प्युठान - समयमै उपचार नपाउँदा प्युठानमा मानसिक रोगको अवस्था जटिल बन्दै गएको पाइएको छ। प्रारम्भिक अवस्थामा सामान्य परामर्शबाटै निको हुने मानसिक समस्या जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन्।
हाल प्युठान अस्पतालमा ३२९ जना मानसिक स्वास्थ्य समस्याका बिरामी उपचाररत छन्। जसमध्ये १५६ जना महिला छन्। हाल दैनिक ८ देखि १० जनासम्म मानसिक रोग सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ।
मानसिक स्वास्थ्य समस्या बारे जनचेतनाको कमी र खुलेर कुरा नगर्दा बिरामीले समयमै उपचार नपाउने गरेको चिकित्सकहरुको भनाई छ। सामाजिक अवहेलनाको डरका कारण समस्या लुकाउन बाध्य भएको अस्पतालका मानसिक तथा मनोरोग विशेषज्ञ डा एन्जेला रेग्मीले बताइन्।
मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा समस्या भएर भौतारिदै हिड्नेहरु बढिरहेको चिकित्सकहरु बताउँछन्। उनीहरुका अनुसार मानसिक रोग लागेपछि उपचारको साटो धामीझाक्री र अन्धविश्वासमा लाग्दा समस्या झनै बढ्दै गइरहेको छ।
‘मानसिक रोगले न त धनी गरिब भन्छ, न त महिला पुरुष, न त बालक वृद्ध नै।’ उनले भनिन्, ‘मानसिक रोग पनि अन्य रोग जस्तै रोग हो समयमै उपचार गर्न सके निको हुन्छ ।’
मानसिक रोग बढ्दै गएपछि आत्महत्याका घटना पनि बढ्दै गएको पाइएको छ। आत्महत्या गर्नेहरुमध्ये ९० प्रतिशत मानसिक रोगका कारण हुने गरेको मनोपरामर्शकर्ताहरु बताउँछन्।