काठमाडौं- सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई कामकाज गर्न रोक लगाएपछि प्रतिष्ठानका कर्मचारीले विरोध गरेका छन्। प्रतिष्ठानका ८० भन्दा बढी कर्मचारीले बुधबार हस्ताक्षर गर्दै विरोध गरेका हुन्। सरकारको निर्णयको विरोध गर्ने कर्मचारीको संख्या भोलिसम्म एक सयभन्दा बढी पुग्ने बताइएको छ।
कर्मचारीले प्रतिष्ठानलाई अगाडि बढ्न नदिनका लागि सुनियोजिन षड्यन्त्रका रुपमा उक्त कदम चालिएको भन्दै ८८ जना कर्मचारीको हस्ताक्षरसहितको विज्ञप्ति नै निकालेका छन्। उनीहरुले सरकारको उक्त कदमलाई गैर जिम्मेवारीपूर्ण हस्तक्षेप भन्दै भत्सर्ना गरेका छन्।
उनीहरुले प्रतिष्ठानमाथिको हस्तक्षेप बन्द नगरे संघर्षका कार्यक्रम सहित अगाडि बढ्ने चेतावनी पनि दिएका छन्।
'उपकुलपति, रजिष्ट्रार लगायत अन्य पदाधिकारीहरुलाई अर्को निर्णय नभए सम्मका लागि नियुक्त भएको पदको हैसियतले कामकाज नगर्न नगराउनु हुन भनि निर्देशन आएको र हाल एमबिबिएस, बिएनएस, बिफार्म लगायत अन्य शैक्षिक कार्यक्रमहरु संचालन हुने अन्तिम चरणमा आईपुग्दा राजनीतिक दाउपेज र राज्यबाट भइरहेको हस्तक्षेपका कारणले प्रतिष्ठानलाई अगाडि बढ्न नदिनका लागि गरिएको सुनियोजित षड्यन्त्रका रुपमा हामीले लिएका छौं,' विज्ञप्तिमा भनिएको छ, 'यस किसिमका गैर जिम्मेवारीपूर्ण हस्तक्षेप तत्काल बन्द गरि प्रतिष्ठानलाई सहि दिशामा अगाडि बढाउन र प्रतिष्ठानलाई थप उचाईमा पुयाउन हुन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं। उपरोक्त माग उपर समयमानै सम्बोधन नभएमा प्रतिष्ठान परिवार संघर्षका कार्यक्रम सहित अगाडी आउन वाध्य हुनेछौं।'
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका थिए। उक्त निर्णय अनुसारको पत्र प्रतिष्ठानमा पुगिसकेको छ। सोही पत्रपछि प्रतिष्ठानका कर्मचारीले आज विज्ञप्ति निकालेका हुन्।
विज्ञप्तिको पूर्णपाठ
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले मिति २०७४ साल कार्तिक २३ गते मन्त्री स्तरीय निर्णय बमोजिम यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति, रजिष्ट्रार लगायत अन्य पदाधिकारीहरुलाई अर्को निर्णय नभए सम्मका लागि नियुक्त भएको पदको हैसियतले कामकाज नगर्न नगराउनु हुन भनि निर्देशन आएको र हाल MBBS, BNS, B.Pharm लगायत अन्य शैक्षिक कार्यक्रमहरु संचालन हुने अन्तिम चरणमा आई पुग्दा राजनितिक दाउपेज र राज्यबाट भईरहेको हस्तक्षेपका कारणले प्रतिष्ठानलाई अगाडी बढ्न नदिनका लागि गरिएको सुनियोजित षड्यन्त्रका रुपमा हामीले लिएका छौं।
MBBS, BNS, B.Pharm लगायतका कार्यक्रमहरु शुरु हने दिन आउनु अगाडी प्रतिष्ठानलाई पदाधिकारी विहिन बनाई दैनिक कामकाज समेत ठप हुने अवस्था गृजना गरि अस्थिरता निम्त्याउन खोज्नुले दुर्गममा चिकित्शा शिक्षा शुरु गराउन थप चुनौति सृजना भएको छ। हुर्कदै र बढ्दै गएको यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सहयोग गर्नुपर्नेमा विभिन्न व्यक्तिहरुको स्वार्थका लागि राजनितिक दाउपेचमा पार्नु खेदजनक छ। प्रतिष्ठान नेपालको अति दुर्गम स्थानमा स्थापना भई गुणस्तरिय स्वास्थय सेवा, स्वास्थ्य शिक्षा र सम्बन्धित क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान संचालन गर्दै आईरहेको र आत्म निर्भर तर्फ उन्मुख भई रहेको समयमा यस्ता प्रकारका राजनितिक चलखेलको शिकारले प्रतिष्ठानका महत्वाकांक्षी बहु वर्षिय आयोजनाहरुका साथै दैनिक कामकाजहरु समेत प्रभावित हुने भएको हुँदा हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु चिन्तित छौं।
प्रतिष्ठानका पदाधिकारीहरुको कामकाजमा रोक लगाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण हुनुका साथै प्रतिष्ठान विरुद्ध विभिन्न संचार माध्यमबाट समाचार लेखेकै भरमा स्वाथ्य मन्त्रालयले गरेको निर्णयको कारणले प्रतिष्ठानको भविष्य माथि नै खेलबाड भएको हुँदा हामी सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु उक्त कार्य प्रति घोर भत्सना गर्दछौ। यस किसिमका गैर जिम्मेवारीपूर्ण हस्तक्षेप तत्काल बन्द गरि प्रतिष्ठानलाई सहि दिशामा अगाडी बढाउन र प्रतिष्ठानलाई थप उचाईमा पुयाउन हुन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ। उपरोक्त माग उपर समयमानै सम्बोधन नभएमा प्रतिष्ठान परिवार संघर्षका कार्यक्रम सहित अगाडी आउन वाध्य हुनेछौ।
सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
मिति २०७८ कार्तिक २४ गते