काठमाडौं- चिकित्सा शिक्षाको शिक्षण शुल्कका विषयमा हरेक वर्ष विवाद हुँदै आइरहेको छ। सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क कलेजहरुले लिने र सरकारले कारबाही गर्न नसक्दा विवाद अझै समाधान हुन सकेको छैन।
शिक्षण शुल्कभित्र के के शुल्क पर्छ भन्ने विषय पनि अझै समाधान हुन सकेको छैन। शुल्कका विषयमा पटक पटक उठिरहेको विषयलाई ध्यानमा राख्दै चिकित्सा शिक्षा आयोगले शिक्षण शुल्क भित्र के के पर्छन् भनेर प्रष्ट पारेको छ।
आयोगका अनुसार शिक्षण शुल्क भित्र निम्न शुल्क पर्छन्:
अध्ययन अवधिभर लिने भर्ना, शिक्षण शुल्क
ल्याब शुल्क
पुस्तकालय शुल्क
सामुदायिक तालिम वा परीक्षा शुल्क
आयोगले चिकित्सा शिक्षा ऐनको दफा २ को खण्ड (थ) बमोजिम शिक्षण संस्थाले लिने शुल्कका विषयमा प्रष्ट पार्दै सार्वजनिक सूचना निकालेको आयोगका उपसचिव सेमन्तराज कोइरालले जानकारी दिए।
कोइरालाले सार्वजनिक गरेको सूचनामा तोकिए बाहेकको शिक्षण शुल्कको परिभाषाले निर्देश गरेको क्षेत्रमा विद्यार्थीसँग थप शुल्क नलिन ध्यानाकर्षण गरिएको छ। उक्त शुल्क कार्यान्वयन गर्ने गराउने दायित्व विश्वविद्यालय तथा प्रतिष्ठान भएकाले यस विषयमा कुनै गुनासा तथा उजुरी भए कारबाही प्रक्रिया अघि बढाउन आयोगले भनेको छ।