काभ्रेपलाञ्चोक- जिल्लामा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन। यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ।
केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको हो। गत बिहीबार भने एकमा सङ्क्रमण देखिएको तथा एक सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ। काभ्रेपलाञ्चोकमा हाल ६९ सक्रिय सङ्क्रमित रहेका छन्।
जिल्लाको चार गाउँपालिका चौँरी देउराली, रोशी, महाभारत र खानीखोला हप्तादेखि कोरोना सङ्क्रमणमुक्त भइसकेका छन्। अघिल्लो हप्तादेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ। मण्डनदेउपुर नगरमा दुई तथा तेमाल गाउँपालिकामा एक र भुम्लु गाउँपालिकामा एक सङ्क्रमित रहेका छन्।
जिल्लामा हाल सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा २३, पाँचखालमा १२, धुलिखेलमा १४, पनौतीमा चार, नमोबुद्ध नगरमा नौ र बेथानचोक गाउँपालिकामा तीन रहेको केन्द्रले जनाएको छ। जिल्लामा हालसम्म १४ हजार ६७९ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ। हालसम्मका कुल सङ्क्रमितमध्ये ९९ प्रतिशत अर्थात् १४ हजार ४१८ सङ्क्रमणमुक्त भइसकेका छन्।
जिल्ला प्रशासन कार्यालयले गत असोज २६ गतेदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थपेको छ। केन्द्रले समुदायमा सङ्क्रमण दर घटिरहेको तथा साप्ताहिकरुपमा मृत्युदर घटेको अवस्थामा काभ्रेपलाञ्चोकमा ‘एल्लो-जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ। कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो।