काठमाडौं- योगगुरु रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन्। पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन्।
शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ।
रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्ने कार्यक्रम छ। सोही बखत उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्नेछन्। रामदेवले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको बताएका छन्।
नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको भन्दै उनले नेपालमा ७० हजार योगगुरु रहेका पनि बताए।