काठमाडौं - नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा हुने भएको छ। काउन्सिलको निर्वाचन समितिका अनुसार काठमाडौं उपत्याका र उपत्याकाबाहिर दुई चरणमा मतदान हुनेछ।
निर्वाचनका लागि प्रक्रिया अगाडि बढाएको निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशित गरिसकेको छ। समितिका अनुसार असोज २२ गते शुक्रबार ३ बजेसम्म काउन्सिलमा दर्ता भएकाले मात्र निर्वाचनमा मत हाल्न पाउने छन्। शुक्रबार ३ बजेसम्म ३००६५ दर्ता नम्बरसम्म भएकाले मतदान गर्न पाउने छन्।
निर्वाचन समितिका अनुसार आज आइतबार मतदाताले नामावलीमा दावी बिरोध गर्न पाउने छन् भने सोमबार अन्तिम नामावली प्रकाशित हुने छ।
निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते मतदान हुने छ। काठमाडौं उपत्यकामा भने मंसिर १० र ११ गते मतदान हुने छ। मतदान बिहान १० देखि ४ बजेसम्म हुने छ।
मंसिर १२ गतेबाट मतगणना सुरु हुने कार्यतालिका छ।
उम्मेदवारीका लागि मनोनयन पत्र दाखिला गर्ने मिति कार्तिक १ र २ गतेलाई तोकिएको छ। कार्तिक ४ गते उम्मेदवारी फिर्ता लिने मिति तोकिएको छ।
काउन्सिलले उपाध्यक्ष पदमा एकजना र सदस्य पदमा ८ जनाको निर्वाचन गर्न लागेको हो। निर्वाचनका लागि काउन्सिलले डा गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ। डा मधुसुदन पुन र डा मनोज हुमागाई निर्वाचन अधिकृत हुन्।
निर्वाचनमा उम्मेदवार हुनका लागि उपाध्यक्ष पदका लागि कम्तीमा १५ वर्ष र सदस्य पदका लागि कम्तिमा ५ वर्षको अनुभव प्राप्त दर्तावाल चिकित्सक हुनुपर्ने व्यवस्था छ। यसरी निर्वाचित उपाध्यक्ष तथा सदस्यको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि २०७४ मा निर्वाचित कार्याकारीहरुको पदावधि २०७८ असोज ५ गते समाप्त हुँदैछ।
