काठमाडौं- सवारी दुर्घटनामा परेर एक चिकित्सकको मृत्यु भएको छ। विराटनगरमा बिहीबार राती भएको दुर्घटनामा २७ वर्षीय डा निखिल पन्जियारको मृत्यु भएको हो।
मोरङ जिल्ला प्रहरीका एसपी जनार्दन जिसीका अनुसार बिहीबार राती साढे ११ बजे भएको दुर्घटनामा डा पन्जियार गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै कोशी अस्पताल लगिएको थियो। तर उनको केही समयमा नै मृत्यु भएको हो।
डा पन्जियारले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिएर भागेको थियो। प्रहरीका अनुसार ट्रकका चालक अझै फरार छन्।
डा पन्जियर विराट मेडिकल कलेजमा कार्यरत थिए। उनले सोही कलेजबाट एमबिबिएस गरेका हुन्। उनको घर जनकपुर हो।
दुर्घटनामा डा पन्जियारको मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।