पर्वत - पर्वतका झण्डै दुई हजार १८८ कोभिड–१९ प्रभावित परिवारले सरकारले प्रदान गर्ने राहत पाउने भएका छन्। जिल्लाका सात वटा स्थानीय तहका दुई हजार १८८ कोरोना प्रभावित परिवारले सरकारबाट राहत रकम पाउने भएका हुन् । कोभिड–१९ का कारण रोजगारी तथा आम्दानीका स्रोत गुमाएका परिवारलाई रु १० हजार नगद दिने सरकारको निर्णय अनुसार पर्वतका दुई हजार १८८ परिवारले राहत पाउने भएका हुन्।
जिल्लाका स्थानीय तहहरुबाट वितरण हुने उक्त सहयोगका लागि आवेदन दिन सूचना समेत प्रकाशन भएको छ। पर्वत जिल्लाको जलजला गाउँपालिकाका ४४६, मोदीका ३११, कुश्मा नगरपालिकाका ५२८, फलेवास नगरपालिका ३८६, महाशिला गाउँपालिकाका १४४, बिहादीका १७९ र पैंयुँ गाउँपालिकाका १९४ परिवारले राहातस्वरुप उक्त रकम पाउने भएका हुन्।
गत सोमबारको मन्त्रिपरिषद्को निर्णय अनुसार एक महिनाभित्र पीडितको खातामा उक्त रकम जाने गरी व्यवस्था भएको छ। अनुदान प्राप्त गर्न मापदण्डभित्र पर्ने परिवारका कुनै एक सदस्यले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफू स्थायी वा अस्थायी रूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा कार्यविधिको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ।
जिल्लाका सात वटै स्थानीय तहले सहयोग पाउन योग्य हुनेको सूचीसहित सूचना प्रकाशन गरिसकेकोे बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए। कार्यविधि अनुसार विगतमा गर्दै आएको रोजगारी पूर्ण रूपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोगार भएका असङ्गठित क्षेत्रका मजदुर वा कामदारले उक्त नगद सहयोग पाउनेछन्। खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोकोमा सामान बेच्ने अतिविपन्न व्यवसायीले पनि पाउनेछन्।
नगद सयोग पाउनेमा दैनिक ज्यालादार भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया पनि पर्नेछन्। कोभिड सङ्क्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नुपरेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालिगको स्याहार गर्ने परिवारले पनि उक्त रकम प्राप्त गर्न सक्नेछन्। रासस