काठमाडौं - नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ। तीन महिना अघि मिर्गौला प्रत्यारोपणको अनुमति पाएको नोबेल अस्पतालले दोस्रो पटक सफल प्रत्यारोपण गरेको हो।
एक साता अघि ३० वर्षीय अमजद हुसैनलाई उनकी २२ वर्षीया श्रीमती सहजा आराले मिर्गौला प्रत्यारोपण गरेको मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा शैलेन्द्र श्रेष्ठले बताए। उनका अनुसार हाल दुवै जनाको स्वास्थ्य अवस्था ठिक छ।
बिरामी हुसैनले नोबेल अस्पतालमै साताको दुई पटक हेमोडायलासिस गर्दै आएका थिए। प्रत्यारोपणमा युरोलोजिस्ट एवं मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा रामसागर शाह, अर्का मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा प्रेम ज्ञवाली, डा भोजराज लुईटेल, एनेस्थेसियोलोजिस्ट डा अर्चन अधिकारी, डा सागर दाहाल लगायतको संलग्नता थियो।
नोबेल अस्पतालले गएको साउन ३ गते मिर्गौला प्रत्यारोपणका लागि सरकारबाट अनुमति प्राप्त गरेको थियो। अनुमति पाएपछि नोबेल अस्पतालले भदौ २६ गते पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको थियो।