काठमाडौं– चिकित्सा शिक्षा आयोगले आइतबार चिकित्सा शिक्षाका स्नातक तथा सो भन्दा माथिका तहहरुका लागि निर्धारण गरिएको शुल्क पुनः सार्वजनिक गर्यो। आयोगले गत बैशाख २९ र असार २ गतेको सूचनामै सार्वजनिक भइसकेको शुल्कको सूची पुन सार्वजनिक गरेको जानकारी समेत दियो।
तर गत बैशाखमा प्रकाशित सूचना र आइतबार प्रकाशित सूचनामा बिएस्सी नर्सिङको शुल्क फरक देखियो।
आयोगले नै गत बैशाखमा प्रकाशित गरेको सूचनामा बिएस्सी नर्सिङको शुल्क ७ लाख ५० हजार उल्लेख छ तर, आइतबार प्रकाशित सूचनामा भने १० लाख उल्लेख गरिएको छ।
पुनः प्रकाशित सूचनामा शुल्क बढेको देखिएपछि शुल्क पुनः बढाइएको भन्दै टिकाटिप्पणी सुरु भएको छ।
तर आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले भने गत माघ महिनामै निर्धारण गरिएको शुल्क उल्लेख गरिएको जानकारी दिए। उनले आयोगले गत बैशाखमा सूचना प्रिन्ट गर्ने क्रममा गल्ती हुँदा शुल्कमा फरक हुन आएको जानकारी दिए।
यसअघि बैशाखमा प्रकाशित सूचनामा प्रिन्ट मिस्टेक भएर पुरानै शुल्क उल्लेख भएकाले जेठ २८ गते गल्ती सच्याउने निर्णय गर्दै १० लाख शुल्क उल्लेख गरिएको डा गिरीको भनाइ छ।
‘आयोगले अहिले शुल्क बढाएको होइन, शुल्क समायोजन र निर्धारण गत माघमै भएको थियो,’ उनले भने, ‘बैशाखको सूचनामा प्रिन्ट मिस्टेक भएको थियो, त्यसैले जेठमा त्यो मिस्टेकलाई सच्याउने निर्णय गरिएको थियो। अहिलेको सूचनामा माघमै निर्धारण गरिएकै शुल्क राखिएको हो।’

