काठमाडौं- चाबहिलस्थित ओम हेल्थ क्याम्पस आर्थिक संकटमा परेको छ। कोभिडका कारण विद्यार्थी भर्ना नभएको र खर्च मात्र हुँदा घाटामा गएको भन्दै क्याम्पसले शैक्षिक कार्यक्रमदेखि सम्पूर्ण जग्गा तथा भवन नै बिक्रीको प्रक्रिया अगाडि बढाएको छ।
क्याम्पसले सार्वजनिक सूचना निकाल्दै बिक्रीको बारेमा जानकारी दिएको हो। चाबहिल गोपिकृष्ण हल नजिकै ६ रोपनी ५ आना क्षेत्रफल जग्गा र उक्त जग्गामा ४० हजार ५० वर्ग फिटको साढे सात तले भवनमा रहेको कलेजले सम्पूर्ण जग्गा तथा भवनसहित कलेज बिक्री गर्न लागेको हो।
कलेज प्रकासनका अनुसार कलेज आर्थिक संकटमा परेका कारण बिक्री गर्नुपर्ने अवस्था आएको हो। कलेजले शैक्षिक कार्यक्रमसहित वा शैक्षिक कार्यक्रमबाहेक भवन र जग्गा मात्र किन्न चाहनेलाई समेत बिक्री गर्ने जनाएको छ।
कलेज २०५५ सालमा स्थापना भएको हो। तत्कालिन समयमा झण्डै ९ करोडको लागतमा सञ्चालनमा आएको हो। कलेजमा पिसिएलदेखि ब्याचरल तहका नर्सिङ र पब्लिक हेल्थ कार्यक्रम सञ्चालनमा छ।