झापा- भद्रपुरस्थित मेची अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा आएको छ। अस्पतालमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको हो।
प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङ्गले एक कार्यक्रमका बिच अस्पतालको सिटी स्क्यान सेवाको औपचारिक उद्घाटन गरेका हुन्। यसका साथै मन्त्री साम्सोहाङ्गले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका छन्।
प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटमा अक्सिजन प्लान्टका जडान गरिएको र दुवै सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टङ्कप्रसाद बाराकोटीले जानकारी दिए।
मेचीमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि बिरामीलाई अन्यत्र रेफ गर्नु पर्ने बाध्यताको अन्त्य भएको मेसु बाराकोटीले बताए।
यसैगरी, अस्पतालमा दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट सेवा सुरु भएपछि कोभिड वा ननकोभिड बिरामीलाई चाहिने अक्सिजनको समस्या पनि टरेको उनको भनाइ छ।