काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीलाई कारबाही गर्ने उद्देश्यले गठन गरिएको छानबिन समितिले काम अगाडि बढाउन सकेको छैन। २१ दिनभित्र प्रतिबेदन बुझाउने समयसिमा रहेको समिति गठन भएको ७ दिन भइसकेको छ। समितिका संयोजक स्वास्थ्यमन्त्री बिरोध खतिवडाको व्यस्तताको कारण काम अगाडि नबढेको हो।
समिति कात्तिक १ गते गठन भएको हो। प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री खतिवडाको संयोजकत्वमा बनेको समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तिलक राई सदस्य छन्।
मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री र सचिवको कार्यतालिका हेरेर समितिले काम अगाडि बढाउने विषयमा छलफल भएको छ।
प्रतिष्ठानका पदाधिकारीले पदिय दायित्व पूरा नगरेको, प्रतिष्ठानमा अनियमितता गरेको लगायतका विषयमा यसअघि गठन भएका छानबिन समितले प्रतिवेदन बुझाइसकेका छन्। सहकुलपतिको संयोजकत्वमा गठित समितिले ती प्रतिवेदनसहित धरानमा समेत पुगेर आवश्यक छानबिन गर्ने बताइएको छ। तर ७ दिन बितिसक्दा पनि काम अगाडि नबढेपछि प्रतिष्ठानका आन्दोलनरत पक्षले यसअघिका समिति जस्तै हुने हो कि भन्ने शंका व्यक्त गर्न थालेका छन्।
प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले भने राजीनामा दिइसकेका छन्। विवाद आएपछि उनले राजीनामा दिएका हुन्।
उपकुलपति डा ज्ञानेन्द्र गिरीको प्राध्यापक पद नै नरहेको विषय मन्त्रालयले नै पुष्ट गरिसकेको छ। डा गिरीले प्रतिष्ठानका कर्मचारीहरुलाई छलफलका लागि बोलाउँदा मदिरा सेवन गरेर आएको विषय पनि बाहिर आएको थियो।