काठमाडौं- गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ। कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको हो।
उक्त खोप स्वास्थ्य मन्त्रालयले बुझिसकेको छ। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा उपलब्ध गराएको हो। उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ। फाइजरको खोपको गाइडलाइन बनाउने कार्य समेत भइसकेकाे छ।
फाइजर खोपलाई कात्तिक २८ गतेपछि लगाउने योजना बनाइएको छ।
उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ। नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज फाइजर खरिद सम्झौता समेत गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ।