काठमाडौं- मेडिकल व्यवसायी दाबी गर्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। महानगरिय अपराध महाशाखाबाट खटिएका प्रहरीको टोलीले भारत चेन्नाई घर भई हाल बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई पक्राउ गरेको हो।
प्रहरीले उनलाई बालुवाटारबाट मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका चेटियालाई महाशाखाले आज बिहीबार आवश्यक कारबाही र थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर टेकुमा पठाएको छ।
अपराध महाशाखाका सूचना अधिकृत कृष्णप्रसाद कोइरालाका अनुसार ती व्यक्तिले मेडिकल व्यवासय गर्ने गरेको, नेपालस्थित मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौता गर्नका लागि सम्झौताको मस्यौदा समेत तयार भई रहेको भनि झुटा कागजात र कुराकानी तयार गरी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगि गरेको पाइएको छ।
'ती व्यक्तिले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी उनीहरुको स्वामित्वमा रहेको जमिनको लालपूर्जा समेत आफ्नो नियन्त्रणमा लिई ठगि गरेको समेत फेला परेको छ' कोइरालाले भने, 'यति मात्र नभई ती व्यक्तिले नेपालका विभिन्न वैंक तथा वित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुटा कागजपत्र समेत देखाएर ठगि गरेको पाइएको छ।'
पक्राउ परेका चेटियारले आफूलाई इन्टरनसेसन कमिटी अफ द रेडक्रस (आइसिआरसी)को डाइरेक्टर हुँ भनि नक्कली परिचय पत्र देखाई सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने गरेका थिए।
उनले विभिन्न व्यक्तिसँग ५० लाख रुपैयाँ ठगि गरेको अनुसन्धानका क्रममा फेला परेको प्रहरीले जनाएको छ।
चेटियार २०७२ सालमा समेत पक्राउ परेर २ वर्ष जेल परेका थिए। २ वर्ष कैद र ३५ हजार जरिवाना तिरेर रिहा भएका उनी त्यसबेला पनि ठगि मुद्दामा पक्राउ परेका थिए।