरेर आवश्यकलाई भर्ना गर्ने र होम आइसोलेसनमा बस्न मिल्ने लाई सल्लाह, सुझाव, औषधि र परामर्श दिएर पठाउन थाल्यौ।
बिरामीको चाप अस्पतालले थेग्नै नसक्ने अवस्था पुग्न थालेपछि अक्सिजन आवश्यक पर्ने बिरामीलाई भर्ना गर्ने र अक्सिजन आवश्यक नपर्ने लाई होम आइसोलेसनमा पठाउने निर्णय गरेर सोही अनुसार अगाडि बढ्यौं।
कोरोना महामारीको लहरले देशको स्वास्थ्य प्रणालीको असली रूप देखाइदिएको थियो।
स्वास्थ प्रणाली नै सिथिल भएको महशुस हुन्थ्यो। बेड नहुँदा बिरामी भर्ना गर्ने ठाउँ छैन भन्दा बिरामीको आलाप विलाप देखेर सारै गाह्रो महशुस हुन्थ्यो। भएर पनि के गर्न सकिन्थ्यो सम्झाउने बुझाउने बाहेक।
"मलाई जसरी भएनि यही राखिदिनु मेरो अरु कुनै उपाय छैन" भनेर बिरामीले बिन्ती गर्दा अब के गर्ने भन्ने अन्योलता, छटपटी, विकल्पहिन परिस्थिति देखेर मन भरिएर आउँथ्यो। तर यी सबै दृश्यहरु मुकदर्शक भएर हेर्नु बाहेक अरु कुनै उपाय हुन्थेन हामी चिकित्सकसँग पनि।
हुने खानेहरुले त काठमाडौंका ठूला–ठूला अस्पतालमा लगेर उपचार गराउने सामर्थ्य राख्थे र गराउँथे पनि। तर जसको कुनै विकल्प छैन भेरी अस्पताल नै अन्तिम विकल्प थियो उनीहरूको बिचल्ली हुने अवस्था आइपरेको थियो। भेरी अस्पतालले दुखी गरीब असहायहरुको आशा र भरोसाको केन्द्रको रूपमा रहेको थियो।
हामीले कुनै बिरामी पनि फिर्ता गरेनौं, कोरिडोरमा टेन्टमा राखेर भएपनि उपचार भने जारि नै राख्यौं।
हरेक दिन भर्ना हुन आउने बिरामीका आफन्त र बिरामीको अनुहारमा बिरामी यही उपचार गराउने की अन्तै लगे पो बाँच्ने हो कि भन्ने अन्योलता, द्विविधा, कोरोनाले निम्त्याएको त्रास, निको हुने वा नहुने भन्ने आशङ्का स्वाथ्य प्रणाली प्रति विश्वसनीयताको कमी र विवशता झल्किन्थ्यो।
यी सबै बिरामीका अभिव्यक्तिहरु हाम्रो स्वाथ्य व्यवस्थाको दयनिय अवस्थाको चित्रण गरेको महशुस हुन्थ्यो।
यो समय यस्तो बनेको थियो की ज्वरो आउनु, खोकी लाग्नु, एक अभिसापको रूपमा स्थापित भएको थियो। पोजिटिभ पीसीआर रिपोर्टमा मान्छेले यमराजको आकृति देख्न थालिसकेका थिए। यो कोरोना भाइरसको मृत्युदर निकै कम भएतापनि मानिसमा यतिको हाहाकार मच्चिनु, यति धेरै डर त्रास आउनु सरकारले सर्वसाधारणलाई आफ्नो उपस्थितिको महशुस गराउन नसक्नु, महामारीको समयमा अभिभावकत्व दर्साउन नसक्नु, सर्वसाधारणमा जनचेतना फैलाउन नसक्नु, सरोकारवालामा परिपक्वता नदेखिनु, पूर्वतयारीको अत्याधिक कमीले गर्दा हुनसक्छ।
जटिल बिरामीको संख्या अत्यधिक रहेको कारणले अस्पतालमा जनशक्तिको कमी र स्रोत साधनको अत्याधिक रूपमा कमी देखिन थाल्यो। जनशक्तिको कमीलाई त केन्द्र सरकारले सकेसम्म छिटो सम्बोधन गर्ने प्रयास गर्यो तर अत्याधिक रूपमा बढेका जटिल बिरामीलाई आवश्यक पर्ने आइसियू बेड र भेन्टिलेटर भने सम्बोधन हुने निकै कम संभावना रह्यो। जति उपलब्ध थियो त्यति स्रोत बाट नै उपचारको क्रम अगाडि बढि रहेको थियो। तर अर्को जटिल र भयावह समस्या आइपर्यो–अक्सिजनको अभाव!
जुन समस्याले हाम्रो अस्पताल मात्रा हैन देश कै स्वास्थ प्रणालीमा ठूलो भूकम्प गयो। जसले गर्दा भेन्टिलेटर भए पनि चलाउन नसकिने अवस्थामा पुग्यौं। किनकि एउटा बिरामीलाई भेन्टिलेटर चलाउँदा अक्सिजको चाप र मात्रा कमी भएर अरु बिरामीले सामान्य अक्सिजनसम्म पनि नपाउने अवस्था आउन थाल्यो र भएका भेन्टिलेटर पनि चलाउन नसकिने अवस्था आइलाग्यो। जेनतेन यो समस्या पनि अस्पतालमा लिक्विड अक्सिजन ट्यांक जोडेपछि ढिलै भएपनि समाधान भयो। यसै समयमा महामारीको फाइदा उठाउँदै रेम्डिसिभिर औषधिको कालोबजारीले व्यवसायीकता प्राप्त गर्यो। यो समस्या भने पछि आबस्यक बिरामीलाई अस्पताल आफैले निःशुल्क रूपमा प्रधान गर्ने भएपछि समाधान पनि भयो।
यो महामारीले मेरो घरमा पनि पाइला टेक्यो। सधैं झैं एकहप्ते लामो १६८ घण्टा ड्युटी सकेर क्वारेन्टाइन अफमा घर गएँ। अस्पतालले यो पटक डिउटी पश्चात क्वारेन्टाइनको बेबस्था नगरेकाले घर नै जानुपर्ने बाध्यता थियो।
केहीसमय पछि कोरोनाको लक्षण देखिन थाल्यो। तर मलाई भन्दा पहिला ममी–बुवा लाई ज्वरो आयो।
घरका हामी तिनै जना कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भयौं। यस्तो समयमा कोरोनाको शंका लागेका व्यक्तिबाट टाढा भाग्नु पर्ने बाध्यता र अवस्थाले गर्दा कोहीले पनि बुवाममीलाई अस्पताल लगेर चेक गराइदिने अवस्था रहेन। अस्पताल पनि केही टाढा रहेकाले अप्ठेरो परिस्थिति थियो। बुवाममीको आशा हौसला म नै थिए।
सुरुमा म तुलनात्मक रूपमा कम गलेको हुनाले मेरो अवस्था बिग्रिन भन्दा पहिले नै ममीबुवालाई पीसीआर गराएर आवश्यक औषधि लिएर आउने निधो गरेँ।
बुवाममीलाई एक–एक दिन बिराएर आफ्नै स्कुटीमा लगेर जाँच गराए।
त्यसपछि आफूपनि थला परेर सुतियो। सबै जनाको पीसीआर रिपोर्ट पोजिटिभ आयो।
तीनैजना थला परियो र जेनतेन तीनजनाले एकअर्कालाई हेरचाह गरेर कोरोनालाई परास्त गरियो। म पुन: ड्युटीमा फर्किएँ।
कोरोना महामारीबाट हाम्रो सरकारले तथा सरोकारवालाहरुले विगतबाट पाठ सिकेर आफ्नो स्वार्थबाट माथि उठेर सोच्न र जिम्मेवार हुन आवश्यक छ।
यस्ता महामारी विगतमा पनि विश्वमा आइरहेका थिए।
भविष्यमा पनि स्वतः रूपमा आउन सक्छन्। त्यसैले आम मानिसको स्वास्थ्य पहिलो प्राथमिकतामा रहनुपर्छ।
किनकि स्वास्थ्य नै धन हो। स्वास्थ्य रहेमा नै स्वस्थ जनशक्ति उत्पादन हुन्छ र देशको विकास साथै अर्थतन्त्र बलियो हुन्छ। हरेक किसिमका महामारी निकट भविष्यमा आउन सक्ने कुरालाई मध्यनजर गरेर पूर्वतयारी गर्नु आजको आवश्यकता हो। यो महामारीले सिकाएको पाठ पनि यही नै हो।
सीमावर्ती ठाउँमा होल्डिङ सेन्टरको स्थपाना गर्नु, न्यूनतम सुविधा सहितको क्वारेन्टाइनहरुको निर्माण गर्नु, हरेक आवत जावत गर्ने व्यक्तिको पहिचान, तथ्याङ्क राख्नु र शंकास्पद व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउनु निकै जरुरी देखिन्छ।
हाम्रो स्वास्थ प्रणालीमा रहेका समस्याको पहिचान गर्नु र तिनको समाधान गर्नु ठूलो चुनौतीको रूपमा खडा भएको छ।
त्यसमा ध्यान दिनु आवश्यक छ। उचित स्रोत साधन, जनशक्तिको परिपूर्ति र हरेक अस्पतालमा आवस्यक पूर्वाधारको निर्माण गर्नुपर्ने देखिन्छ। हरेक विषम परिस्थितिमा र महामारीको क्रममा जनचेतना फैलाउनु, हरेक सर्वसाधारण लाई सचेत गराउनु र विश्वसनीयता प्रधान गर्नु अर्को महतवपूर्ण विषयको रुपमा देखा परेको छ।
अन्त्यमा हरेक यस्ता किसिमका स्वास्थ्य संकट र महामारीमा सबैले आफ्नो दायित्व आ–आफ्नो ठाउँबाट जिम्मेवारी बोध गरेर पूरा गरेमा सबै मिलेर एकअर्का माथि सहयोगको भावना राखेर अगाडि बढ्न सकेमा मात्र कोरोना महामारीलाइ सहज रूपमा परास्त गर्न सकिन्छ।
-(कोरोना महामारीको दोस्रो लहरमा नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका डा पौडेल हाल पिजि प्रवेश परीक्षाको तयारीमा छन्।)