काठमाडौं– नेपालमा अझै पनि ४० हजार क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको पाइएको छ। सामाजिक लाञ्छना र भेदभावको डरका कारण अझै पनि ४० हजार क्षयरोगीहरु लुकेर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।
लुकेर रहेका रोगीहरुलाई पत्ता लगाउन सके मात्र उपचारको पहुँचमा ल्याउन सकिने केन्द्रका निर्देशक डा प्रकाश प्रसाद शाहले बताए। उनका अनुसार नेपालमा ६० देखि ६८ हजार क्षयरोगी रहेको अनुमान छ। जसमध्ये २८ हजार रोगीहरु मात्र उपचारको पहुँचमा रहेको उनले बताए।
उनले भने, ‘नेपालमा ६० देखि ६८ हजार क्षयरोगीहरु छन्। जसमध्ये हामीले २८ हजार मात्र पत्ता लगाउन सकेका छौँ। बाँकी ४० हजार अझै पनि समुदायमा लुकेर रहेको अवस्था छ। उनीहरुलाई पत्ता लगाउन सके मात्र उपचारको पहुँचमा ल्याउन सकिन्छ।’
लुकेर रहेका क्षयरोगीहरुलाई उपचारको पहुँचमा ल्याउन स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण हुने निर्देशक शाहको भनाई छ। स्थानीय तहको भूमिका बिना क्षयरोगको अन्त्य गर्न नसकिने उनले बताए।
‘लुकेर रहेका क्षयरोगीहरुलाई उपचारको पहुँचमा ल्याउन आवश्यक छ। यसका लागि स्थानीय तहको बलियो भूमिका हुन्छ। उनीहरुको भूमिका बिना क्षयरोगको अन्त्य गर्न सकिदैन। यसका लागि दरबन्दी सिर्जना गर्न आवश्यक पनि छ’, उनले भने।