काठमाडौं - सरकारले नै कुष्ठरोगीहरु माथि विभेद गरेको सरोकारवालाहरुले गुनासो गरेका छन्। रोग लागेकै आधारमा विभेद गर्न नहुने भन्दै उनीहरुले कानून संशोधनको माग गरेका छन्।
दामियन फाउण्डेसनको स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आइडिया नेपाल नामक संस्थाका प्रतिनिधि अमर तिमिल्सिनाले उक्त कानून संशोधनको माग गरेका हुन्।
मुलुकी देवानी संहित ऐनको पारिवारिक कानून परिच्छेद–१ विवाह सम्बन्धी व्यवस्था अन्तर्गत कसैले पनि देहायका कुनै अवस्थाको पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन भन्नेमा कुष्ठ रोगी भएको पनि उल्लेख छ। कानूनले नै कुष्ठरोगीहरु माथि विभेद गरेको उनको गुनासो छ।
उनले भने, ‘हाम्रो विभेदकारी कानून छ। रोग लागेकै आधारमा कोही माथि विभेद गरिनु हुँदैन। त्यो कानून संशोधनको आवश्यक छ।’
दामियन फाउण्डेसनका मेडिकल एड्भाइजर डा प्रमोदराज भट्टराईले पनि उक्त कानून विभेदकारी भएको भन्दै संशोधनको माग गरेका छन्। कानून संशोधन नभएसम्म कुष्ठरोगी माथि हुने विभेद अन्त्य हुन नसकिने उनको भनाई छ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले कुष्ठरोग र क्षयरोगका कार्यक्रम पहुँच बाहिर रहेका जिल्लामा पुर्याउन आग्रह गरेकी छिन्। सरकारी तवरबाट मात्र संभव नभई गैरसरकारी संस्थासँगको सहकार्य पनि आवश्यक रहेको उनले बताइन्।
कार्यक्रममा दामियन फाउण्डेसनका देशीय प्रतिनिधि डा सुशिल कोइरालाले क्षयरोग र कुष्ठरोग नियन्त्रणका लागि सधै सहकार्य गर्न तयार रहेको बताएका छन्। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उनले बताए।
१९६४ सालमा स्थापित डामियन फाउण्डेसनले हाल विश्वका विभिन्न १४ वटा देशहरुमा काम गरिरहेको छ। नेपालका कपिलवस्तु, रुपन्देही, कैलाली, डडेल्धुरा लगायत नौ वटा जिल्लामा कुष्ठरोग तथा क्षयरोग सम्बन्धी काम गर्दै आएको फाउण्डेसनले जनाएको छ।