काठमाडौं - दुर्घटनामा परी निधन भएका डा दीपक खरेलको परिवारलाई भर्जिनियाका केही चिकित्सकले आर्थिक सहयोग गर्ने भएका छन्।
भर्जिनियामा रहेकी चिकित्सक डा एन्जिला थापाले खरेलको उपचारमा सहयोग गर्ने भन्दै गोफन्डमीमा खाता खोलेकी थिइन्। खरेलको उपचार खर्च जुटाउन १० हजार डलर लक्ष्य राखिएकोमा नोभेम्बर १८ सम्म २ हजार ६३६ डलर रकम संकलन भएको उनले जानकारी दिइन्। एन्जिला थापासँगै, कृष्ण बर्तौला र चन्द्र लामाले पनि रकम संकलन कार्यमा सहयोग गरेका हुन्।
डा खरेलको निधनपछि संकलन गरिएको उक्त रकम उनका आमा बुवालाई दिइने थापाले बताइन्। डा थापा र स्वर्गीय खरेलले एउटै कलेजबाट एमबीबीएस गरेका थिए।
स्वर्गीय खरेलको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण रकम संकलन गरिएको एन्जिला थापाले बताइन्।
उनले भनिन्, ‘स्वर्गीय खरेलको परिवारको आर्थिक स्थिति निकै कमजोर छ। चिकित्सक बन्न एउटा निजी कलेजमा पढ्न ४०÷५० लाख खर्च तिरेर पढेको छोरोको निधनले अर्को आर्थिक समस्या निम्त्याएको छ।’
कार्तिक २१ गते सडक दुर्घटनामा परी घाइते भएका डा खरेलको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार निधन भएको थियो। २७ वर्षीय खरेल कपिलवस्तुमा रहेको सामुदायिक अस्पतालमा चिकित्सक अधिकृतको रुपमा कार्यरत थिए।
डा खरेलको परिवारलाई सहयोग गर्न गोफन्डमीको यो लिंकमा क्लिक गर्न सकिनेछ : [यहाँ क्लिक गर्नुहोस्]