काठमाडौं– नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले निर्वाचनको प्रचार–प्रसार सामग्रीमा नेपाल मेडिकल काउन्सिलको लोगो प्रयोग नगर्न सचेत गराएको छ।
निर्वाचन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनका उम्मेदवारहरुलाई आफ्नो प्रचार–प्रसार सामग्रीमा काउन्सिलको लोगो प्रयोग नगर्न भनेको हो।
उम्मेदवारहरुले आफ्नो चुनावी अभियानका प्लेकार्डहरुमा काउन्सिलको लोगो राखेको गुनासो आएपछि निर्वाचन समितिले उम्मेदवारहरुलाई सचेत गराएको जनाएको छ।
काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्य पदका लागि आगामी मंसिरमा निर्वाचन हुँदैछ। मंसिर ३ र ४ गते उपत्यका बाहिर र मंसिर १० र ११ गते काठमाडौं उपत्यकाभित्र निर्वाचन हुँदैछ।
एकजना उपाध्यक्ष पदका लागि ३ जना र ८ जना सदस्य पदका लागि ३२ जनाले उम्मेदवारी दिइसकेका छन्। उम्मेदवार चिकित्सकहरु यतिबेला चुनावी प्रचार–प्रसार अभियानमा व्यस्त छन्।
