काठमाडौं - कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि सरकारले आज साढे दुई लाख खोप नेपाल ल्याउँदैछ।
कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई कोलेर खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ लाख ५२ हजार ३६३ डोज खोप आज दिउँसो तीन बजे आउन लागेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट नेपाल ल्याउन लागिएको हो।
आगामी आइतबार खोप लगाउने तयारीका साथ काम भइरहेको उनले बताए। कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिने डा पौडेलले बताए।
कपिलवस्तुमा हालसम्म १ हजार ३६४ जनामा झाडापखाला सम्बन्धी समस्या देखिएको छ। जसमध्ये १ हजार ३६२ जना निको भएका छन् भने २ जना उपचाररत छन्। हाल त्यहाँ झाडापखाला नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।