काठमाडौं- वरिष्ठ न्यूरो सर्जन प्राडा गोपाल रमण शर्माले नेपाल न्यूरो सर्जन समाजलाई १४ लाख रुपैयाँ सहयोग गरेका छन्। न्यूरो सर्जरीको क्षेत्रमा योगदान गर्नेलाई सम्मान गर्न र युवा सर्जनलाई प्रोत्साहन गर्न डा शर्माले समाजलाई उक्त रकम सहयोग गरेका हुन्।
प्राडा शर्माले १४ लाख रुपैयाँको चेक समाजका अध्यक्ष डा कृष्ण शर्मालाई हस्तान्तरण गरेका छन्। समाजद्वारा जारी विज्ञप्ति अनुसार डा शर्माले प्रदान गरेको रकमबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना न्यूरो सर्जनलाई ‘योङ्ग न्यूरो सर्जन अवार्ड’ बाट सम्मान गरिने छ। अवार्डसहित सम्मान पाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।
'डा शर्माले प्रदान गरेको १४ लाख रकमलाई समाजको खातामा दाखिला गरिने छ र त्यसबाट वर्षेनी प्राप्त हुने ब्याजबाट वर्षमा एक जना न्यूरो सर्जनलाई योङ्ग न्यूरो सर्जन अवार्डबाट सम्मान गरिने छ,' समाजका महासचिव बडा राजिव झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सो पुरस्कारको रकम ५० हजार हुनेछ र साथै सम्मान पत्र पनि प्रदान गरिने छ।'
यसैगरी, उक्त रकमबाट न्यूरो भास्कुलर विधामा विशेष योगदान पुर्याउन चिकित्सकलाई ‘गोपाल रमण शर्मा न्यूरो भास्कुलर ओरेसन’ अवार्डबाट पनि सम्मान गरिने विज्ञप्तिमा उल्लेख छ। यो अवार्ड भने हरेक दुई वर्षमा हुने छ।
न्यूरो भास्कुलर अवार्डमा सुन र चाँदी मिसिएको मेडल र सम्मान पत्र प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।