काठमाडौं- नेपाल मेडिकल काउन्सिलमाथि चिकित्सकहरुले आफ्ना नम्बर बिना जानकारी उम्मेदवारहरुलाई उपलब्ध गराएको आरोप लगाएका छन्। चिकित्सकहरुले काउन्सिलका लागि उपलब्ध गराएको नम्बर उम्मेदवारहरुकोमा पुगेको भन्दै काउन्सिलमाथि प्रश्न गरेका छन्।
काउन्सिललाई आवश्यक पर्छ भनेर उपलब्ध गराइएको नम्बरमा उम्मेदवारहरुले भोट माग्न थालेपछि काउन्सिलबाट नै नम्बर लगायतका विवरण उम्मेदवारहरुलाई उपलब्ध गराएको भन्दै चिकित्सकहरुले सामाजिक सञ्जालमा विरोध गर्न थालेका छन्।
काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि ३५ जना चिकित्सक चुनावी मैदानमा छन्। चुनावी दौडमा हाल काउन्सिलमा रहेका सदस्यहरु पनि छन्।
केही चिकित्सकहरुले काउन्सिलका हालका सदस्यहरुले नै नम्बर लगायतका विवरण चोरी गरेको आरोप समेत लगाएका छन्।
काउन्सिलको निर्वाचन उपत्यका बाहिर भोलि र पर्सी छ भने उपत्यकामा १० र ११ गते हुँदैछ।

