लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो। सङ्घीय सरकारको रु ७५ लाख बजेटबाट जडान गरिएको उक्त प्लान्टले दैनिक २५ भन्दाबढी सिलिण्डर उत्पादन गर्नसक्ने क्षमता रहेको छ।
जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ। अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताए। “अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने छैन”, मुख्यमन्त्री केसीले भने।
जिल्लाको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपलब्ध गराएका दरबन्दीलाई निरन्तरता दिइने मुख्यमन्त्री केसीको भनाइ छ। स्वास्थ्य सेवामा पछाडि परेको रोल्पामा अन्य सेवा पनि निरन्तर थप गर्न पहल गर्ने उनले बताए। रासस