काठमाडौं - नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा उपत्यकाबाहिरका मतदान केन्द्रबाट पाँच हजार मत खसेको छ। उपत्यकाबाहिरका १८ मतदान केन्द्रमा शुक्रबार र शनिबार मतदान भएको थियो। काठमाडौं उपत्यका र धुलिखेलमा भने १० र ११ गते मतदान हुँदैछ।
प्रमुख निर्वाचन अधिकृत डा गणेश राईका अनुसार शुक्र र शनिबार भएको मतदानमा १८ वटा मतदान केन्द्रमा उपत्यकाबाहिर पाँच हजार मत खसेको जानकारी दिए। उनका अनुसार अघिल्लो निर्वाचनमा उपत्यकाबाहिर ३ हजार पाँच सय मत खसेको थियो। यो पटक एक हजार पाँच सय मत बढी खसेको हो।
डा राईका अनुसार १८ वटै निर्वाचन केन्द्रमध्ये सबैभन्दा कम जुम्लामा ५८ मत खसेको छ भने सबैभन्दा बढी चितवनमा ७४९ मत खसेको छ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा छन्। उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्ष पदका लागि डा शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्।
निर्वाचनको समयमा काउन्सिलको विववरण दुरुपयोग भएको आरोप २ जना उम्मेदवारलाई लागेको छ। डा कालुसिंह खत्री र डा तोसिमा कार्कीलाई चिकित्सकहरुको विवरण दुरुपयोग गरेको आरोप लागेपछि काउन्सिलले यस विषयमा आज आकस्मिक छलफल गर्ने भएको छ।
डा खत्री र डा कार्कीले भने विवरण दुरुपयोग नगरेको बताउँदै आएका छन्।
यी हुन् उम्मेदवारहरु