काठमाडौं- सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस विद्यार्थीले हालेको मुद्दाको अन्तिम फैसला सार्वजनिक गरेको छ। अदालतले सोमबार एमबिबिएस पढेका डाक्टरहरुले २ वर्ष मात्र खटाएको स्थानमा काम गर्न भन्दै हालेको मुद्दाको अन्तिम फैसला सार्वजनिक गरेको हो।
मुद्दाको फैसला भदौ २१ गते भएको थियो। तर फैसलाको पूर्णपाठ भने आइसकेको थिएन। उक्त फैसला अनुसार छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका डाक्टरले चिकित्सा शिक्षा ऐन अनुसार २ वर्षमात्र सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरे पुग्छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सरकारी कोटामा एमबिबिएस पढेकाहरूका लागि ४ वर्ष सेवा गर्नुपर्ने व्यवस्था थियो। अदालतले उक्त ऐनभन्दा पछि अझ वृहत्तर उद्देश्यका साथ राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनमा रहेको र ऐनको दफा ३८ ले छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सकहरुले दुर्गम र सुगम क्षेत्रमा अनिवार्य सेवा गर्ने अवधि घटाएको स्थिति रहेकाले चिकित्सा शिक्षा ऐन अनुसार नै गर्न परमादेश जारी गरेको हो।
न्यायाधिस अनिलक कुमार सिन्हा र डा कुमार चुडालले उक्त फैसला गरेका हुन्।
विद्यार्थीहरुले चिकित्सा शिक्षा ऐन अनुसार २ वर्ष मात्र सेवा गर्न पाउनु पर्ने माग राख्दै २०७६ कात्तिक १९ गते मुद्दा हालेका थिए। डा उज्जवल पौडेलसहित २१ जनाले मुद्दा हालेका थिए।
हेरौं फैसलाको पूर्णपाठ