मकवानपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले संघीय तथा प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सकको दरबन्दी खुल्ला गरेर गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए। मकवानपुरस्थित समाजवादी प्रेस संगठनद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरोना संक्रमणबाट पीडित र अन्य नागरिकले पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउन सजक हुनुपर्ने धारणा व्यक्त गरे।
मन्त्री खतिवडाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोभिड विरुद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई उपलब्ध गराउन थालिसकेको र अहिले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिए। दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढंगबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकी स्थापना गरिने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी उपचार सेवालाई तीव्रता दिने लक्ष्यका साथ गृहकार्य भइरहेको पनि उनले जानकारी गराए।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको आजै निरीक्षण गर्दै मन्त्री खतिवडाले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो उपलब्ध गराउन आग्रह गरे। उनले एक अत्याधुनिक एम्बुलेन्स आजै सरकारका तर्फबाट हेटौँडा अस्पतालका रजिष्टार राजेशप्रसाद प्रसाईंलाई हस्तान्तरण गरे। रासस