काठमाडौं– वीर अस्पतालको सर्जिकल भवनमा पनि फार्मेसी सेवा सुरु भएको छ। वीर अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेतका अनुसार अस्पतालको सर्जिकल भवनमा मंगलबारदेखि फार्मेसी सेवा सुरु गरिएको हो।
हाल कोरोना संक्रमितको उपचार भइरहेको सर्जिकल भवनमा पनि फार्मेसी सेवा थप गरिएको डा बस्नेतको भनाइ छ।
कोरोना संक्रमितको संख्या न्युन भएमा सो भवनमा सर्जिकल सेवा सञ्चालन गरिने भएकाले फार्मेसीमा सर्जिकल सम्बन्धि सामाग्री तथा औषधिहरु राखिएको डा बस्नेतको भनाइ छ।
‘अस्पतालमा आउने सबै बिरामीलाई सहज रुपमा फार्मेसी सेवा उपलब्ध गराउन हामीले आजदेखि सर्जिकल भवनबाट पनि फार्मेसी सेवा सुरु गरेका छौं,’ उनले भने, ‘पुरानो भवनमा पनि फार्मेसी सञ्चालन नै छ।’
डा बस्नेतले नयाँ र पुरानो दुवै भवनमा फार्मेसी सेवा २४ सै घण्टा सञ्चालन गरिने पनि जानकारी दिए।
वीर अस्पतालमा दैनिक हजारौं बिरामी आउने गरेकाले उनीहरुलाई सहज, सस्तो तथा सुलभ मुल्यमा औषधि उपलब्ध गराउन फार्मेसी सेवा विस्तार गरिएको डा बस्नेतको भनाइ छ।
अस्पतालमा अप्रेसन गर्नुपर्ने बिरामीलाई लक्षित गरेर छिट्टै अस्पतालको अप्रेसन थिएटरको बाहिर पनि फार्मेसी सेवा सञ्चालन गर्ने योजना रहेको डा बस्नेतले जानकारी दिए।