काठमाडौं– दक्षिण भारतीय अभिनेता पुनित राजकुमारको निधन भएको छ। शुक्रबार बंगलरुस्थित ब्रिकम अस्पतालमा उनको निधन भएको हो।
भारतीय सञ्चारमाध्यमकाअनुसार उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो। आइसियुमा राखिएका उनको दिउँसो निधन भएको बताइएको छ। बिहान ११ः ३० मा छातीमा समस्या भएपछि अस्पताल पुर्याइएका उनको आइसियुमा उपचाररत हुँदा मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ।
दक्षिण भारतका सफल अभिनेता राजकुमारका छोरा पुनितको ४६ वर्षको उमेरमा निधन भएको हो। सन् १९७५ मार्चमा जन्मिएका उनले करिब तीन दशक दक्षिण भारतीय सिनेमामा काम गरेका थिए। फिल्म करिअरको सुरुवात बालकलाकारको रुपमा गरेका उनले भारतको राष्ट्रिय अवार्ड समेत पाइसकेका छन्।
सन् २००२ मा उनले ‘अप्पु’ फिल्मबाट डेभ्यु गरेका थिए। बाल कलाकारको भूमिकामा ‘बेट्टदा होभु’ नामक सिनेमाका लागि उनलाई राष्ट्रिय अवार्ड दिइएको थियो। पछिल्लो समय ‘ज्याकी’, ‘अन्ना बोन्ड’, ‘मिलना’जस्ता फिल्ममा अभिनय गरेपछि उनी थप चर्चामा आएका थिए।