काठमाडौं - पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई दैनिक कामकाजमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ।
पाटन उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश दिएका हुन्।
आदेशमा भनिएको छ, ‘मिति २०७८/४/२५ मा मिति २०७७/१०/२० मा अन्तरिम आदेश गरी भएको निवेदन फिर्ता भई अन्तरिक आदेश समेत सोही मितिमा निस्क्रिय भएको देखिदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७८/७/२३ मा भएको निर्णय सुविधा र सन्तुलनको सिद्दान्तको आधारमा निवेदनको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नू नगराउनू यथास्थिति राखी कार्य सुचारु गर्न दिनु भनी विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिक आदेश जारी गरिएको छ।’
स्वास्थ्य मन्त्री विरोध खतिवडाले प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाएको थियो। मन्त्री खतिवडाले गत मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका थिए।
उपकुलपति डा रावलको कामकाज रोकेपछि मन्त्री खतिवडाले डा निरेश थापालाई अधिकारसहित कामकाज गर्ने गरी उपकुलपतिको जिम्मेवारी दिएका थिए। डा रावल गत चैत २२ गते उपकुलपति र असार ११ गते महत रजिष्ट्रारमा नियुक्त भएका थिए।