काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी हुने एक कार्यक्रमकै लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा घोषणा गरेको छ। नगरपालिकाले मङ्गलबार सूचना जारी गर्दै भोलि (मंसिर १ गते) सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
नगरपालिकाका अनुसार वडा नम्बर ५ स्थित रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हुने कार्यक्रममा अध्यक्ष दाहाल प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ।
उक्त कार्यक्रममा दाहालले वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ का आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने नगरपालिकाले जानकारी दिएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहाल सहभागी हुने सोही कार्यक्रमका लागि एक दिन सार्वजनिक बिदा हुने नगरपालिकाको सूचनामा उल्लेख छ।