काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा छानबिन गर्न गठित समितिले कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ।
छानबिन समितिका संयोजक एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले प्रधानमन्त्री देउवालाई शुक्रबार प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार प्रतिवेदनमा प्रतिष्ठानका पदाधिकारीले नियमविपरित काम गरेको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाउन सुझाव दिइएको छ।
प्रतिवेदनका विषयमा अध्ययन गरेर छिट्टै सिनेट बैठक बोलाउने तयारी भएको छ।
स्वास्थ्यमन्त्री खतिवडाका अनुसार अब बस्ने सिनेट बैठकले उक्त प्रतिवेदनले दिएका विषयमा छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने छ।
'हामीले स्थलगत अध्ययन र विगतका प्रतिवेदनको समेत अध्ययन गरेर प्रतिवेदन बुझाएका छौं' मन्त्री खतिवडाले भने, 'अब सिनेट बैठकले यो विषयमा आवश्यक निर्णय गर्ने छ।' उनले अबको ७ दिनभत्रि सिनेट बैठक बस्ने सम्भावना रहेको जानकारी दिए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले अनियमितता गरेको र प्रतिष्ठानमा देखिएका समस्याहरु समाधानका लागि भन्दै प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी तथा सरोकालवालाहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए।
आन्दोलनमा उत्रिएका उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुको बर्खास्तीको माग गर्दै आएका छन्।
यसअघि सरकारका विभिन्न निकायहरुले गरेको छानबिनले प्रतिष्ठानमा समस्याहरु रहेको र पदाधिकारीहरुको कमीकमजोरी रहेको औंल्याएको थियो।
स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानका पदाधिकारीहरुलाई यसअघि नै मार्ग प्रशस्त गर्न सुझाव दिएको थियो। तर, स्वास्थ्य मन्त्रालयको सुझावलाई प्रतिष्ठानका पदाधिकारीले अटेर गर्दै आएका थिए।
गत कात्तिक १ गते स्वास्थ्य मन्त्री खतिवडा संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।
२१ दिनभित्र प्रतिबेदन बुझाउने समयसिमा पाएको उक्त समितिले शुक्रबार प्रतिवेदन बुझाएको हो।
प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री खतिवडाको संयोजकत्वमा बनेको समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तिलक राई सदस्य छन्।
प्रतिष्ठानका पदाधिकारीको बिरोध भएपछि रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले भने राजीनामा दिइसकेका छन्।